साप्ताहिक संवाददाता
अरू बेला त्यति वास्ता नगर्ने राम्रा–राम्रा केटीहरूलाई रंग दल्न पाइन्छ, त्योभन्दा मज्जा अरू केमा होला र ?
डिजे गणेश
आपसी सदभावसँगै खुसीयाली मनाउनु अनि मीठो परिकार खानुमा ।
कमल खत्री, गायक
रंग र आपसी सद्भावमा ।
कमल क्षेत्री, गायक
सात स्वरको झैं सात रंगको साथको आफ्नै महत्त्व हुन्छ । जीवनलाई सात रंगका हरेक रंगझैं मिलाएर रंगीन बनाउन जान्नुपर्छ अनि त्यसमै हुन्छ मज्जा ।
राजु सिंह, संगीतकार
होली रंगहरूको पर्व भएकाले सबैभन्दा मज्जा आपसमा रंग खेल्नुमै हुन्छ । हाम्रोमा प्राय:जसो थिएटरले होली कार्यक्रमको आयोजना गर्छन् । सबै थिएटरमा पालैपालो पुगेर, अग्रज तथा सहकर्मीहरूसँग होली खेल्नुमै मलाई रमाइलो लाग्छ ।
राज शाह, रंगकर्मी
गालामा रंग लगाउनुमा ।
आनन्द कार्की, गायक
रंगहरूसँगको रमाइलो पर्वमा रंगसँग खेल्नमै मज्जा आउँछ ।
अर्पणा श्रेष्ठ, गायिका
सानोमा रंग र पानीमा भिज्न मज्जा लाग्थ्यो । अहिले अरू मानिस रंग र पानीमा भिजेको हेर्न मज्जा लाग्छ ।
जया ओझा, चलचित्र लेखिका
लुकेर अरूलाई भिजाउनु वा रंग हालेर भाग्नुमा त पक्कै मज्जा हुन्न । होलीको मज्जा त भिजाउनु र भिज्नुमा छ, रंगाउनु र रंगिनुमा छ । होलीको मज्जा तब हुन्छ, जब कसैलाई दिइन्न सास्ती, होलीको मज्जा तब हुन्छ, जब मनाइन्छ यसलाई दिल खोली ।
विवेकसिंह ठकुरी, भिजे
होलीले हाम्रो जीवनमा सद्भावको रंग छर्छ र कटुता बिर्सेर एकताका लागि सकारात्मक सन्देश दिन्छ । त्यसमै छ होलीको मज्जा ।
सुनिल थापा, अभिनेता
होलीको सबैभन्दा मज्जा रंगमा छ । यो यस्तो पर्व हो जसले शत्रुलाई पनि मित्र बनाउँछ । विशेष गरी मलाई चाहिँ होलीमा गुजिया र मालपुवा खान मज्जा लाग्छ ।
विशारद बस्नेत, रंगकर्मी
होलीमा सबैको वास्तविक रंगरूप रंगको आवरणले ढाक्छ । सबै एकसमान देखिन्छन् । यसमा विशेष मज्जा छ ।
भिन्तुना जोशी, अभिनेत्री
भाङको सर्बत पिएर, दु:ख र पीडा बिर्सेर, छिनछिनमा हाँस्नु र रुनुमा सबैभन्दा बढी मज्जा छ । होलीको अर्को मज्जा भनेको होली खेल्दा कोही ठूलो वा सानो, धनी वा गरिब हुँदैन— सबै बराबर ।
नरेन्द्र कंशाकार, अभिनेता
आफन्तहरूसँग अन्तरंग (अन्तर–रंग) गर्ने मौका ।
दिलभूषण पाठक, टेलिभिजनकर्मी
रंग लगाएर साथीभाइ तथा आफन्तहरूसँग रमाइलो गर्नुमा ।
रोशन प्रसाईं, विज्ञापन व्यवसायी
होलीको सबैभन्दा मज्जा नै रंगमा छ, किनभने रंगले हाम्रो त्यो दिन राम्रो र सकारात्मक बनाउँछ र आफन्तजन तथा साथीभाइहरूसँग सामीप्यता बढाउँछ ।
आमेश भण्डारी, नायक
रंग उमंगको प्रतीक हो । तसर्थ परिवार तथा मित्रहरूबीच रंगमार्फत उमंग साटन पाउनु मै सबैभन्दा मज्जा हुन्छ ।
तेञ्जिङ शेर्पा, इभेन्ट म्यानेजर
बिनामेकअप सबैलाई कलरफुल देख्न पाइन्छ । राम्रा वा नराम्रा सबै मानिस उस्तै देखिन्छन् ।
सुशन खड्का, अभिनेत्री
होलीको दिन सबै दु:ख बिर्संदै दिनभर साथीभाइ तथा आफन्तसँग रंग र पानी खेल्दै रमाइलो गरिन्छ, त्यसमै हुन्छ मज्जा ।
पल्पसा डंगोल, ‘चम्सुरी’
रंगहरूसंग रमाउनुमै छ मज्जा ।
योजना पुरी, गायिका
जीवन ‘कलरफुल’ हुनुपर्छ । एउटा चित्रकारको नाताले हेर्दा पनि रंगहीन जीवन नैराश्य र निष्प्राण लाग्छ । रंग मिसिएको छ भने जीवन ‘कलरफुल’ हुन्छ । ‘कलरफुल’ जीवन बाँच्नेहरूलाई नै रंगीन मिजासको मानिस भनिन्छ । होलीमा हामी बाहिरी रूपमा रंगिन्छौ, तर जीवनमा भित्री मनबाट पनि रंगिनुपर्छ, अनि हुन्छ मज्जा ।
समुन्द्रमानसिंह श्रेष्ठ, चित्रकलाकार
होली मेरा लागि खुसी साटासाट गर्ने चाड हो जसमा खुसी मात्र हुन्छ । होलीलाई भव्य एवं सभ्य रूपमा मनाउनुमै हुन्छ मज्जा ।
प्रेस्का उदास, भिजे
होलीको दिन लुकेर बस्नु मै मजा छ ।
रामकृष्ण ढकाल, गायक
होलीको दिन साथीभाइ तथा परिवारजन एकै ठाउँमा जमघट भएर, सबैको मनमा भएका तीता कुराहरू बिर्संदै खुसीमा रमाउन पाउनु नै सबैभन्दा मज्जाको कुरा हो ।
एकता थापा, मोडल
होलीको दिन विशेषत: रातो अबिरले एकअर्कामा माया साटासाट गर्नुको मज्जा बेग्लै हुन्छ ।
सञ्जना श्रेष्ठ, गायिका