साप्ताहिक संवाददाता
नेपाल फेसन सप्ताहको पछिल्लो संस्करणको सफल प्रस्तुतिसँगै वर्ष २०७२ ले बिट मारेको छ । यो वर्षको अन्तिम दिनलाई स्मरणीय बनाउन केही फेसन कार्यक्रम तय भएका छन् ।
गत वैशाखको भूकम्पका कारण वर्ष २०७२ मा फेसन गतिविधि निकै प्रभावित भए । भूकम्पकै कारण नेपाल फेसन सप्ताह–२०१५ को संस्करण सञ्चालन हुन सकेन । असारको अन्ततिर नक्सालस्थित वन्जला मस्काभा रेस्टुराँको खुला परिसरमा ‘द सिरप’ शीर्षकमा फेसन सम्पन्न भयो, जसमा डिजाइनर सिरपा तुलाधरको सिरप लेबल अन्तर्गत तयार गरिएका गाउन तथा समर वेयर रेन्ज, अनलाइन शप वाउ फ्याक्ट्रीका वैवाहिक पहिरन तथा डिजाइनर समा बानुका समर कलेक्सन प्रदर्शन गरिएको थियो ।
त्यसपछि भदौ १२ गते लाजिम्पाटस्थित होटल साँग्रिलामा प्रस्तुत गरिएको द समर काउचर–२०१५ शीर्षकको फेसन शोको पहिलो सिक्वेन्स भूकम्पप्रति समर्पित थियो । उक्त प्रस्तुतिमा मोडलहरूले भूकम्पले निम्त्याएका विपत्ति झल्कने चित्रहरू प्रिन्ट गरिएका पहिरन लगाएका थिए, जसको मुख्य सन्देश थियो– भूकम्पको त्रास र दु:खबाट अघि बढेर शोकलाई शक्तिमा परिवर्तन गर्नुपर्छ ।
भदौको अन्ततिर अन्नपूर्ण होटलमा ‘एन्जल्स अन द फ्लोर’ शीर्षकमा फेसन कार्यक्रम सम्पन्न भयो । उक्त फेसन शोमा समर कलेक्सन, लेहेंगा कलेक्सन, सारी सिक्वेन्स तथा इभिनिङ गाउनको सिक्वन्स प्रस्तुत गरिएको थियो । लेहेंगा तथा इभिनिङ गाउन कायरा बुटिक, साडी हिर्नी बुटिक तथा समर कलेक्सन भने सलिनाज कलेक्सनले प्रस्तुत गरेको थियो । असोजमा रनवे टेम्टेसन–टु शीर्षकको फेसन शो सम्पन्न भयो । वन्डर इम्पोरियम इभेन्ट्सले आयोजना गरेको यो फेसन शोमा स्टाइल, फेसन र ग्ल्यामर झल्काउने अनेकन शैली प्रस्तुत भए ।
माघमा कायरा बुटिक रनवे फेसन तताउन सफल भयो । सिटी सेन्टरस्थित कायरा बुटिकले चौथो पटक कायरा रनवे–४ शीर्षकमा सीटी सेन्टरकै भुँईतलामा ओपन शो प्रस्तुत गर्यो । डिजाइनर रोजिना श्रेष्ठले तयार पारेका विभिन्न फेसन शैलीलाई व्यवसायिक मोडलहरूका साथै अभिनेत्रीहरू नीता ढुंगाना, वेनिशा हमाल, वर्षा शिवाकोटी, अनु शाह, स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ, सुरविना कार्की, वर्षा राउत तथा सम्पदा बानियाँले प्रस्तुत गरेका थिए ।
वर्ष २०७२ को सेरोफेरोमा सम्पन्न फेसन कार्यक्रममा र्याडिसन होटलको प्रेक्षालयमा सम्पन्न एन भोग–२०१५ पनि उल्लेख्य रह्यो । क्याजुयल, फर्मल, इभिनिङ गाउनसहितको पहिरनमा पुरुष तथा महिला मोडलहरूले आकर्षक प्रस्तुति दिएका थिए । यसैगरी मोनार्क इभेन्ट्सले लैनचौरस्थित द मल्ल होटलमा प्रस्तुत गरेको फ्रोजन एन्जल्स नामक फेसन कार्यक्रम पनि पहिरन प्रदर्शनीका दृष्टिले दर्शनीय रह्यो । वर्षको उत्तराद्र्धतिर सम्पन्न ब्लेन्डर्स प्राइड स्टाइल्स नाइट पनि अविस्मरणीय रह्यो, जसमा तेन्जिङ छितेन भुटिया, युवी थापा, रस्ना महर्जन आदि डिजाइनरका पहिरन प्रदर्शन गरिएका थिए ।
पोखराको लेकसाइडस्थित अतिथि रिसोर्ट परिसरमा पुसमा द शो सिजन–टु शीर्षकको फेसन शोमा सेलिब्रेटीहरूको बाहुल्यता रह्यो । मिरर ग्रुपले आयोजना गरेको उक्त फेसन कार्यक्रममा पूर्व मिस नेपालद्वय मलिना जोशी, सृष्टि श्रेष्ठ, किङ फिसर क्यालेन्डर मोडल–२०१४ की सुपर मोडल आस्था पोखरेल, अभिनेत्री माला लिम्बू, अभिनेत्री एवं भलिबल खिलाडी सिपोरा गुरुङ, पूर्व मिस नेपाल अर्थ नगमा श्रेष्ठजस्ता चिरपरिचित अनुहारले र्याम्पको शोभा बढाएका थिए । उक्त फेसन शोमा डिजाइनरहरू अमित बराल, मनिश राई, सोनु श्रेष्ठ तथा खुश्बु राणाका सिर्जनाले स्थान पाएका थिए ।
अन्तर्राष्ट्रिय रनवेमा नेपाली सिर्जना
अगस्टमा सिड्नीस्थित एसएमसी कन्फरेन्स एण्ड फङ्सन सेन्टरमा सम्पन्न फेसनमाण्डू शीर्षकको कार्यक्रममा नेपाली डिजाइनरहरू अमित बराल र विश्व गौतम तथा जय हो इन् स्टाइलले आफ्ना पछिल्ला कलेक्सनलाई अन्तर्राष्ट्रिय रनवेमा उतारे । उक्त फेसन कार्यक्रममा नेपालको आर.बी. डायमन्ड ज्वलेर्स गेस्ट ज्वलेरी डिजाइनर थियो । नेपाली डिजाइनर तथा नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले केगरिरा डटकमले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
फेब्रुअरीको मध्यतिर न्युयोर्कको टाइम्स स्क्वाएर म्यानहाटनस्थित क्राउन प्लाजामा सम्पन्न २३ औं संस्करणको कुचर फेसन विकअन्तर्गत नेपालीपन झल्कने पहिरनले रनवेमा आफ्नो उपस्थिति जनायो । उक्त अवसरमा नेपाली दौरा–सुरुवाल र नेपाली ढाका टोपीमा सजिएका नेपाली मोडल दीपक घिमिरेसँगै करिब एक दर्जन विदेशी मोडलले नेपालको कला, संस्कृति एवं पर्यटन प्रवद्र्धनमा सहयोग हुने गरी नेपाली कपडाबाट तयार पारिएका पहिरनहरू प्रदर्शन गरे । ती पहिरन राइजिङ इन्टरनेसनल कम्पनीले तयार पारेको थियो । यसैगरी यो वर्ष युरो नेपाली ब्रान्ड फिरिरी, युरोपाले स्पेनको बार्सिलोनामा भूकम्पपीडित नेपालीहरूका लागि सहयोग संकलन गर्ने उद्देश्यले फेसन शो सम्पन्न गर्यो । उक्त फेसन शोमा स्पेनिस फेसन डिजाइन मार रोड्रिग्वेजले तयार गरेका नेपाली कला एवं संस्कृतिबाट अभिप्रेरित पहिरनलाई बोहेमियन चिक शैलीमा प्रस्तुत गरिएको थियो ।
वर्ष २०७२ मै नेपालका स्थापित फेसन डिजाइनर राजेश धाख्वाले न्युयोर्क फेसन सप्ताहमा सेलिब्रेटी भए । न्युयोर्क फेसन सप्ताहमा अमेरिकी मोडलहरूले फेसन डिजाइनर धाख्वाका पहिरन लगाएर क्याटवाक गरे । फेसन शोका क्रममा धाख्वाको आरडी ब्रान्डको प्रारम्भ समेत गरिएको थियो । ‘पूर्व र पश्चिमको मिलन’ भन्ने सन्देशसहित फेसन शोमा सहभागिता जनाएका धाख्वाले तथा आफ्ना पहिरनमा इन्डो–बेस्टर्न फ्युजन शैली प्रस्तुत गरेका थिए ।