आँधी आउँछ
पानी आउँछ
हाम्रो त जसोतसो चल्छ
कंक्रिटको घर छ
ढलानको छानो छ
जाडो हुँदा ओढ्ने सिरक छ
आङ ढाक्नलाई रोजी–रोजी कपडा पनि छ
बत्ती नहुँदा मैनबत्तीले पनि चलेकै छ
खाना पकाउनलाई जसोतसो ग्याँस छ
बोराभरि चामल छ
नजिकै तरकारी पसल पनि छ
लाइटर प्याट्ट बाल्यो, खाना सजिलै पाक्छ
जीवन चलेकै छ ।
सुन्यौ !!! एउटा भूकम्पले खाएको गाउँ पनि छ
टहरो र पालैपालको घर छ
भोकभन्दा बढी
पानी र आँधीले तर्साउने हजारौं मनहरू छन्
आशैआशमा सास फेर्ने मान्छेहरू छन्
न घर छ
न बलियो टहरो छ
न त पालको कुनै भर छ
आँधीले च्यात्छ, पानीले भिजाउँछ
पानीले भन्दा पहिरोले झस्काउँछ
बिरामी हुँदा न सिटामोल छ, न जीवनजल
विडम्बना पोसिलो आहार भन्या
चाउचाउको झोल छ
आफ्नो केही छैन,
जे छ छरप्रस्ट सम्झनाको अंश मात्र बाँकी छ
आँधीको वेगभन्दा,
दु:खको वेगले आत्तिएका मनहरू छन् ।
ए !!! सरकार तिमी मौन नबस केही गर
तिमीले खाने भातको हरेक सितामा
अलिकति हिलो छ
किसानको पसिना छ, सपना छ
त्योभन्दा पनि ठूलो कुरा
हजारौं जनताको आशा छ
आशा नमार है ।