साप्ताहिक संवाददाता
नेपाली फुटबलले वर्ष ०७२ मा निकै ठूलो उतारचढाव देख्यो । यो धेरै हदसम्म नाटकीय पनि रह्यो, तर वर्षको अन्त्यतिर नेपाली फुटबलमा केही हदसम्म खुसीका दिन पनि फर्किए । नेपाली राष्ट्रिय फुटबल टिमका लागि सुरुका केही महिना राम्रा रहेनन् । मैदानबाहिरका घटनाले नेपाली फुटबल बदनामजस्तै भयो । खेल मिलोमतो प्रकरण तथा एन्फाका तत्कालीन अध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्धले गर्दा यो खेल नकारात्मक चर्चामा रह्यो ।
त्यसमाथि नेपालले मैदानमा पनि राम्रो गर्न सकेन । एसियाली विश्वकप छनोटको पहिलो चरणमा नेपाल भारतसँग निराश हुनुपर्यो । त्यसको केही समयपछि भारतको केरलामा सम्पन्न साफ च्याम्पियनसिपमा पनि नेपालको प्रदर्शन कमजोर रह्यो । नेपालले त्यसमा लिग चरण पनि काट्न सकेन । त्यसमाथि प्रशिक्षक प्याट्रिक ओसेम्स र एन्फाको सम्बन्ध राम्रो हुने सकेन अनि ती बेल्जिमेली प्रशिक्षकले नेपाली फुटबलको चर्को आलोचना गर्दै नेपाल फर्कन मानेनन् ।
त्यस्तो स्थितिमा नेपाल गोलको ठूलो खडेरीबाट गुज्रन बाध्य थियो तर बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता र त्यसमा प्राप्त ऐतिहासिक सफलतापछि भने नेपाली फुटबलको अनुहार नै फेरियो । प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा ढाकामा उत्रिएको नेपाली टिमको सहभागिता सुरुमा औपचारिक जस्तै मात्र थियो तर प्रतियोगितामा नेपालले अविश्वसनीय प्रदर्शन गर्यो र विजेता बन्ने सपना साकार तुल्यायो ।
Sponsored
नेपालले सेमिफाइनलमा माल्दिभ्सको चुनौती पार गरेको थियो । फाइनलमा भने नेपालले बहराइनको यू–२३ टिमलाई हराएको थियो । नेपाली फुटबलका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता सावित भयो । यसअघि नेपालले पाएको सबैभन्दा ठूलो सफलता फुटबलमा सन् १९९३ को दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण जित्नु थियो । यसपटक नेपाल बंगबन्धु गोल्डकपमा दक्षिण एसियाली घेरा तोडेर अघि बढ्न सक्यो ।
फुटबलको यो सफलता भारतमा भएको दक्षिण एसियाली खेलकुदमा पनि कायम रह्यो । नेपालको यू–२३ टिमले फाइनलमा भारतलाई हराएर अर्को ऐतिहासिक स्वर्ण जित्यो । महिला फुटबलमा नेपाल फाइनल पुगे पनि फेरि एकपल्ट रजत पदकमै चित्त बुझाउन बाध्य भयो । यसअघि नेपालले यू–१९ साफ च्याम्पियनसपमा पनि पहिलो स्थान हात पारेको थियो, फाइनलमा भारतलाई नै टाइब्रेकरमा हराएर ।
यसअघि लगातार सफलता हात पारिरहेको क्रिकेटका लागि वर्ष ०७२ सुखद रहेन । नेपालले वल्र्ड ट्वान्टी–२० को छनोट खेलेको थियो र त्यसमा राम्रो गर्न सकेन । दुई वर्षअघि वल्र्ड ट्वान्टी–२० को अन्तिम चरणमा पुगेर सनसनी मच्चाएको नेपाल यसपल्ट छनोट चरण नै पार गर्न सफल भएन । यस्तै वल्र्ड क्रिकेट लिगमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेन । वर्ष ०७२ मा नेपाली क्रिकेटको सबैभन्दा ठूलो सफलता यू–१९ विश्वकपमा छनोट रह्यो ।
यू–१९ मा यही वर्ष नेपालले छनोट चरण पार गरेको थियो र अन्तिम चरणमा पनि लिग समूहको खेलबाट नकआउट चरणको यात्रा तय गर्न सफल भयो । नकआउट चरणमा पुगेका आठ टिममध्ये नेपाल दोस्रो गैरटेस्ट मान्यताप्राप्त टिम थियो । वर्ष ०७२ मा नेपालले १२ औं दक्षिण एसियाली खेलकुदमा पनि आफ्नो चुनौती पेस गरेको थियो र त्यसमा नेपाल कुल ६० पदक जितेर छैटौं स्थानमा रह्यो । त्यस क्रममा नेपालले ३ स्वर्ण, २३ रजत तथा ३४ कांस्य जितेको थियो ।
नेपालका लागि फुटबल बाहेक उसुमा नीमा घर्तीमगर र जुडोमा फुफू ल्हामु क्षेत्रीले स्वर्ण पदक जिते । यद्यपि पदकका आधारमा नेपालको प्रदर्शन कमजोर रह्यो । ठूलो लगानी र ठूलै संख्यामा खेलाडीको सहभागिता भएर पनि नेपालले अपेक्षाअनुरूप पदक जित्न सकेन । यसअघि नेपाल बलियो मानिएको तेक्वान्दोमा पनि नेपालले स्वर्ण जित्न सकेन । यस अर्थमा नेपालका लागि यस पल्टको दक्षिण एसियाली खेलकुद निराशाजनक रह्यो ।