साप्ताहिक संवाददाता
‘ज्यानमाया...’ गीत लोकप्रिय भएको हो ?
गायिका अञ्जु पन्तसँग युगल रूपमा गाएको यो गीतको म्युजिक भिडियो कम समयमै धेरै पटक हेरिएकाले लोकप्रिय भएको छ । ‘सुर्के थैली...’ पछि संगीतकार राजनराज शिवाकोटीको यो संगीतलाई उत्कृष्ट सिर्जना मानिएको छ ।
यो गीत तपाईंलाई नै कसरी जुर्यो ?
संगीतकार तथा गीतकार राजनराज शिवाकोटीसँग एउटा कर्णप्रिय गीतको अपेक्षा गरिरहेको थिएँ । यो युगल गीतको धुन तयार भएपछि गायिका अञ्जु पन्त पनि गाउन तयार हुनुभयो । मलाई गायकका रूपमा स्थापित गराउने श्रेय पाउनु रै’छ, केही दिनको तयारीमै यो गीत रेकर्ड भएको हो ।
भर्खरै बजारमा आएको तपाईंको एल्बम ‘कखरा...’ का अन्य गीत कस्ता छन् ?
लोक–आधुनिक, आधुनिक तथा पप शैलीका गीतहरू गाएको छु । राजनराज, हरि लम्साल तथा म आफैंले संगीतबद्ध गरेका ६ वटा गीतमध्ये ‘शुभ शुभ बोल...’ गीतको भिडियो गत भूकम्पपछि सार्वजनिक गरेको थिएँ । बाँकी गीत पनि श्रोताहरूले मन पराउने शैलीका छन् ।
सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भएको कति भयो ?
२०६४ सालमा ओखलढुंगाबाट कटारी हुँदै काठमाडौं आएदेखि नै म संगीतकर्ममा सक्रिय छु । यो अवधिमा खोजी प्रतिभाको तथा सिङ्गिङ आइडलजस्ता दुईवटा रियालिटी शोको तेस्रो चरणसम्म पुग्न सफल भएँ । दुवै प्रतियोगितामा अपेक्षाकृत सफलता प्राप्त नभएपछि साधना कला केन्द्रमा संगीतकार प्रकाश गुरुङसँग संगीतको प्रशिक्षण लिन थालें ।
प्रशिक्षणपछि कत्तिको सुधारिएको अनुभव गर्नुभयो ?
दुईवर्षे प्रशिक्षणपछि संगीतको ज्ञानमात्र बढेन, आत्मविश्वाससमेत बढ्यो । त्यसैको प्रतिफल पहिलो एल्बम ‘कखरा’ तयार पार्न सफल भएँ । एल्बमको ‘ज्यानमाया...’ गीत लोकप्रिय भएपछि सांगीतिक कार्यक्रममा समेत सक्रिय हुन थालेको छु ।
अबको योजना के छ ?
नयाँ वर्षको अवसरमा आयोजित करिब आधा दर्जन सांगीतिक कार्यक्रममा आफ्ना गीत प्रस्तुत गर्दैछु । त्यसबाहेक एल्बमका बाँकी गीतको म्युजिक भिडियो निर्माण गर्ने तयारी गर्दैछु । त्यसपछि सिंगल ट्रयाकमा ध्यान दिनेछु ।