साप्ताहिक संवाददाता
चिरञ्जीवी भण्डारी, गायक/संगीतकार
केमा व्यस्त हुनुहुन्छ ?
गीतकार शंकर देवका शब्दहरूको एल्बम ‘सान्नानी’ लाई बजारमा ल्याउने तयारी गर्दैछु । यसका मेरो स्वरका तीन तथा संगीतका ६ गीत छन् ।
‘सान्नानी’ को शीर्षक गीत लोकप्रिय भैसकेको हो ?
‘सान्नानी सुन न..’ गीत मैले धेरैवटा कन्सर्टमा गाइसकेको छु । अर्जुन अधिकारीको निर्देशनमा पुष्प खड्का तथा शिल्पा पोखरेलले अभिनय गरेको यो गीतको भिडियो सार्वजनिक भएपछि यसको लोकप्रियता अझ बढ्ने छ ।
आफ्नो संगीतमा क–कसलाई गीत गाउन लगाउनुभएको छ ?
‘सान्नानी’ एल्बमका लागि मेरो संगीत निर्देशनमा प्रमोद खरेल, शिव परियार, मिलन अमात्य, मनीषा पोखरेलजस्ता गायक–गायिकाले स्वर प्रदान गर्नुभएको छ ।
तपाईं आफूलाई गायक भन्न रुचाउनु हुन्छ कि संगीतकार ?
२०६४ सालमा मैले गायनबाटै सांगीतिक यात्रा प्रारम्भ गरेको हुँ । बुटबलको बागेश्वरी संगीत विद्यालयमा सुरेश सेन्चुरीसँग मैले करिव तीन वर्ष गायनकै प्रशिक्षण लिएको थिएँ । गायककै रूपमा मैले बुटबलबाटै पहिलो एकल एल्बम ‘माया–पिरती’ पनि सार्वजनिक गरेको थिएँ । म सानैदेखि राम्रो हार्मोनियम बजाउने भएकाले पहिलो एल्बम सार्वजनिक भएपछि संगीतकारका रूपमा पनि अधि बढें ।
पहिलो एल्बमका कतिवटा गीत श्रोताले मन पराए ?
२०६९ सालमा सार्वजनिक भएको पहिलो एल्बमबाट ‘मैले तिमीलाई’ तथा ‘आऊ माया लाउँ’ गीत लोकप्रिय भएपछि मैले धेरैवटा सहरका कन्सर्टमा सहभागिता जनाएँ ।
गीत गाउन सजिलो कि संगीत भर्न ?
मैले अनुभव गरेको कुरा के हो भने एउटा राम्रो गायकलाई संगीतको पूर्ण ज्ञान हुनैपर्छ । यदि गायकमा संगीतकारको गुण छ भने त्यसले सुनमा सुगन्ध छर्ने काम गर्छ ।
आगामी दिनमा कस्ता गीत तयार पार्ने योजना छ ?
‘रेलीमाइ’ शीर्षकको चलचित्रमार्फत पाश्र्व गायनमा पनि सक्रिय भएको छु । यसका साथै म गुञ्जन स्टुडियोमा समेत गीत–संगीतकै कार्य गरिरहेको छु । भविष्यमा म आफ्नो संगीत तथा स्वरमा अझ उत्कृष्ट गीत–संगीत सिर्जना गर्ने प्रयास गरिरहनेछु ।