साप्ताहिक संवाददाता
मेनुका प्रधान, अभिनेत्री
म नृत्य गर्न एकदमै रुचाउँछु, यो वर्ष नृत्यको थप अभ्यास गर्छु । संगीत श्रवणमा पनि मेरो उत्तिकै रुचि छ, मन परेको गीत पटक–पटक सुन्छु, त्यसैले यो वर्ष संगीतको भावना बुझ्ने प्रयास गर्छु । एउटा कुनै बाजा बजाउने प्रयास गर्नेछु ।
चलचित्र र रंगकर्मसँग जोडिएकाले यो क्षेत्रमा आफूलाई मनपर्ने काम गर्नेछु । राम्रो प्रस्ताव आए त्यसलाई न्याय गर्न मेहनत गर्नेछु ।
म र एक जना साथी मिलेर चलचित्र निर्माणका निम्ति काभ्रे पिक्चर्स दर्ता गराएका छौं, यो वर्ष उत्कृष्ट चलचित्र निर्माणका निम्ति सबै किसिमको तयारी गर्नेछु ।
कालिप्रसाद बाँस्कोटा,गायक/संगीतकार
आफ्नै एल्बमको काम सकेर यो वर्षभित्रै सार्वजनिक गर्दैछु । मेरो गायन रहने यो सोलो एल्बमका निम्ति पर्याप्त मेहनत गर्नेछु ।
यो वर्ष चलचित्र संगीतलाई कम गर्दै व्यवसायिक रूपमा सांगीतिक टुरमा व्यस्त हुनेछु ।
उत्कृष्ट संगीतकर्मीहरूलाई समेटेर आफ्नै ब्यान्ड निर्माण गर्दैछु ।
Sponsored
कुमार नगरकोटी, साहित्यकार
लेखन कर्मलाई निरन्तरता दिँदै यो वर्ष दुईवटा पुस्तक पाठकमाझ ल्याउनेछु । एउटा उपन्यास ‘ज्ञ’ हुनेछ भने अर्को फिक्सन, ननफिक्सन एन्ड अदर एडिक्सन थिममा ‘घाटमान्डौं’ शीर्षकको पुस्तक छ ।
यो वर्ष एउटा सोलो नाटक लेख्दैछु ।
यो वर्ष एउटा चलचित्रमा अभिनय पनि गर्दैछु । म उक्त चलचित्रको अतिथि लेखक पनि हुँ । निगम श्रेष्ठको निर्देशनमा तयार हुने उक्त चलचित्रमा मेरो क्यारेक्टर अफबिट रहनेछ ।
पुरुषोत्तम बस्नेत, अध्यक्ष एसोसिएसन अफ नेपाल मोबाइल कम्युनिकेसन टेक्नोलोजी
आफ्नो मोबाइल फोनको व्यवसायलाई काठमाडौं, भक्तपुर तथा ललितपुरका अतिरिक्त पोखरा, बुटवल, नारायणगढमा पनि विस्तार गर्दैछु । यसबाहेक संघसंस्थाका जिम्मेवारी पनि सक्रियताका साथ निर्वाह गर्नेछु ।
शारीरिक अभ्यासलाई बढी ध्यान दिँदै शरीरको आकार घटाउन मेहनत गर्नेछु । स्वस्थ रहन हरसम्भव प्रयास गर्नेछु ।
यो वर्ष स्वदेश तथा विदेश भ्रमण गर्ने तथा नयाँ कुरा सिक्नेतर्फ आफूलाई सक्रिय राख्नेछु ।
निरूपा प्रसुन, साहित्यकार
एउटा चर्को उपन्यास लेख्न मन लागेको धेरै भयो । २०७३ सालभरिमा त्यो काम पूरा गर्छु ।
मेरो आय स्थिर छैन । नियमित आम्दानी हुने काम सुरु गर्छु ।
म निरूपा प्रसुन भएर बाँच्न मन पराउने मान्छे । यो निरूपालाई अझै निखारेर बाँच्छु ।
Sponsored
याङ्जोम शेर्पा, कार्यक्रम सञ्चालिका
उद्घोषण मेरो लक्ष्य थिएन, तर यसैले मलाई आम रूपमा चिनायो । त्यसैले यो वर्ष आफ्नो करियरलाई अझै अघि बढाउन धेरैभन्दा धेरै कार्यक्रममा सहभागिता जनाउनेछु ।
म जन्मिएको ताप्लेजुङ जिल्लाको दुर्गम घुन्सा गाउँमा गत वर्ष एउटा अस्थायी स्वास्थ्यचौकी स्थापना गरें, अहिले त्यसको व्यवस्थापनका निम्ति कोष स्थापना गरेर केही सहयोग जुटाएकी छु । यो वर्ष ती सबै सामग्री हेलिकप्टरमार्फत घुन्सामा पुर्याउनेछु ।
अति दुर्गम घुन्साका आर्थिक रूपमा विपन्न एवं अभिभावक गुमाएका बालबालिकालाई काठमाडौं ल्याएर अध्ययन गराउन पहल गरिरहेकी छु । हालसम्म ५ जनालाई आवश्यक कागजपत्र मिलाएर, स्पोन्सर जुटाएकी छु । यो वर्ष थप बालबालिकालाई अध्ययन गराउने वातावरण तयार गर्नेछु ।
राजन खतिवडा, रंगकर्मी
चुरोट पिउने नराम्रो बानी बसेको थियो, तर अहिले धेरै कम गरिसकेको छु । नयाँ वर्षमा चुरोट पिउने बानीलाई सदाका निम्ति त्याग्दैछु ।
काठमाडौंकेन्द्रित नाटक मञ्चन प्रणालीलाई यो वर्ष मुलुकका विभिन्न क्षेत्रमा फैलाउन सक्रिय रहनेछु । नाटकलाई विकेन्द्रीकरण गर्न हामी मुलुकभरका २८ वटा स्थानमा (हरेक अञ्चलमा २ स्थानमा) मोबाइल थिएटरको माध्यमबाट नाटक मन्चन गर्दैछौं ।
यो वर्ष एउटा चलचित्रमा अभिनय गर्नेछु भने एउटा नाटक लेखन तथा निर्देशन गर्नेछु । थिएटरका क्षेत्रमा थप जिम्मेवारी लिन अग्रसर रहनेछु ।
नवीना लामा, अखिल अध्यक्ष
अखिललाई वैचारिक ढंगले गतिशिल तथा सशक्त बनाउनेछु ।
सामुदायिक विद्यालय–कलेजलाई प्रतिस्पर्धात्मक एवं गुणस्तरीय बनाउन अभियान सञ्चालनमा ल्याउनेछु । भूकम्पप्रभावित क्षेत्रका विद्यालय–कलेजको पुनस्र्थापनाका निम्ति अखिलले आर्थिक तथा भौतिक सहयोग जुटाउनेछु ।
आर्थिक वा सामाजिक कारणले कुनै पनि बालबालिका शिक्षाबाट विमुख नहुन भन्ने उद्देश्य लिएर काम गर्नेछु । शैक्षिक प्रमाणपत्रका आधारमा प्लस टु उत्तीर्णलाई ५ लाख, स्नातकलाई ७ लाख तथा स्नातकोत्तर तहलाई १० लाख रुपैयाँ एजुकेसन लोन दिलाउन प्रयास गर्नेछु । वर्ष २०७३ भित्र विवाह पनि गर्नेछु ।