साप्ताहिक संवाददाता
रेडियो प्रस्तोता, कोरियोग्राफर, मोडलिङ थुप्रै परिचय छ, कला सुब्बासँग । हङकङमा जन्मिएकी र काठमाडौंलाई कर्मथलो बनाएकी कलाको दैनिकी धपेडीमा बित्छ । बिहान अनामनगरस्थित घरबाट निस्किएपछि एफएममा कार्यक्रम चलाउने, ब्युटी पेजेन्टको कोरियोग्राफी गर्नेजस्ता कामले उनलाई बेफुर्सदिलो बनाउँछ । साँझ थकित ज्यान लिएर उनी घर फर्कन्छिन्, खानपान गरेर ओछ्यानमा पुग्दा ११ बजिसकेको हुन्छ ।
बिहान उनको आँखा अलि अबेर खुल्छ । कला ७ बजेपछि मात्र ओछ्यान छाड्छिन् । उठ्नासाथ मनतातो पानी पिउने बानी छ । फ्रेस भैसकेपछि हल्का योग र व्यायाम गर्छिन् । फेसबुक र ट्विटरबाट नयाँ खबरहरू अपडेट गर्छिन् । त्यसपछि मोबाइलमा एफएम ट्युन गरेर घरायसी काममा व्यस्त हुन्छिन् ।
घर सरसफाइ गर्ने, लुगा धुने, भाँडाबर्तन सफा गर्ने काममा उनलाई पटक्कै अल्छी लाग्दैन । भान्सामा छिरेर खाना पकाउन त माहिर नै छिन् । उनको हातले बनाएको खान्की निकै स्वादिलो हुन्छ । ‘तर, म भान्सामा काम गर्छु भन्दा कसैले पत्याउँदैनन्,’ कला भन्छिन्– ‘कुकिङ मेरो रुचिको विषय हो ।’
कला अचार बनाउन निकै सिपालु छिन् । कलाको हातबाट बनेको अचार खानेहरू त्यसको प्रशंसा नगरी बस्न सक्दैनन् । माछा–मासु तथा आलुदम पकाउने खास कला छ, उनीसँग । त्यसबाहेक भटमासबाट तयार हुने लिम्बू परिकार ‘किनेमा’ पनि मीठो बनाउँछिन् ।
आठ बजेपछि उनी हल्का ब्रेकफास्ट गर्छिन् । त्यसपछि घरधन्दाको कामले अल्झाउँछ । मध्याह्न १२ बजेपछि खाना खाने समय हुन्छ । यद्यपि सधैंभरि घरमा खाना खाने साइतचाहिँ जुर्दैन । बाहिर काम भएका बेला उनी बिहानै घरबाट हिँडिसकेकी हुन्छिन् ।
बिहान उनको घरमा सामान्य दाल, भात, तरकारी पाक्छ । कलाको जिब्रो चटक्क पिरो खानामा लोभिएको छ । सुकुटी, साँधेको गुन्द्रुक र डल्ले खुर्सानीले उनको मन अघाउँदैन । खाना खाइसकेपछि उनी काममा निस्कन्छिन् ।
घरबाट निस्कनुअघि उनलाई चिरिच्याट्ट हुनुपर्छ । अक्सर उनी टिपटप भएरै हिँड्न रुचाउँछिन् । घरबाहिर उनलाई लेगिङ्स, वानपिस तथा ज्याकेटमा सजिएको देखिन्छ । यस्तो पहिरनशैलीसँगै मेकअप पनि छुटाउँदिनन् । कला ड्रेसअप र मेकअपमा आधा घण्टाभन्दा बढी समय खर्चिन्छिन् । सुहाउँदो ड्रेसअप गरेपछि होन्डाको एक्टिभामा हुइँकिँदै कार्यथलोतर्फ लम्कन्छिन् ।
उनको धेरैजसो समय हिट्स एफएममा बित्छ । त्यहाँ उनले विभिन्न मनोरञ्जक कार्यक्रम सञ्चालन गर्नुपर्छ । बितेका १२ वर्षदेखि नियमित उनी यसरी नै रेडियो कार्यक्रममा प्रस्तुत भैरहेकी छिन् ।
रेडियोको कार्यक्रमपछि उनी भेटघाट एवं छलफलमा व्यस्त हुन्छिन् । कला रेडियोका लागि स्क्रिप्ट लेख्छिन् । विभिन्न इभेन्टका सहभागीलाई व्यक्तित्व, नेतृत्व विकासका साथै आत्मविश्वास जागृत गराउने खालको कक्षा सञ्चालन गर्न पुग्छिन् । यस्तो व्यस्तताबाट बचेको समय उनी मनोरञ्जनमा लगाउँछिन् । उनलाई चलचित्र हेर्न, सपिङ गर्न, घुमफिर गर्न असाध्यै रमाइलो लाग्छ । सपिङ गरेर उनी कहिल्यै थाक्दिनन् । सुब्बा भन्छिन्– ‘यो त मेरो लत नै हो ।’ सपिङका लागि उनको रोज्जा गन्तव्यचाहिँ न्युरोड र दरबारमार्ग हुन्छ । चलचित्र हेर्नु तथा संगीत सुन्नु उनको सौख हो । कलालाई रोमान्टिक, ड्रामा एवं बायोपिक चलचित्र मन पर्छन् । घुमघाममा औधी रमाउने कलाले आगामी वर्षचाहिँ घुमेरै बिताउने योजना बनाएकी छिन् ।
मध्याह्नको समयमा घरबाहिर भएको अवस्थामा उनी मम, पिज्जा खान रुचाउँछिन् । घरमा चाहिँ आलुदम, च्युरा मासु तथा चाउचाउ खान्छिन् । ‘मलाई जस्तो खानेकुरा पनि मन पर्छ,’ कला भन्छिन्– ‘यस्तै हुनुपर्छ भन्ने छैन ।’
दिनभरको काम सकेर घर फर्कदा साँझ सात बजिसकेको हुन्छ । घरमा पुगेपछि फ्रेस हुँदै एकैछिन टिभी हेर्छिन् । त्यसपछि रातको खाना तयार गर्नुपर्छ । रातिको खाना पनि सामान्यत: बिहानकै जस्तो हुन्छ । यद्यपि अहिले मोटोपन बढ्न थालेकाले बेलुकीको खाना केही नियन्त्रित हुन्छ । यसका निम्ति उनले रोटी र तरकारीमै चित्त बुझाउनुपर्छ । ‘मोटाउन थालेपछि खाना कन्ट्रोल गर्न थालेकी छु,’ कला भन्छिन्– ‘त्यसैले बेलुकीको खाना केही हल्का हुन्छ ।’
राति ओछ्यानमा पुग्दा ११ बजिसकेको हुन्छ । त्यसअघि उनी टेलिभिजन हेर्ने, पुस्तक पढ्ने आदि काम गर्छिन् । कला सुत्नुअघि सकारात्मक प्रभाव पार्ने खालको आलेख पढ्न रुचाउँछिन् । त्यस्तै उनी हेल्थ टिप्स पनि पढिरहेकी हुन्छिन् । यही समयमा उनी फेसबुकमार्फत साथीहरूसँग कुराकानीसमेत गर्छिन् । कला ग्याजेट्सको खासै सौखिन होइनन् । उनलाई सामान्य कामचलाउ मोबाइल भए पुग्छ । केही बेर मोबाइल चलाएपछि कलालाई निन्द्राले झ्याप्प छोपिहाल्छ ।