साप्ताहिक संवाददाता
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडी र उनीहरुको प्रशिक्षकलाई वि विल राईज फाउण्डेसनले भब्य कार्यक्रमको आयोजना गर्दै नगद सहित सम्मान गरेको छ ।
फाउण्डेसनले फुटबलमा स्वर्ण पदक जित्ने २३ जना खेलाडी एवं प्रशिक्षक, उसु र जुडोका १/१ जना खेलाडी र प्रशिक्षकलाई नगद १५/१५ हजार रुपैंया र ट्रफि सहित सम्मानित गरेको थियो । सागमा स्वर्ण पदक जितेर देशलाई गौरवान्वित बनाएका खेलाडीहरुलाई सम्मान गर्न समाजका विभिन्न क्षेत्रका चर्चित र प्रतिष्ठित ब्यक्तिहरु सहभागि भएका थिए । उदय सोताङ र मनिला सोताङले हामी उठ्ने छौंको अफिसियल गीत गाएर कार्यक्रमको सुरुवात गरेपछि सम्मानित भएका खेलाडीहरुलाई थप मनोरञ्जन प्रदान गर्न गायक राजेश पायल राईले दुई चलचित्रको गीत गाएका थिए भने नायिका छुल्ठिम गुरुङ, गजित विष्ठ र बालप्रतिभा पुजा राना मगरले नृत्य प्रस्तुत गरेकी थिईन् । कार्यक्रमलाई अझ रमाईलो बनाउन जितु नेपाल र संदिप क्षेत्रीले स्ट्याडअप कमेडी गरेका थिए भने कुमार कट्टेल (जिग्रि) र अर्जुन घिमिरे (पाँडे)ले खेलकुदको प्रहसन गरेर खेलाडी र सम्मान गर्न आएका सेलिब्रेटीहरुलाई हसाँएका थिए ।
पुष्प बृष्टि गरेर खेलाडीहरुलाई स्वागत गरी आयोजना गरिएको उक्त कार्यक्रम होटल अन्नपूर्णमा २ घन्टासम्म चलेको थियो । खेलाडीहरुलाई सम्मान गर्न नेपाली चलचित्र, संगित लगायत युवा नेता, ब्यवशायि र सुरक्षा निकायका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।