साप्ताहिक संवाददाता
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित मैदानको पर्खाल गत वर्षको भूकम्पले ढालेको थियो । अहिले त्यहाँ व्यवस्थित पर्खाल, एउटा बिल्डिङ र टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने भवन निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले धेरैपल्ट अवलोकन गरेपछि विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल नेपालले आयोजना गर्ने अवसर पाएको थियो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नामिबियाको पहिलो खेल थियो शनिबार, तर अघिल्लो दिन साँझ नै त्यसको टिकट बिक्री बन्द गरिएको थियो । खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न १० हजार मात्र टिकट बेचिएको थियो । यद्यपि रूख चढेका, पर्खालबाहिर उभिएका र विश्वविद्यालयका भवनहरूको छतबाट खेद हेर्ने ५ हजारभन्दा बढी दर्शक पनि पहिलो इनिङ्सको समाप्तिपछि खेल हेर्न मैदान भित्रै प्रवेश गरेका थिए । सोमबार भएको दोस्रो खेलमा पनि दर्शकको भीड उस्तै थियो ।
दर्शकहरूले ‘वि निड विकेट (विकेट चाहियो), पारस खड्का, छक्का पड्का’ भन्दै नेपाली खेलाडीहरूलाई उत्साहित गरिरहेका थिए । नेपाली दर्शकको भीड देखेर नामिबियाका कप्तान स्टेफन बार्ड त आश्चर्यमै परे । ‘यति दर्शकबीच खेल्ने विश्वास नै लागेको थिएन,’ उनले भने, ‘नेपाली दर्शक, वातावरण साह्रै राम्रो, जुन मैले कल्पनासम्म गरेको थिइनँ । यसमा रमाइलो गर्दै खेल्यौं ।’
तीन वर्षपछि नेपालमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दर्शकले चाहेजस्तै नेपाली राष्ट्रिय टिमले जित हासिल गर्यो । जितपछि नेपाली टिमले खुसीयालीमा मैदानमै काँधमा काँध मिलाएर ‘रातो र चन्द्र सूर्य’ गाएको थियो, जसका लागि ल्यापटपबाट गीत बजाइएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को विवाद यथावत् रहँदा नेपाललाई आईसीसीबाट आउने करोडौं सहयोग रोकिएको छ । विवाद अझ चर्किंदै गएको छ । नेपालको घरेलु क्रिकेट शून्यको स्थितिमा छ । यस्तो परिस्थितिमा पनि राष्ट्रिय टिमले राम्रो प्रदर्शन गर्नुलाई विशेष त मानिएकै छ, घण्टौं लाइनमा बसेर कीर्तिपुर मैदान परिसरमा प्रवेश गरी खेलाडीहरूको हौसला बढाउने दर्शक पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
नेपालले यहाँको क्रिकेट क्रेजलाई बजारीकरण गर्न नसकेको जानकारहरू बताउँछन् । क्रिकेटलाई व्यवसायिक बनाउने पहिलो खुड्किलो पनि बजारीकरण नै हो । क्यान विवाद सुल्झाउनु र क्रिकेटलाई व्यवसायिक बनाउनुनै नेपाली क्रिकेटको बृहत्तर विकासमा सबैभन्दा महत्वपूर्ण हुनेछ ।