साप्ताहिक संवाददाता
वैशाख १२ र २९ को भूकम्पका कारण करिब साढे दुई महिना राजधानी केन्द्रित सौन्दर्य प्रतियोगिताहरूमा पूर्णविराम नै लाग्यो । त्यसपछि मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीले पनि यो वर्ष सौन्दर्य प्रतियोगिताहरूलाई प्रभावित तुल्यायो । मिस एसएलसी नेपाल, म्यानहन्ट इन्टरनेसनल नेपाल, क्विन्स हेड नेपाल, मिस एसएलसी क्विन, मिस एसएलसी डिभा, मिसेस नेवा:, मिस मारवाडीजस्ता कार्यक्रम यो वर्ष सञ्चालन हुन सकेनन् ।
यो वर्ष मिस नेपाल–२०१५ देखि मिस नेपाल–२०१६ सम्मको अवधिमा करिब ८ दर्जन सौन्दर्य प्रतियोगिता सम्पन्न भए ।
वैशाख ४ गते इभाना मानन्धर मिस नेपाल–२०१५ घोषित भइन् । उक्त प्रतियोगितामा दिव्यता वैद्य फस्ट रनर्सअप तथा मेधा कोइराला सेकेन्ड रनर्सअप भए । वैशाखको पहिलो साता धरानमा मिस पूर्वाञ्चल–२०१६ सम्पन्न भयो जसमा विराटनगरकी प्रियंका श्रेष्ठ विजेता भइन् ।
एसएलसी सौन्दर्य प्रतियोगिताको क्रेज
असार १६ गते सम्पन्न मिस टिन एसएलसी–२०१५ को उपाधि ओजस्वी कोइरालाले जितिन् भने असार १७ गते नेपाल्स मिस एसएलसी अफ द इयर तथा मिस्टर एसएलसी–२०१५ मा क्रमश: सगुन अर्याल एवं अधिराज मल्ल विजेता घोषित भए । असार १८ गते मिस एसएलसी नेसनल–२०१५ मा रुहिना थापामगर तथा मिस्टर एसएलसी नेपाल–२०१५ मा प्रितम श्रेष्ठले सफलता प्राप्त गरे । असार १९ गते सम्पन्न एसएलसी प्रिन्सेस प्रतियोगिताको उपाधि अन्जु भण्डारीले जितिन् भने सोही दिन सम्पन्न मिस एसएलसी–२०१५ मा वर्षा महर्जनले बाजी मारिन् । असार १९ गते नै सम्पन्न मिस एसएलसी आइडल–२०१५ मा गुल श्रेष्ठ विजेता चयन भइन् । असार २३ गते सम्पन्न मिस एसएलसी आइकन–२०१५ मा एलिना श्रेष्ठ विजेता भइन् ।
यसैगरी काठमाडौंबाहिर धरानमा मिस एसएलसी धरान, पोखरामा मिस्टर एन्ड मिस एसएलसी नेपाल–२०१५ मिस एसएलसी पोखरा–२०१५ तथा मिस एलएलसी क्विन पोखरा–२०१५ पनि सम्पन्न गरिए ।
प्लस टु सुन्दरी चयनको पनि लहर
एसएलसी सौन्दर्य प्रतियोगिता लगत्तै काठमाडौंलाई प्लस टु सुन्दरी चयन गर्ने प्रतियोगिताले व्यस्त बनायो । यो लहरमा मिस प्लस टु नेपाल–२०१५, मिस टिन प्लस टु–२०१५, मिस प्लस टु आइकन–२०१५ तथा मिस प्लस टु–२०१५ सञ्चालन भए । जसमा क्रमश: आँचल दवाडी, निक्की थापा, स्नेहा केसी तथा आयुषा मानन्धर विजेता घोषित गरिए ।
मोडल प्रतिस्पर्धा
यो वर्ष मोडल हन्ट नेपाल, मोडल क्वेस्ट इन्टरनेसनल नेपाल, नेपाल्स सुपर मोडल कन्टेस्ट, रनवे मोडल नेपाल, क्लोथ इन भोग, फेस अफ पनासे रनवे, नेपाल्स फेस अफ द इयर, द नेपाल्स टप मोडल, इमेज मेगा मोडल, लिरिल फ्रेस फेसका नामबाट उत्कृष्ट मोडल छान्ने कार्य सम्पन्न भयो । यही क्रममा पोखरामा मेगा मोडल पोखरा र नेपाल्स नेक्स्ट टप मोडल, पूर्वाञ्चलमा पूर्वेली सुपर मोडल प्रतियोगिता सम्पन्न भयो ।
मोडल हन्ट नेपाल–२०१५ मा समीरकुँवर राणा र अनिता नेपाली, मोडल क्वेस्ट इन्टरनेसनल नेपाल–२०१५ मा विक्रम कुमार पाण्डे र निरिशा बस्नेत, नेपाल्स सुपर मोडल कन्टेस्ट–२०१ मा समीक्षा आचार्य, इन्भोग–२०१५ मा आयुष्मान देशराज श्रेष्ठ जोशी र अर्पणा उपाध्याय, रनवे मोडल–२०१५ मा अनिश तामाङ र मोनालिशा पराजुली, द नेपाल्स टप मोडलमा हिना गुरुङ र सागर सिटौला, फेस अफ पनासे रनवेमा रतेन्द्र खाँड, लिरिल फ्रेस फेसमा प्रमिला थापा, ईमेज मेगा मोडलमा अनुज्ञा आर एल चन्द विजेताका रूपमा देखा परे ।
टिन, विवाहित र बालबालिका केन्द्रित प्रतियोगिताहरू
यसैवर्ष टिनएज केन्द्रित प्रतियोगिताहरू मिस टिन–२०१५, मिस टिन कलेज, मिस टिन नेपाल–२०१५ सञ्चालित भए, जसमा क्रमश: अजिना कार्की, कुसुम थापा मगर, धृति केसीले सफलता प्राप्त गरे । वीरगन्जमा मिस टिन पर्सा–२०१५, पोखरामा मिस टिन गण्डकी–२०१५, पूर्वाञ्चल क्षेत्रमा मिस टिन झापा–२०१५ सञ्चालनमा आए ।
यो वर्ष विवाहित महिलाहरूप्रति लक्षित प्रतियोगिताहरू पनि सञ्चालित भए, जसमा मिसेज नेपाल आइकन, मिसेज नेपाल इन्टरनेसनल, मिसेज मंगोल, मिसेज हिमालयन नेपाल तथा मिसेज पोखरा–२०१५ प्रमुख थिए, जसमा क्रमश: पासाङ डोल्मा चापागाईं, सविता लामिछाने, सेम्फुङ्मा लिम्बु, नम्रता राई एवं अप्सरा बस्नेतले सफलता पाएका थिए ।
बालबालिका सम्बन्धित प्रतियोगिताहरूमा भने किड क्विन नेपाल, चाइल्ड आइकन, लिटिल मिस वल्र्ड नेपाल, लिटिल प्रिन्स एन्ड प्रिन्सेस, किड्स आइकन नेपाल, जुनियर स्कूल प्रिन्सेसको पछिल्ला संस्करण आयोजित गरिए ।
जातीय सौन्दर्य प्रतियोगिताहरू
यो वर्ष जातिय सौन्दर्य प्रतियोगिताहरूको संख्यामा केही कमी आयो । यो वर्ष मिस नेवा:, मिस तामाङ, मिस राई, मिस मंगोल तथा मिसेस मंगोलका पछिल्ला संस्करण सम्पन्न भए । यसै वर्ष आदिवासी जनजातिमा केन्द्रित नयाँ प्रतियोगिता मिस इन्डिजिनियस हेरिटेज नेपाल थपियो । पोखरामा मिस नेवा: पोखरा तथा मिस तामाङ पोखरा सञ्चालनमा आयो ।