साप्ताहिक संवाददाता
मोडलिङबाट चलचित्र क्षेत्रमा आउने कलाकार हुन्— आँचल शर्मा । मिस प्लस टु शीर्षकको सौन्दर्य प्रतियोगितामा विजेता भएपछि निर्देशक विकास आचार्यको नजरमा परेकी आँचल चैत २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र‘नाइँ नभन्नु ल–४’ मार्फत रजतपटमा पदार्पण गर्दैछिन् ।
आचार्यको यो सिक्वेल चलचित्रमा आँचलको जोडीका रूपमा मोडल पल शाहलाई प्रस्तुत गरिएको छ । पल पनि यही चलचित्रमार्फत म्युजिक भिडियोबाट चलचित्रमा पदार्पण गर्दैछन् । जीवनमा कुनै दिन अभिनय गर्छु भन्ने सोच्दै नसोचेकी आँचल यतिबेला नायिकाका रूपमा सक्रिय रहँदा उनको अभिनयको भविष्य सुखद रहेको टिप्पणी गर्नेहरू प्रशस्तै छन् । चलचित्रको ‘चिया कफी खाउँला...’ गीतको लोकप्रियतासँगै आँचलको अभिनयको समेत प्रशंसा हुन थालेको छ ।
पाँच वर्षअघिसम्म कुनै पनि नेपाली चलचित्र नहेरेकी आँचलले हालसम्म ‘नाइँ नभन्नु ल–४’ बाहेक एउटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । पहिलो चलचित्रको गीत तथा प्रोमोबाट आएको प्रतिक्रियापछि आँचलको आत्मविश्वास यसरी बढेको छ कि उनले आगामी पाँच वर्षभित्रमा नेपालको नम्बर एक नायिका बन्ने लक्ष्य तयार पारिसकेकी छिन् ।