७८ वर्षको उमेरमा पनि अभिनयमा सक्रिय कलाकार हुन्– पदमप्रसाद पौडेल । लामो समय शिक्षण तथा पत्रकारिता पेसामा आबद्ध भएपछि उनी कलाकारिता क्षेत्रमा आएका हुन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका दर्जनौं टेलिश्रृंखलामा अभिनय गरेका पदमप्रसाद दर्शक तथा कलाकारमाझ समेत ‘पदम बा’ को उपनामले लोकप्रिय छन् ।
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ मा अभिनय गर्दै दर्शकमाझ आएका पदमप्रसाद आफूलाई कलाकारका रूपमा पहिचान दिने पुराना हास्य कलाकार सन्तोष पन्तप्रति आभारी छन् । आफूलाई ‘पदम बा’ का रूपमा सम्बोधन गर्न रुचाउने पौडेलले हालसम्म यात्रा जिन्दगीको, जानकी, भद्रगोल, तीतो सत्य, जीरे खुर्सानी, मेरी बास्सै आदि टेलिश्रृंखलामा अभिनय गरिसकेका छन् ।
यही वैशाख महिनादेखि प्रसारणमा आउने ‘अन्धविश्वासको चक्रव्युह’ पदम बाले अभिनय गरेको हालसम्मको अन्तिम टेलिश्रृंखला हो । थुप्रै विज्ञापन तथा म्युजिक भिडियोहरूमा समेत अभिनय गरिसकेका पदम बा नेपाली चलचित्रमा पनि उत्तिकै सक्रिय छन् । शिव रेग्मीको चलचित्र ‘हामी तीन भाइ’ मार्फत चलचित्र यात्रा प्रारम्भ गरेका पदम बाले यो अवधिमा राजु राजाराम, मृत्युञ्जय, चोर सिपाही, धुम, जीवन मृत्यु, मुग्लान, किताब आदि चलचित्रमा अभिनय गरिसकेका छन् ।
‘लै बरी लै’ उनले अभिनय गरेको पछिल्लो चलचित्र हो । ७ जना छोरा–छोरी तथा १४ जना नाति–नातिना भएका पदम बा अभिनयबाट फुर्सद पाएको बेला आफ्नै बेकरी उद्योगमा सक्रिय हुन्छन् । चलचित्र तथा टेलिश्रृंखलामा हास्य कलाकारदेखि चरित्र अभिनेतासम्मको भूमिका निर्वाह गरिसकेका पदम बासँग साप्ताहिकको तीन प्रश्न :
तपाईंको स्वास्थ अवस्था कस्तो छ ?
म आजका मितिसम्म तन्दुरुस्त छु । दुई वर्षअघि देखिएको सुगर पनि अहिले नियन्त्रण भएको छ ।
अझै कति वर्ष अभिनयमा सक्रिय रहने योजना छ ?
भर्खरै ७८ वर्षको भएँ । अझै हट्टा–कट्टा छु । स्वास्थ्यले साथ दिउन्जेल र निर्देशकहरूले पत्याउन्जेल अभिनयमा सक्रिय रहनेछु ।
तपाईंलाई त ‘झिल्के बुढा’ पनि भनिँदो रहेछ नि ?
भर्खरै मात्र चलचित्र ‘लै बरी लै’ मा झिल्के बुढाको अभिनय गरेपछि मलाई अचेल धेरैले यही नामले बोलाउँछन् । यो उमेरमा पनि झिल्के बा भनेको सुन्दा रमाइलो लागिरहेको छ ।