साप्ताहिक संवाददाता
म २० वर्षीया विवाहित हुँ । एक महिनाअघि पहिलो बच्चा गर्भपतन गराएँ । त्यसपछि कुनै साधन प्रयोग गरेकी छैन । अहिले योनिमार्गबाट सेतो बाक्लो पदार्थ निस्कन्छ र गन्हाउँछ । यो अवस्थामा मैले के गर्दा उपयुक्त होला ?
घ.
विवाहित हुँदैमा बच्चा जन्माउनैपर्छ भन्ने छैन र गर्भपतन गराउँदा नराम्रो हुन्छ भन्नु गलत हो, तर गर्भपतन सूचीकृत संस्थामा मात्र गराउनुपर्छ । सन्तान नपाउन गर्भपतनभन्दा पनि परिवार नियोजनका साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ।
तपाईंले गर्भपतन कहाँ गराउनुभयो, खुलाउनुभएको छैन । सुरक्षित गर्भपतन गराएको अवस्थामा समस्या नआउनुपर्ने हो । योनिमार्गबाट सेतो बाक्लो अनि गन्हाउने पदार्थ निस्कनुले पाठेघरमा संक्रमण भएको संकेत गर्छ । त्यसैले एकपटक स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराउनु होला । अर्को कुरा, गर्भपतन गराइसकेपछि तपाईंले परिवार नियोजनका साधनहरूका बारेमा परामर्श प्राप्त गरेको हुनुपर्ने हो, तर तपाईंले कुनै साधन रोज्नु भएको देखिँदैन । यस्तो अवस्थामा फेरि गर्भ रहन सक्छ र फेरि गर्भपतन गराउनुपर्ने हुन सक्छ, त्यसैले समयमै सचेत हुनु आवश्यक छ ।