०७३ का सम्भावना बोकेका चलचित्र

- कृष्ण भट्टराई

वैशाख ४, २०७३

चलचित्र विकास बोर्डले साप्ताहिकलाई उपलब्ध गराएको तथ्यांकअनुसार वर्ष २०७२ मा ६७ वटा नेपाली चलचित्र प्रदर्शन भए । विगत केही वर्षको तुलनामा गत वर्ष प्रदर्शन भएका चलचित्रको संख्या घटेको छ । गत वर्षको वैशाख १२ गतेको भूकम्पपछि करिब तीन महिना एउटा पनि चलचित्र प्रदर्शन नभएकाले वर्ष २०७२ मा चलचित्रको संख्या घटेका थियो । वर्ष २०७३ मा कुनै प्राकृतिक विपत्ति तथा राजनीतिक संकट नआए गत वर्षको तुलनामा केही बढी चलचित्र प्रदर्शनमा आउने सम्भावना छ । २०७३ सालमा प्रदर्शन हुने चलचित्रमध्ये केही चलचित्रले सफलता पाउने पक्का छ । त्यसबाहेक केही चलचित्रमार्फत प्रतिभाशाली कलाकारले चलचित्र क्षेत्रमा पदार्पणसमेत गर्नेछन् । 

नयाँ वर्ष २०७३ को प्रारम्भमै अर्थात वैशाख १० गते प्रदर्शनमा आउने चलचित्र ‘हाउ फन्नी’ मार्फत महिला निर्देशक नीलु डोल्मा शेर्पा निर्देशन विधामा पदार्पण गर्दैछिन् । यो हास्य प्रधान चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विक्रम शाही आदि कलाकारले अभिनय गरेका छन् । माल्भिका सुब्बाद्वारा निर्मित यो चलचित्रले व्यवसायिक सफलता हासिल गर्ने सम्भावना छ । 

वैशाख १७ गते प्रदर्शनमा आउने चलचित्र ‘जंगे’ ले पनि व्यवसायिक सफलता हासिल गर्न सक्छ । उत्कल थापाको निर्देशनको यो चलचित्रमा अभिनेता सुरज सिंह ठकुरी ‘जंगे’ को भूमिकामा प्रस्तुत भएका छन् । सुशन प्रजापतिको यो चलचित्रको छायांकन वीरगन्जका विभिन्न स्थानमा गरिएको छ । चलचित्र जंगेमा सुरजसँगै ऋचा शर्मा तथा शिखा शाही पनि महत्वपूर्ण भूमिकामा छन् । 

अभिनेता तथा गायक यश कुमारको चलचित्र ‘बाटो मुनिको फूल–२’ वैशाख १० गतेदेखि दर्शकले हेर्न पाउनेछन् । सुवर्ण थापाद्वारा निर्देशित यो चलचित्रमा दीलिप रायमाझी, यश कुमार, बाबु बोगटी, ऋचा शर्मा, रीमा विश्वर्का, अशिष्मा नकर्मी, अर्पण थापा, टीका पहारी आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा जातियताको मुद्दामा आधारित छ । 

मनोज पण्डितद्वारा निर्देशित चलचित्र ‘छायाँ’ बाल यौन मनोविज्ञानमा आधारित चलचित्र हो । विद्यालयमा अध्ययरत बालबालिकाहरूको मनोभावनामा केन्द्रित यो चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, अरुणा कार्की, साइब्रत आचार्य, प्रविना खड्का आदि कलाकारले अभिनय गरेका छन् । 

रञ्जित रानाद्वारा निर्देशित चलचित्र ‘बाजीगर’ वैशाख १७ गतेदेखि प्रदर्शन हुँदैछ । यो चलचित्रमा जीवन लुइँटेल, अनु शाह, संजोग कोइराला, निश्मा घिमिरे, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् । शेखर कोइरालाको यो चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सक्ने अनुमान गरिन्छ । 

अनमोल केसी तथा श्रृष्टि श्रेष्ठले पहिलो पटक अनस्क्रिन रोमान्स गरेको चलचित्र ‘गाजलु’ जेठ २१ गतेदेखि प्रदर्शनमा आउने छ । पूर्वमिस नेपाल श्रृष्टिको यो पहिलो चलचित्र हो । अनमोलको पछिल्लो चलचित्र ‘ड्रिम्स’ अत्यधिक सफल भएको पृष्ठभूमिमा प्रदर्शन हुन लागेको ‘गाजलु’ ले दर्शकहरूको ध्यान खिच्ने अनुमान गरिएको छ । हेमराज बिसीद्वारा निर्देशित यो चलचित्रमा सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, मेनुका प्रधान आदि कलाकारले पनि अभिनय गरेका छन् । 

दसैंअघि प्रदर्शनमा आउने चलचित्र ‘छक्का पञ्जा’ मार्फत दीपाश्री निरौला निर्देशकका रूपमा पदार्पण गर्दैछिन् । यसअघि ‘छ एकान छ’ तथा ‘वडा नम्बर छ’ बाट सफलता पाइसकेको दीपकराज गिरीसहितको समूहको ‘छक्का पञ्जा’ ले पनि व्यवसायिक सफलता प्राप्त गर्ने अनुमान गरिएको छ । यो चलचित्रमा दीपाश्रीले दयाहाङ राई, प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, वसुन्धरा भुसाल, कविता शर्मा आदि कलाकारलाई अभिनय गराइरहेकी छिन् । 

पूर्वअभिनेत्री सुस्मिता बोम्जन यो वर्ष निर्मात्रीका रूपमा प्रस्तुत हुँदैछिन् । सुस्मिताले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ प्रदर्शनका लागि तयार भैरहेको छ । साउन ७ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा अभिनेता अनमोल केसीको पनि लगानी छ । श्रीराम महतद्वारा निर्देशित यो चलचित्रमा विजय लामा, सुशील काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का आदि कलाकारले अभिनय गरेका छन् । 

भदौ ९ गते प्रदर्शन हुने चलचित्र ‘झुम्की’ ले पनि दर्शकहरूको मन जित्न सम्भावना छ । थारु समुदायकी युवती झुम्कीलाई मुख्य पात्र बनाइएको यो चलचित्रमा नायिका रिष्मा गुरुङले शीर्षक भूमिका निर्वाह गरेकी छिन् । निर्देशक अपिल विष्टको यो चलचित्रमा रिश्मासँगै मलिना जोशी तथा दयाहाङ राई पनि महत्वपूर्ण भूमिकामा छिन् ।

भदौ १७ गते प्रदर्शनमा आउने निर्मल शर्माद्वारा निर्देशित चलचित्र ‘ब्रासलेट’ मार्फत पुराना अभिनेता रमेश उप्रेती चलचित्रमा पुनरागमन गर्दैछन् । उप्रेतीसँग नायिका रजनी केसीले अनस्क्रिन रोमान्स गरेको यो चलचित्रका निर्माता केशव भट्टराई हुन् । 

छविराज ओझाको चलचित्र ‘किस्मत–२’ दसैंअघि नै प्रदर्शनमा आउनेछ । ऋषि लामिछानेद्वारा निर्देशित यो चलचित्रमा किशोर खतिवडा तथा शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । 

निर्माता रोज राणा निर्देशकका रूपमा पदार्पण गर्न लागेको चलचित्र ‘पर्शुराम’ एक्सन प्रधान हुनेछ । अभिनेता विराज भट्टले लामो समयपछि पुनरागमन गर्न लागेको यो चलचित्रमा भट्टलाई नायिका निशा अधिकारीले साथ दिएकी छिन् । 

अभिनेता राजेश हमालले पहिलो पटक नारी चरित्र निर्वाह गरेको चलचित्र ‘पर्शुराम’ पनि दर्शकको प्रतिक्षाको सूचीमा छ । दिनेश श्रेष्ठद्वारा निर्देशित यो चलचित्र भदौ १० गतेदेखि प्रदर्शनमा आउनेछ । 

‘कबड्डी’ तथा ‘कबड्डी—कबड्डी’ का निर्देशक रामबाबु गुरुङ यो वर्ष चलचित्र ‘पुरानो डुंगा’ मार्फत प्रस्तुत हुँदैछन् । मंसिर १० गते प्रदर्शनमा आउने यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा तथा विश्वास गुरुङले अभिनय गरेका छन् । यो चलचित्रमा फेवातालको किनारमा डुंगा चलाएर परिवार पालिरहेको पात्रको कथा चित्रण गरिएको छ । 

निर्माता सुनिल रावलको पछिल्लो चलचित्र ‘शायद–२’ ले छायांकनमा जानुअघि नै प्रदर्शन मिति तय गरिसकेको छ । मंसिर ३ गते प्रदर्शनमा आउने यो चलचित्रको निर्देशन पुष्पराज न्यौपानेले गरिरहेका छन् । चलचित्रमा सुशील श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की आदि कलाकारले अभिनय गरिरहेका छन् । 

निर्माता अर्जुन कुमारको महत्वाकांक्षी चलचित्र ‘चपली हाइट–२’ व्यवसायिक रूपमा सफल हुने अनुमान गरिएको चलचित्र हो । भदौ २ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रका निर्देशक दीपेन्द्र के खनाल हुन् । चलचित्रमा आयुष्मान देसराज जोशी, मरिष्का पोखरेल तथा परमिता राणाले मुख्य भूमिका निर्वाह गरेका छन् । सस्पेन्स थ्रिलर शैलीको यो चलचित्रको छायांकन हालै सम्पन्न भएको छ । 

हङकङ तथा बेलायतमा गरिएको प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्र ‘वीर विक्रम’ नेपालमा भदौ ३ गतेदेखि प्रदर्शनमा आउनेछ । मिलन चाम्सद्वारा निर्देशित यो चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, दीया पुन आदि कलाकारले अभिनय गरेका छन् । 

चलचित्र ‘रोल्पा रोग’ फरक विषयमा आधारित छ । दसैंअघि नै प्रदर्शनमा आउने यो चलचित्रका निर्देशक दीपक वली हुन् । चलचित्रमा ग्रामिण भेगमा बस्ने युवाहरूको जीवन भोगाई र संघर्षको कथा प्रस्तुत गरिएको छ जसमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, सुशील पोखरेल, विनु खड्का आदि कलाकारले अभिनय गरेका छन् । 

अभिनेता निखिल उप्रेती तथा सौगात मल्ललाई चलचित्र ‘संरक्षण’ मा पहिलो पटकसँगै देख्न पाइनेछ । चलचित्र संरक्षणमा निखिल उप्रेतीले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् । अधिकांश छायांकन वीरगन्ज क्षेत्रमा गरिएको यो चलचित्रमा मलिना जोशी तथा अशिष्मा नकर्मीले पनि अभिनय गरेका छन् । 

जेठ २८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लुकामारी’ को पोष्टर सार्वजनिक हुने बित्तिकै दर्शकहरू यो चलचित्रप्रति सकारात्मक देखिएका छन् । पोष्टरमा अभिनेता सौगात मल्ल पृथक गेटअपमा देखिन्छन् । चलचित्र लुकामारीमा रिस्ता बस्नेत, सुरवीना कार्की, कर्मा विक्रम सिंह थारु, वसन्त भट्ट आदि कलाकारले पनि अभिनय गरेका छन् । 

निर्देशक गणेशदेव पाण्डेको चलचित्र ‘गाँजाबाजा’ पनि चर्चामा छ । चलचित्र विकास बोर्डले शीर्षकमा आपत्ति जनाइरहेको यो चलचित्र दर्शकसमक्ष आइपुग्दा शीर्षक परिवर्तन भैसकेको हुने सम्भावना प्रवल छ । चलचित्रमा सुशील सिटौला तथा वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् । यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । सुशील सिटौला तथा सुरजनी केसीले अभिनय गरेको चलचित्र ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ बाट निर्देशक ऋषिराज आचार्य आशावादी छन् ।

हास्य कलाकार शिव शर्माद्वारा निर्देशित चलचित्र ‘उमंग’ दर्शकले रुचाउने सम्भावना छ । बिनिता बराल तथा कुमार बिसीले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । उमंगको प्रदर्शन मिति भने तय भएको छैन । 

सुरज सिंह ठकुरीले अभिनय गर्ने चलचित्र ‘सयपत्री’, निखिल उप्रेतीले अभिनय गर्ने चलचित्र ‘राधे’ तथा ‘निर्भय’, गोपालचन्द्र लामिछानेको चलचित्र ‘लम्फू’ एवं ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘उजेली’ पनि वर्ष २०७३ मै प्रदर्शनमा आउन सक्ने चलचित्र हुन् । 

प्रकाशित :वैशाख ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्