साप्ताहिक संवाददाता
वर्षैभरि देश नै घटना र विवादको भुमरीमा परिरहेको बेला चलचित्र क्षेत्र कसरी अछुतो रहन सक्ला ? ट्रेन्डका कुरा गर्ने हो भने वर्ष २०७२ मा चलचित्र क्षेत्रले कुनै नयाँपन दिन सकेन । वर्ष ०७१ को अन्त्यमा आएका दुई चलचित्र ‘नाइँ नभन्नु ल–३’ र ‘हवल्दार सुन्तली’ले सफल व्यवसाय गरिरहेका थिए । वैशाख ४ गते कुनै पनि चलचित्र आएनन् । वर्ष ०७१ मै अत्यधिक चर्चामा रहेको गीत ‘जालमा’ कै कारण बहुप्रतीक्षित भएको चलचित्र ‘रेशम फिलिली’ वैशाख ११ गते प्रदर्शन भएको थियो । वैशाख ११ गते उक्त चलचित्रले देशभरिका चलचित्र भवनहरूमा एकछत्र राज गर्यो । दर्शकहरू यसरी उर्लिए कि लाग्थ्यो, कुनै मेला वा उत्सव चलिरहेको छ । परिणामस्वरूप पहिलो दिनमै उक्त चलचित्रले निकै राम्रो कलेक्सन गर्यो । दोस्रो दिन अर्थात् वैशाख १२ गते, शनिबारको बिदा परेकाले पनि मल्टिप्लेक्सहरू शतप्रतिशत बुकिङ भैसकेका थिए । दर्शकहरूको ओइरो लागेकाले मल्टिप्लेक्सहरू शोमाथि शो थप्ने होडबाजीमा थिए । बिहानीका शोहरू सकिएर दोस्रो शोमा दर्शक रमाइरहेका थिए । ११ बजेर ५६ मिनेटमा देशै हल्लाउने गरी भूकम्प गयो । चलचित्र ‘रेशम फिलिली’ हेरिरहेका दर्शकमा भागदौड मच्चियो । फलत: लगभग सफलताको कीर्तिमान राख्ने तयारीमा रहेको चलचित्र ‘रेशम फिलिली’बाटै चलचित्र प्रदर्शनको क्रम केही समयलाई रोकियो । चलचित्र ‘रेशम फिलिली’ले आफ्नो प्रचारमा ‘देशै हल्लाउने’ शब्द प्रयोग गरेका कारण उक्त चलचित्रको प्रदर्शनमा भूकम्प आएको ठट्टा पनि चलचित्रवृत्तमा चल्यो ।
भूकम्पको असर
वैशाख १२ को भूकम्पको असर नेपाली चलचित्रमा यसरी पर्यो कि अहिलेसम्म पनि त्यसले केही न केही दुष्प्रभाव देखाइरहेको छ । पहिलो नकारात्मक असरचाहिँ भूकम्पका कारण त्यसपछि प्रदर्शन भएका चलचित्रहरू जुध्नु वा जुधाउन बाध्य हुनु हो । ‘रेशम फिलिली’पछि क्रमश: ‘होस्टेल रिटर्नस्’, ‘अधकट्टी’, ‘वडा नं. ६’, ‘चंखे शंखे पंखे’, ‘लभसब’ आदि ठूला ब्यानरका चलचित्रले कसैसँग नजुधाई एकल रिलिज डेट पाएका थिए । भूकम्पका कारण ती सबै चलचित्रको प्रदर्शन अनिश्चित भयो । दर्शकहरू चलचित्र भवनमा प्रवेश गर्न डराउने अवस्था सिर्जना भयो । बिस्तारै दर्शक हलसम्म पुग्न त थाले, तर चलचित्र जुध्ने र जुधाउने कार्य चाहेर पनि कसैले रोक्न सकेनन् । जस्तो कि दसैंको छेकोमा कात्तिक ३ गते चारवटा चलचित्र एकसाथ प्रदर्शनमा आए । भूकम्पका कारण छायांकनसहित चलचित्र गतिविधि शून्यमा झरेको थियो । बिस्तारै प्राविधिक तथा कलाकारहरू काममा फर्किए र धमाधम चलचित्रको निर्माण बढ्न थाल्यो । वास्तवमा त्यसपछि चलचित्र निर्माणको गति ह्वात्तै बढेको देखिन्छ । धेरै चलचित्र बन्नु राम्रो हो, तर यसले फेरि चलचित्र जुध्ने/जुधाउने समस्या थप वृद्धि हुनसक्छ ।
नाकाबन्दीको असर
नाकाबन्दीका कारण चलचित्र क्षेत्रमा अरू क्षेत्रमा जस्तो ठूलो असर त परेन, तर केही चलचित्रको प्रदर्शन एवं निर्माणमा भने त्यसले नकारात्मक असर गर्यो । इन्धनको अभावले छायांकन खर्च बढ्यो भने मधेसमा छायांकनको योजना बनाएका चलचित्रको छायांकन पछिलाई सारियो । नाकाबन्दीकै बखत प्रदर्शनमा आएका केही चलचित्रले भने सफलता पाए । परदेशी, कबड्डी–कबड्डी, पशुपतिप्रसाद, प्रेमगीत, क्लासिक आदिले नाकाबन्दीकै क्रममा दर्शकको साथ पाए । भनिन्छ, नाकाबन्दीका बेला काठमाडौंका दर्शकहरू कि इन्धनको लाममा हुन्थे, कि चलचित्रको टिकट काउन्टरमा ।
हल्काफुल्का विवाद
राजेश हमाल र विदेशी राहत :
नेपालमा भूकम्प जाँदा नायक राजेश हमाल फ्रान्सको राजधानी पेरिसमा थिए । भूकम्पपछि उनी नेदरल्यान्ड पुगे । त्यहाँका नेपालीहरू भूकम्पपीडितहरूको सहयोगका लागि राहत संकलन गर्दै थिए । राजेश हमालमार्फत ती सामग्री नेपाल ल्याइयो । हमालले उक्त राहत संकलन गरेको समाचार अतिरञ्जित ढंगले सार्वजनिक भएपछि नेदरल्यान्डमा रहेका नेपालीहरूले त्यसको विरोध जनाएपछि फलस्वरूप केही विवादको स्थिति पनि सिर्जना भयो । यद्यपि नायक हमालले सकारात्मक रूपमा यर्थात् स्थिति बताएर त्यसलाई शान्त पारे ।
आर्यन भर्सेज सुदर्शन :
नायक आर्यन सिग्देल र निर्देशक सुदर्शन थापाबीच कुनै बेला नङ र मासुको जस्तो सम्बन्ध थियो । चलचित्र क्षेत्रमा आर्यन सिग्देलको पदार्पण सुदर्शनको निर्देशनमा बनेको टेलिश्रृंखला ‘हाउसफुल’ बाट भएको थियो । सुदर्शन थापा निर्देशित चलचित्र ‘मेरो एउटा साथी छ’ आर्यन सिग्देलको एक सफलतम् चलचित्र हो । सुदर्शनले पनि आर्यनमार्फत केही राम्रा चलचित्र दिएका थिए । गत वर्ष उनीहरूको दुश्मनीले यहाँसम्मको स्थिति ल्यायो कि कतै एक–अर्कालाई देखे पनि उनीहरू मुन्टो बटार्न थाले । दुश्मनीको त्यो आगोमा घ्यु थप्ने काम गर्यो माघ २९ ले । उक्त दिन सुदर्शन थापा निर्देशित ‘प्रेमगीत’ तथा आर्यन सिग्देल निर्मित एवं अभिनीत ‘क्लासिक’ जुध्ने भए । यो प्रतिस्पर्धाका कारण उनीहरू अझ टाढिए । चलचित्र क्षेत्रमा लामो समयसम्म कोही कसैको शत्रु वा मित्र हुन सक्दैन भन्ने कथनलाई सत्य मान्दै धेरै चलचित्रकर्मी यी दुईबीचको शत्रुताको अन्त्य होस् भन्ने चाहना राख्छन् ।
केसी भर्सेज डिसी :
गत वर्ष सदाबहार नायक भुवन केसी चलचित्र ‘ड्रिम्स’मार्फत निर्देशक भए । अर्कातर्फ निर्देशक तथा अभिनेता दिनेश डिसीले पनि आफ्नै लगानीमा पहिलो चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ निर्माण गरे । यहाँसम्म त कुरा ठीकै थियो, तर यी दुई चलचित्रको प्रदर्शन भने एउटै मिति (फागुन २१) मा हुने भएपछि उनीहरू वर्षांैसम्मको मित्रतालाई बिर्सेर एकअर्काविरुद्ध खनिए । विशेषगरी दिनेश डिसी चलचित्र ‘ड्रिम्स’का नायक भुवनपुत्र अनमोल केसीलाई अभिनय नआउने कुरा बताएर विवादित भए । केसीले सार्वजनिक रूपमा नभए पनि अनौपचारिक रूपमा डिसीको रवैया मन नपरेको अभिव्यक्ति दिइरहे । वास्तवमा फागुन २१ ले यी दुई चलचित्रकर्मीबीच फाटो ल्याइदिएको छ ।
राई र वाग्लेको हातपात :
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई तथा चलचित्र निर्माता माधव वाग्लेबीच राईकै क्याबिनमा हात हालाहालको स्थिति उत्पन्न भयो । हिन्दी चलचित्र वेलकम ब्याकको विषयलाई लिएर वाग्ले र राईबीच विवाद भएपछि त्यसले हात हालाहालसम्मको स्थिति निम्त्याएको थियो । त्यसपछि निर्माता वाग्लेले प्रहरीमा राईविरुद्ध मुद्दा पनि हाले र प्रहरीको रोहबरमा विवाद साम्य पारियो ।
पाइरेसी :
गत वर्षका दुई सफल चलचित्र ‘कबड्डी–कबड्डी’ तथा ‘पशुपतिप्रसाद’को पाइरेसी भएपछि नेपाली चलचित्रकर्मीमा एक किसिमको त्रासको वातावरण सिर्जना भयो । ‘कबड्डी–कबड्डी’लाई युट्युबमा हङकङबाट अपलोड गरिएको पाइयो । विदेशमा सो गर्न दिइएको कपीमार्फत पाइरेसी भएपछि यो घटनाले चलचित्रकर्मीलाई चनाखो बनाइदिएको छ । अर्को चलचित्र ‘पशुपतिप्रसाद’को सेन्सर कपी केही व्यक्तिका साथमा पाइयो । खुलेआम सेन्सर कपी सारिएको बताइए पनि उक्त कपी कहाँबाट आम मानिसको हातमा पुग्यो भन्ने रहस्य अझै खुल्न सकेको छैन ।
पनेरु काण्ड :
पोर्न स्टार बन्ने चाहना भएको वक्तव्य दिएर चर्चा कमाएकी अर्चना पनेरुले निर्माता माधव वाग्ले, निर्देशक तथा सम्पादक सिमोस सुनुवार, निर्माता तथा गायक अर्जुनकुमार एवं निर्माता टेकेन्द्र खड्काले चलचित्रमा नायिका बनाइदिने भन्दै सेक्स प्रस्ताव राखेको बताएपछि त्यसले पनि चर्चा पायो । आरोपित चारै जनाले राजधानीको एक रेस्टुराँमा बोलाएर उक्त प्रस्ताव राखेको बताइए पनि ती चारै जनाले सार्वजनिक रूपमा त्यसमा कुनै टिप्पणी गर्न आवश्यक मानेनन् । अर्कातर्फ निर्देशक राजु गिरीले पनेरुलाई नायिका लिएर छायांकन गरिरहेको चलचित्र ‘जिस्म’को युनिट पोखराको छायांकनस्थलबाटै पक्राउ पर्यो । सार्वजनिक स्थलमा अप्ठेरो लाग्ने दृश्य खिचेकाले उनीहरूलाई पक्राउ गरिएको बताइए पनि उक्त चलचित्रले चलचित्र बिकास बोर्डको अनुमति नै नलिइ छायांकन थालेकाले पक्राउ गरिएको बताइन्छ ।
खादा काण्ड
गत वर्ष माछा बोकेर अर्धनग्न तस्बिर खिचाएकी नायिका शुभेच्छा थापाले यसपटक बौद्ध धर्माबलम्बीहरूको पवित्र खादा प्रयोग गरी अर्को अर्धनग्न तस्बिर खिचाइन्, फलस्वरूप उनले ठूलो विवाद खेप्नुपर्यो । सर्वत्र उनको विरोध पनि भयो ।
यसबाहेक, नायिका झरना बज्राचार्य, नायिका ऋचा घिमिरे, मिस नेपाल तथा निर्मात्री माल्भिका सुब्बा आदिले आफू गर्भवती भएका तस्बिर फेसबुकमा अपलोड गरेर चर्चा पाए । यसमा नायक यशराज गराचकी पत्नी पनि सामेल भइन् ।
चलचित्र ‘काफल पाक्यो’ले आफ्नो कथा चोरेर चलचित्र ‘सुश्री’ बनाएको आरोप लगाएपछि उक्त मुद्दा चलचित्र विकास बोर्डमा पुगेको थियो, तर यो विवाद सामान्य ढंगबाटै सल्टियो । यही वर्ष प्रदर्शनमा आएका यी दुवै चलचित्र व्यवसायिक रूपमा असफल भए ।