साप्ताहिक संवाददाता
सम्भवत: खेलकुद विवाद र काण्डबाट कहिल्यै टाढा रहन सक्दैन । विवाद खेलकुदकै एक अंग हो तर यी सबै विवाद र काण्ड त्यति मात्र स्वभाविक हुन सक्छन्, जति बेला खेलकुद आफैंमा सफल हुन्छ ।
नेपाली खेलकुद विश्वमञ्चमा खासै सफल छैन्, नेपाली खेलकुद धेरै पछाडि छ तर नेपाली खेलकुदमा विवाद र काण्डको कुनै कमी छैन । यो नै सबैभन्दा दु:खद् पक्ष हो ।
नेपाली खेलकुदका लागि ०७२ यस्तै विवाद र काण्डमय रह्यो । नेपाली खेलकुदमा फुटबल र क्रिकेट सर्वाधिक लोकप्रिय खेल हुन् भने यिनै दुई खेलमा सबैभन्दा बढी विवाद देखियो, एकपछि अर्को काण्ड मच्चियो । कम्तीमा फुटबलमा विवादका बाबजुद नेपालले लामो समयपछि सफलता हात पार्यो, तर नेपाली क्रिकेट भने लगातारको विवादले गर्दा अहिले शून्यकै स्थितिमा झरेको छ । विवादकै कारण पूरा क्रिकेट खेल नै तहसनहसको स्थितिमा छ ।
नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) को अस्तित्व खोज्ने हो भने त्यो छैन भने पनि हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस्तै मानेको छ र नेपाली क्रिकेटका सबै काम क्यानका सीईओ गर्नु भनेको छ । होइन, क्यानको अस्तित्व छ भनेर मान्ने हो भने यो संस्था अहिले तत्काल दुई वटा छन्, एउटा चतुरबहादुर चन्दको नेतृत्वमा, अर्को रमेश सिलवालको नेतृत्वमा ।
यी विवादबीच नेपाली क्रिकेटलाई एकपछि अर्को ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक पुबुदु दसानायके नेपाल छाड्न बाध्य भए । उनले लगातारको विवादबीच काम गर्न रुचाएनन् । क्यानले पनि उनीसँगको अनुबन्ध थप्न आवश्यक देखेन । विवादकै कारण आईसीसीले दिने ठूलो रकम पनि रोकिएको छ र नेपाली क्रिकेटमा केही हुन नसकेको स्थिति छ । खासमा नेपाली क्रिकेट निकै निराशाजनक स्थितिमा छ ।
नेपाली फुटबलले भने त्यसको ठीक विपरीत स्थिति बेहोर्यो । त्यसो त अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद अझै टुंगिएको छैन । संस्थापन पक्ष र विद्रोही कर्मा छिरिङ शेर्पाको समूहबीच अहिलेसम्म पनि सहमति हुन सकेको छैन र यो आगोमा घ्यु थप्ने काम गरिरहेको छ, राष्ट्रिय खेलकुद परिषद्ले । यो विवादमा एसियाली फुटबल महासंघ (एएफसी) ले पनि उत्तिकै चाख दिइरहेको छ ।
यही वर्ष नेपाली फुटबल गलत कारणले पनि उत्तिकै चर्चामा रह्यो । सुरुमा खेल मिलोमतोको आरोपमा चार खेलाडी र एक प्रशिक्षक समातिए । समातिनेमा दुई खेलाडी नेपाली राष्ट्रिय टिमकै प्रमुख सदस्य कप्तान सागर थापा र सन्दीप राई थिए । यस्तै रितेश थापा र विकाश सिंह क्षेत्री पनि समातिए । यसमा प्रशिक्षक अञ्जन केसी पनि मुछिए । अहिले उनीहरूविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । यो घटनाको निर्णय जस्तोसुकै आए पनि अब त्यसको कुनै अर्थ हुने छैन, किनभने एएफसीले तिनीहरू पाँचै जनालाई सबै खाले फुटबल गतिविधिबाट आजीवन प्रतिबन्ध लगाइसकेको छ । अर्कातर्फ विश्व फुटबल आफै विवादमा छ र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) यसबाट मुक्त हुन सकेको छैन् । आखिर यसको असर नेपालमा पनि पर्यो र एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा १० वर्षको प्रतिबन्धमा परे ।
उनीमाथि नेपालमै पनि भ्रष्टाचारको मुद्दा नसेलाएको स्थिति छ, तर पनि फिफाले नै उनीमाथि प्रतिबन्ध लगाएपछि नेपालमा थापाका सम्बन्धमा के निर्णय हुनेछ, त्यसको अर्थ पनि समाप्त भएको छ । क्यान र एन्फा मात्र होइन, दुई समानान्तर संघ भएका धेरै खेल छन् र त्यसको विवाद कहिले टुंगिने हो, त्यसको पनि कुनै समय सीमा छैन । बरु जीवनराम श्रेष्ठ नेतृत्वमा चुनिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद भने लगभग समाप्त भएको छ ।