साप्ताहिक संवाददाता
महामारीलगत्तै महाभूकम्प
गत वर्षको प्रारम्भमा जाजरकोटमा महामारी फैलियो, त्यसले नेपाली समाजलाई नै तरंगित बनायो । त्यसको प्रत्यक्ष असर जाजरकोटवासीले भोगे पनि सामाजिक सञ्जालमा देशभरका जनताले स्टाटस र प्रतिक्रिया दिए । काठमाडौंका धेरै सचेत नागरिक स्वयंसेवकका रूपमा जाजरकोट पुगे । जाजरकोट आतंककै बीचमा वैशाख १२ गते ठुलो भूकम्पको सामना गर्नुपर्यो ।
महाभूकम्प, उद्धार र राहत
महाभूकम्पपछि सामाजिक सञ्जालको प्रयोग अझ बढी देखियो । भूकम्पका घटनाक्रम अपडेट गर्न र उक्त विपत्तिपछिको उद्धार क्रियाकलापका निम्ति फेसबुकको उपयोग बढ्यो ।
नेपाल प्रहरीलगायतका सुरक्षा निकायले फेसबुकको प्रयोगलाई महत्व दिँदै आ–आफ्नो मिसन सञ्चालन गरे । युवाहरू र उनीहरू सम्बद्ध संघसंस्थाले फेसबुकलाई माध्यम बनाएर आफ्नो क्रियाकलाप अघि बढाए । यस्तै भूकम्पको उद्धारलाई प्रभावकारी बनाउन फेसबुक आफैंले पनि लोकेसन आइडेन्टिफाइ गर्ने र अन्य सहयोगी फिचर राखिदियो । अर्थक्वेक टाइटलमा धेरै ग्रुप र एप्लिकेसन्स सञ्चालनमा आए । प्रे फर नेपालजस्ता ह्यासट्यागमा धेरैले सहभागिता जनाए । विश्वभरका नेपाली तथा विदेशीहरूले पनि नेपालमा गएको भूकम्पको मारमा परेका जनताको सहयोगका लागि फेसबुकमार्फत आफ्ना क्रियाकलाप सञ्चालन गरे । खासगरी राहत वितरण एवं पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारी बनाउन फेसबुकको उपयोग गरियो । महाभूकम्पले कुन स्थानमा बढी असर गर्यो भनेर थाहा पाउने फिचर पनि फेसबुकमै देखिए ।
गो होम इन्डियन मिडिया
सामाजिक सञ्जालमा वर्ष २०७२ को सुरुवातमै भारतीय मिडियाविरुद्ध खनिएका जनता वर्षभर नै भारतविरोधी देखा परे । भूकम्पको समयमा अनावश्यक ‘टर्चर’ दिने गरी भारतीय मिडियाले गरेको रिपोर्टिङबाट आजित सोसल मिडिया प्रयोगकर्ताहरूले गो होम इन्डियन मिडिया ह्यास ट्यागमा आफ्ना प्रतिक्रिया जनाए । भारतीय मिडियाको आतंकलाई नेपालीले मात्र होइन, भारतीय नागरिकले समेत फेसबुकमार्फत साथ दिए । यस्तै असोजको पहिलो सातादेखि अघोषित नाकाबन्दी सुरु भएपछि ब्याक अफ इन्डिया ह्यासट्यागमा धेरैले प्रतिक्रिया लेखे । कुनै समय नेपालीहरूको मन जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध खुलेर नै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना अभिमत राखे । नाकाबन्दीले सिर्जना गरेका समस्या छताछुल्ल पोखिए । अघोषित नाकाबन्दीविरुद्ध राष्ट्रिय भावना जगेर्ना गर्न प्रोफाइल पिक्चरमा राष्ट्रिय झन्डा राख्नेदेखि अन्य थुपै्रै क्रियाकलाप सञ्चालन गरियो । ब्याक अफ इन्डियाको तरंग यति फैलियो कि भारतीय संसद्लाई समेत त्यसले प्रभावित तुल्यायो ।
कृषिमन्त्रीको हर्कत
असार १५ मा पर्ने रोपाइँ दिवसको अवसरमा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले महिलाहरूसँग अस्वभाविक ढंगले हिलो खेलेको तथा अशोभनीय ढंगले उनीहरूलाई अँगालो हालेको तस्बिर तथा भिडियो फेसबुकमार्फत सार्वजनिक भए । त्यसले नेपाली समाज यसरी तरंगित भयो कि २ घण्टाभित्रै कृषिमन्त्रीका हर्कतविरुद्ध संसारभरका नेपालीहरूले फेसबुकमै प्रतिक्रिया जनाए । सम्भवत: फेसबुक नहुँदो हो त उनको मन्त्री पद गुम्ने थिएन, तर फेसबुकमा उर्लिएको आक्रोश शान्त पार्न तत्कालीन सत्ता साझेदार दलहरूले मन्त्रीलाई राजीनामा गराउनु नै उचित मानें । कृषिमन्त्रीले जर्बजस्ती अगाँलो हालेको भनिएकी महिलाको तस्बिर एक्सपोज हुनुलाई कतिपयले ती महिलाको बदनामी गरिएको भन्दै आपत्तिसमेत जाहेर गरे । वर्षको अन्त्यमा अर्का कृषिमन्त्रीले उस्तै किसिमको क्रियाकलाप देखाए । डब्बु क्षेत्री निर्देशित राहदानी हेरेर निस्कने क्रममा कृषिमन्त्री हरिबोल गजुरेल ग्वाँ–ग्वाँ रोएको दृश्य पनि फेसबुकमा भाइरल भयो ।
नाकाबन्दी र भारतीय दूतावास
नाकाबन्दीको समयमा फेसबुक प्रयोगकर्ताहरूले खुलेर आफ्ना धारणा व्यक्त गरे । धेरैले नाकाबन्दीलाई भारतीय आतंकका रूपमा चित्रण गरे भने मधेस आन्दोलनका समर्थकले आफ्ना भनाइ राख्ने प्लेटफर्म पनि फेसबुकलाई नै बनाए । मधेस आन्दोलनको नेतृत्व गरिरहेका नेताहरू र तिनका क्रियाकलापविरुद्धका स्टाटस पनि धेरै आए । खासगरी सद्भावना नेता राजेन्द्र महतोलाई लक्षित गरेर वर्षभरि नै फेसबुकमा स्टाटस तथा प्रतिक्रिया लेखियो । भारतीय दूतावास पनि फेसबुक प्रयोगकर्ताहरूको निशानीमा पर्यो । नाकाबन्दीको समयमा इन्धन अभावका कारण सवारी साधन कम चलेपछि यात्रुहरूलाई लिफ्ट दिने अभियान फेसबुकबाटै चलेको थियो ।
केपी ओली र उनका भाषण
वर्तमान प्रधानमन्त्री केपी ओली गत वर्ष फेसबुकका नायक नै भए । प्रधानमन्त्री ओलीका उडन्ते शैलीका अभिव्यक्तिलाई लक्षित गरेर धेरैले व्यंग्यात्मक शैलीका स्टाटस लेखे । १ वर्षभित्र पाइपलाइनमार्फत चुला–चुलामा ग्याँस पुर्याउने, १ वर्षभित्रमा लोडसेडिङ सदाका निम्ति अन्त्य गर्ने, हावा र फोहरबाट बिजुली निकाल्ने जस्ता उनका अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा टीकाटिप्पणी पोस्ट भए । ओलीले गैंडाको सन्दर्भमा गरेको भाषण त फेसबुकमा भाइरल नै बनेको थियो । फेसबुकमा उनका हरेक उखान–टुक्का र बोल्ने शैलीको नक्कल गर्दै व्यंग्य गरियो । केपी ओलीले जम्बो मन्त्रीमन्डल बनाएको, मन्त्रालय टुक्र्याएको, आफू हाबी हुने हिसाबले काम गरेको जस्ता कुरा पनि सामाजिक सञ्जालका खुराक बनें । केपी ओली नम्बर वान हास्यकलाकार बनेकाले मुलुकका अन्य हास्यकलाकारको जागिर गुमेको जस्ता व्यङ्ग्य पनि फेसबुकमा आए । कार्टुन पत्रकारितामा पनि केपी ओली नै नायक भए ।
नयाँ शक्ति र बाराभ
गत वर्ष फेसबुकमा चर्चा पाइरहने अर्का व्यक्ति हुन्– डा. बाबुराम भट्टराई । वर्षको सुरुवातमै एमाओवादी केन्द्रीय समितिमा विरोधाभासपूर्ण धारणा राखेर चर्चामा आएका डा. भट्टराई संविधानसभाले संविधान बनाउने समयसम्म संयमित देखिन्थे, तर संविधान जारी भए लगत्तै उनले एमाओवादीविरुद्ध विषवमन गर्दै पार्टी परित्याग गरे । यो विषयले फेसबुकको वातावरण गर्मायो । त्यसलगत्तै मधेस आन्दोलनलाई समर्थन गर्दै आएको उनको अभिव्यक्ति फेसबुकमा झनैं ठूलो विवादको विषय बन्यो । एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध उनका अभिव्यक्ति पनि फेसबुक कन्टेन्ट बनें । अझ नयाँ शक्तिमा चर्चित कलाकारहरूलाई समेटिएपछि उनी फेसबुकका चर्चित पात्र बनें । नयाँ शक्तिमा करिश्मा मानन्धरको उपस्थिति पनि फेसबुक चर्चाको विषय बन्यो । करिश्माका सन्दर्भमा प्रचण्ड र बाबुरामको वाकयुद्धलाई फेसबुक प्रयोगकर्ताहरूले थप चर्काए ।
अन्य विषयवस्तु
एमाले नेताहरू मिलेर अध्यादेशमार्फत निजी मेडिकल कलेज सञ्चालन गर्ने क्रियाकलापविरुद्ध डा. गोविन्द केसीले भोक हड्ताल गरे । डा. केसीको अभियानलाई समर्थन र मनमोहनको नाम भजाउँदै उनको नाममा मेमोरियल अस्पतालको नेतृत्व गर्ने एमाले नेता राजेन्द्र पाण्डेको विरोध गर्दै सयौं स्टाटस र कमेन्ट फेसबुकमा पोस्ट भए । डा. केसीका पक्षमा फेसबुकमा अभियान नै चल्यो । वर्षायाममा भूकम्पपीडितको बिजोग भएको कुरा पनि फेसबुकमा आए । संविधानसभाले संविधान जारी गर्नुपर्छ भनेर खबरदारी गर्नेदेखि संविधान जारी पछि त्यसलाई स्वागत गर्नेसम्मका विषयमा फेसबुक प्रयोगकर्ताले आफ्ना अभिमत राखे । फेसबुकमा विभिन्न विषयवस्तुका साथमा आफ्ना व्यक्तिगत सन्दर्भ उधिन्नेहरू पनि प्रशस्त देखिए । नेपाली खेलाडीहरूले शिर उचो राख्ने गरी राष्ट्रिय अन्तर्राष्ट्रिय मैदान गरेका प्रदर्शन पनि फेसबुक प्रयोगकर्ताका विषय बने । चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्ने प्लेटफर्म पनि बन्यो फेसबुक । फेसबुकका प्रयोगकर्ता बढ्दै जाँदा यसमा चाडपर्व, बर्थ डे, म्यारिज एनिभर्सरीजस्ता कुरामा शुभकामना आदानप्रदान गर्ने काम पनि उत्तिकै
बढेको देखियो ।