साप्ताहिक संवाददाता
छैठौं संस्करणको ‘चाइल्ड आइकन–२०१६’ को उपाधि सोनाक्षी श्रेष्ठ तथा रेनिशा कार्कीले जितेका छन् ।
राष्ट्रिय नाचघरमा सम्पन्न यो प्रतियोगिताको ग्रान्ड फिनालेमा ओलम्पिया स्कूलकी सोनाक्षीले ‘चाइल्ड आइकन २०१६ जूनियर’ तथा लिटिल एञ्जल्स स्कूलकी रेनिशा कार्कीले ‘चाइल्ड आइकन २०१६—सिनियर’ को उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा डिएभी स्कूलकी आरुषी जलान तथा सरस्वती बोर्डिङ स्कूलकी काजोल अधिकारी जूनियर तथा सिनियरतर्फका फस्ट रनर्स अप भए भने ओलम्पिया स्कूलकै येरुषा सिटौला तथा सोही विद्यालयकी आयुश्री सिंहले सेकेण्ड रनर्सअपको उपाधिमा चित्त बुझाए ।
मिडिया ल्याण्डद्वारा आयोजित यो प्रतियोगिताको कोरियोग्राफी गायिका प्रसंसा श्रेष्ठले गरेकी हुन् । प्रतियोगिताको क्रममा निशा देसार, जुना प्रसाईं, प्रसंसा श्रेष्ठ, रुपक डोटेल आदि गायक–गायिकाले आ–आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा शसस्त्र प्रहरीका डिआईजी शैलेन्द्र खनाल, टेलिभिजनकर्मी संगीता श्रेष्ठ, फेसन डिजाइन मुक्ता श्रेष्ठ, गायक निर्णय श्रेष्ठ, अभिनेता गजित विष्ट, सञ्चारकर्मीद्वय प्रभात रिमाल तथा विदुर खतिवडा, गायिका सविना कार्की, ब्युटिसियन सीता पाठक आदि निर्णायकको रुपमा रहेका थिए ।