वर्षा लेखी, मिस नेपाल इन्टरनेसनल–२०१६
मिस नेपाल इन्टरनेसनल–२०१६ को उपाधि जित्दाको क्षणलाई कसरी सम्झनुहुन्छ ?
मलाई अहिले पनि त्यो क्षण राम्रोसँग अनुभव गर्न पाइनँ भन्ने कुराले ग्लानि भैरहेको छ । वास्तवमा उद्घोषकले मिस नेपाल इन्टरनेसनल विजेताको नाम यति छिटो घोषणा गर्नुभयो कि आफ्नै लागिसमेत विस गर्न भ्याइनँ । हे भगवान...भन्दै थिएँ, मेरै नाम पो घोषणा भयो ।
त्यसैले दुई जना उपाधि विजेताको आँखा रसाउँदा पनि तपाईं भावुक नहुनुभएको हो ?
त्यही भन्नुपर्यो । मिस नेपाल इन्टरनेसनलको उपाधि घोषणा गर्नुअघि केही एक्साइटेड क्षण सिर्जना भएको भए म त्यसका लागि तयार हुन्थें होला ।
उपाधि नै जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?
विश्वस्त नै त थिइनँ, तर एउटा न एउटा उपाधि जित्छु कि भन्ने आशा चाहिँ थियो ।
सेकेन्ड रनर्सअपका रूपमा आफ्नो नाम घोषणा हुँदा मनमा के कुरा खेलिरहेको थियो ?
विजेताका रूपमा मेरो नाम घोषणा भएसँगै म क्राउनका लागि अघि बढ्दा सन् २०१२ की मिस इन्टरनेसनल नेपाल तथा यो वर्षको प्रतियोगिताकी संयोजक शुभेच्क्षा खड्काको अनुहार मात्र आइरहेको थियो ।
तपाईंको आँखा त दर्शकदीर्घामा केन्द्रित थियो त ?
आँखाले त दर्शकदीर्घामा भएका आमा तथा भाइलाई खोजिरहेका थिए, तर विडम्बना मैले उहाँहरूलाई देख्न सकिनँ ।
उपाधि जितेपछिको क्षण कसरी रमाउनुभयो ?
प्रतियोगिता सम्पन्न भएलगत्तै हामी तीन जना अन्तर्वार्ताका लागि नेपाल टेलिभिजन गयौं । त्यता जाने क्रममा समेत हामी तीनै जनालाई हामीले जितेको उपाधि सपनाजस्तो लागिरहेको थियो । अन्तर्वार्ता दिएर होटल फर्किएपछि हामी फोटोसेसनमा केन्द्रित भयौं । सुत्दा रातको २ बजिसकेको थियो ।
आफ्नो प्रतिस्पर्धा हेर्न बुवालाई निम्त्याउनुभएन ?
बुवा (राजकुमार लेखी) समाजसेवी तथा राजनीतिककर्मी भएकाले कामको सिलसिलामा काठमाडौंबाहिर हुनुहुन्थ्यो । उहाँले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्दै मलाई शुभकामना दिनुभयो । मैले सेकेन्ड रनर्सअपको उपाधि जितेपछि आमालाई फोन गरेर बधाई दिनुभएछ ।
बुवा नेता भएकैले भविष्यमा राजनीतिमा आउँछु भन्नुभएको हो ?
अलि–अलि त पारिवारिक पृष्ठभूमिले प्रभाव पारिहाल्छ । म वातावरण विज्ञानकी विद्यार्थी भएका नाताले वातावरणको क्षेत्रमै काम गर्नेछु । वातावरणसम्बन्धी जनचेतना जनाउन राजनीतिमा समेत आउने सम्भावना छ ।
मिस इन्टरनेसनल–२०१६ का लागि कस्तो तयारी गर्ने योजना छ ?
उक्त प्रतियोगिताका लागि कल्चर तथा हेरिटेजको अध्ययन गर्नुपर्ने रहेछ । त्यसको सैद्धान्तिक ज्ञानका लागि अध्ययन थालिसकेकी छु । सम्भवत: जापानमा आयोजना हुने उक्त प्रतियोगिताका लागि केही समयपछि नै तयारी प्रारम्भ गर्नेछु ।
अबका योजना के–के छन् ?
सकेसम्म चाँडो जिम ज्वाइन गर्नेछु । शरीरलाई ‘टोन’ राख्न म नियमित जिम जान्छु ।
कत्तिको फेसनेबल हुनुहुन्छ ?
म फेसनेबल छैन । वास्तवमा म फेसन ट्ेरन्डलाई फलो गर्दिनँ । बजारमा चलिरहेको फेसनभन्दा ठीक उल्टो फेसन गर्ने मेरो सानैदेखिको स्वभाव हो ।
आफूलाई कस्तो स्वभावकी युवती मान्नुहुन्छ ?
म कसैसँग पनि चाँडै घुलमिल हुन सक्दिनँ । कसैसँग चिनजान गर्नै समय लाग्छ तर चिनजान भएपछि चाहिँ सजिलै फ्रेन्ड्ली हुन्छु ।
सुधार्नुपर्ने बानी के छ ?
अलि चाँडै रिसाउँछु । यो बानीचाहिं सुधार्नैपर्ने छ । रिस शान्त पार्न प्राय: पानी पिउँछु, छिटो–छिटो श्वास फेर्छु ।