आभास अधिकारी (रामप्यारी)
अभिनेत्री तथा निर्मात्री रेखा थापाको चलचित्र ‘रामप्यारी’ मार्फत रजतपटमा आएका अभिनेता हुन्— आभास अधिकारी । नायिका आश्मा डिसीको जोडीका रूपमा प्रस्तुत भएका आभासले अभिनयमा आफ्नो सम्भावना देखाएका छन् । अभिनेत्री थापाकी दिदीका छोरा आभास पारिवारिक सम्बन्धका कारण चलचित्रमा आए पनि अभिनयमा क्षमता देखाए यो क्षेत्रमा स्थापित हुन सक्ने कुरामा कुनै शंका छैन । आफ्नो पहिलो चलचित्र प्रदर्शन हुनुअघि नै आभासलाई निर्देशक सुनिल पोखरेलले ‘मिड समर नाइट्स सपना’ शीर्षकको नाटकमा अभिनय गराइसकेका छन् । रंगकर्मी सुनिलका विद्यार्थी आभासले उक्त नाटकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए ।
पल शाह, वर्षा राउत तथा आँचल शर्मा (नाइँ नभन्नु ल–४)
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मनमा बसिसकेका कलाकार हुन्— पल शाह । चलचित्र ‘नाइँ नभन्नु ल–४’ बाट उनले चलचित्रमा पदार्पण गरे । लामो समयदेखि चलचित्रमा आउने इच्छा व्यक्त गरे पनि उपयुक्त अवसर नपाएका पललाई निर्देशक विकास आचार्यले मौका दिएका हुन् । चलचित्रमा उनी वर्षा राउत तथा आँचल शर्माको जोडीका रूपमा प्रस्तुत भएका छन् । पहिलो चलचित्रमै सशक्त भूमिका निर्वाह गर्ने अवसर पाएका पललाई अब अन्य चलचित्रमा समेत देख्न पाइनेछ ।
सुन्दर मुहारकी धनी कलाकार हुन्— वर्षा राउत । वर्षाले पनि म्युजिक भिडियोमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । दर्जनौं म्युजिक भिडियो तथा थुप्रै विज्ञापनमा अभिनय गरिसकेकी वर्षाले चलचित्र ‘नाइँ नभन्नु ल–४’ मा अभिनेता पल शाहसँग रोमान्स गरेकी छिन् । त्यसो त यसअघि पनि पल र वर्षाको जोडीलाई थुप्रै म्युजिक भिडियोमा देखिइसकिएको छ ।
एउटा सौन्दर्य प्रतियोगितामा विजयी भएपछि पत्रपत्रिकामा आँचल शर्माका तस्बिरहरू प्रकाशित भए । जतिबेला आँचलका तस्बिर पत्रपत्रिकामा प्रकाशित भैरहेका थिए, निर्देशक विकास आचार्य चलचित्र ‘नाइँ नभन्नु ल–४’ का लागि नयाँ अनुहारको खोजीमा थिए । आँचलमा विकासले आफ्नो चलचित्रको नायिकाको अनुहार पाए । फलस्वरूप शर्माले यही वर्ष चलचित्रमा डेब्यु गर्ने अवसर प्राप्त गरिन् ।
साम्राज्ञी राज्य लक्ष्मी शाह (ड्रिम्स)
पहिलो चलचित्रबाटै स्थापित हुने निकै कम कलाकारमा साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम पनि समावेश भएको छ । भुवन केसीको चलचित्र ‘ड्रिम्स’ मार्फत पदार्पण गर्ने यी अभिनेत्रीले पहिलो प्रयासमै दर्शकहरूको मन जितेकी छिन् । अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेकी साम्राज्ञीको अभिनय उत्कृष्ट रहेको यो चलचित्र हेर्ने हरेक दर्शकको प्रतिक्रिया छ । अनमोलको क्रेजका कारण चलचित्रले प्रसस्त दर्शक पाए पनि चलचित्र हेरिसकेपछि दर्शकहरू साम्राज्ञीको प्रसंसक भएर फर्किएका उदाहरणसमेत भेटिए ।
आमेश भण्डारी (फूलैफूलको मौसम तिमीलाई)
निर्देशक दिनेश डिसीको महत्वाकांक्षी चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ मार्फत रजतपटमा आएका अभिनेता हुन्— आमेश भण्डारी । त्यसो त आमेशले यो चलचित्रभन्दा अघि अर्को एउटा चलचित्रमा पनि अभिनय गरेका थिए तर उक्त चलचित्र हालसम्म प्रदर्शनमा नआएकाले ‘फूलै फूलको मौसम तिमीलाई’ लाई नै उनी आफ्नो पहिलो चलचित्र मान्छन् । वास्तविक जीवनकी प्रेमिका तथा नायिका नीता ढुंगानासँग अनस्क्रिन रोमान्स गरेका आमेशले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेका छन्, तर ‘ड्रिम्स’ सँगको प्रतिस्पर्धाले आमेश र नीताको अभिनय अनि चलचित्रको व्यवसायमा नकारात्मक प्रभाव पर्यो । उनीहरूले अभिनय गरेको चलचित्र व्यवसायिक रुपमा असफल भयो ।
सुशील श्रेष्ठ, शशि श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल, सुशील सिटौला, नाजिर हुसैन (होस्टल रिटन्र्स)
सुनिल रावलको चलचित्र ‘होस्टल रिटन्र्स’ बाट अभिनेताका रूपमा पदार्पण गर्ने कलाकार हुन्— सुशील क्षेत्र । आकर्षक व्यक्तित्वका धनी सुशील मोडलिङबाट चलचित्र क्षेत्रमा आएका हुन् । मोडलिङमा सक्रिय रहेकै बेला अडिसनमार्फत चलचित्र अभिनेता बन्न सफल सुशीललाई निर्माता रावलले आगामी चलचित्र ‘शायद–२’ मा समेत अनुबन्ध गरिसकेका छन् ।
अभिनय तथा चलचित्रभन्दा निकै टाढा रहेकी शशी श्रेष्ठ पनि वर्ष २०७२ मै नायिकाका रुपमा दर्शकमाझ आउने कलाकार हुन् । उनलाई पनि निर्माता सुनिल रावलले चलचित्र ‘होस्टल रिटन्र्स’ मार्फत नै रजटपटमा भित्राएका हुन् । व्यवसायिक रूपमा सफल यो चलचित्रमा शशिको अभिनयले दर्शकहरूलाई प्रभावित तुल्याएको थियो ।
म्युजिक भिडियोमा सक्रिय भैरहेका बेला चलचित्र नायिका बनेकी हुन्— स्वस्तिमा खड््का । ‘होस्टल रिर्टन्स’ मार्फत रजतपटमा उदाएकी स्वस्तिमाले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी छिन् । यसै वर्ष निर्देशक निश्चल बस्नेतसंग वैवाहिक जीवन प्रारम्भ गरेकी स्वस्तिमालाई भविष्यमा फेरि नायिकाका रूपमा देख्न पाइने आशा गर्न सकिन्छ ।
रंगमञ्चका प्रतिभाशाली कलाकार हुन्— अभय बराल । अभयले यो वर्ष चलचित्रमा पनि काम गर्ने अवसर पाए । ‘होस्टल रिटन्र्स’ का चार जना अभिनेतामध्ये उनी पनि एक हुन् । यही चलचित्रमार्फत नाजिर हुसैन तथा सुशील सिटौला पनि अभिनेताका रूपमा चलचित्रमा आउन सफल भए । यी दुवै कलाकार पनि रंगमञ्चबाट चलचित्रमा आएका हुन् ।
मन्जिता केसी (च्याम्पियन)
लोकदोहोरी गीतका म्युजिक भिडियो हेर्ने दर्शकहरूका लागि मन्जिता केसी नौलोअनुहार होइन । चलचित्रमा भने उनले यही वर्ष प्रदर्शनमा आएको ‘च्याम्पियन’ लाई रोजिन् । बीबी फुयाँलद्वारा निर्देशित नेपाली क्रिकेटसँग सम्बन्धित यो पहिलो चलचित्रमा मन्जिताले अभिनेता दिक्पाल कार्कीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।
जान्बी बोहरा/सुरजनी केसी (सपना तिम्रो मेरो)
निर्देशक ऋषिराज आचार्य एकसाथ दुई नायिकालाई चलचित्रमा पदार्पण गराउन सफल भए, चलचित्र ‘तिम्रो मेरो सपना’ मार्फत । वैशाख १२ को भूकम्पपछि प्रदर्शन हुने यो पहिलो चलचित्रले औसत व्यवसाय गर्यो । यो चलचित्रबाट जान्बी बोहरा तथा सुरजनी केसी नायिकाका रूपमा दर्शकमाझ आए । जान्बीले यसअघि थुप्रै टेलिश्रृंखला तथा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । सुरजनी भने भिडियो जक्की हुन् । सुरजनीले पहिलो चलचित्रको कुशल अभिनयपछि थप केही चलचित्रमा काम गर्ने अवसर पाइसकेकी छिन् ।
प्रदीप बास्तोला (अधकट्टी)
‘तिम्रो फिगर कोकाकोला...’ गीतको लोकप्रियताले यदि कसैलाई फाइदा भएको छ भने ती हुन् अभिनेता प्रदीप बास्तोला । कुशल संगीतकर्मीका रूपमा स्थापित भैसकेका प्रदीपलाई सञ्चारकर्मी सुव्रत आचार्यले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘अधकट्टी’ मार्फत पदार्पण गराएका हुन् । चलचित्रमा प्रदीपले नायिका अशिष्मा नकर्मीसँग अनस्क्रिन रोमान्स गरेका छन् । औसत व्यवसाय गरेको यो चलचित्रपछि प्रदीपले दोस्रो चलचित्रमा मौका त पाएका छैनन् तर म्युजिक भिडियोसहित संगीतकर्ममा उनको व्यस्तता घटेको छैन ।