साप्ताहिक संवाददाता
भूकम्पमा भाग्यवश बाँच्न सफल व्यक्तिहरूको भाग्य कस्तो हुन्छ, त्यो भविष्यको गर्भमा छ तर यिनै व्यक्तिहरूको कथामा बनेको डकुमेन्ट्रीले भने एक वर्ष नपुग्दै सबैभन्दा बढी एवार्ड जितेको छ । पत्रकार गणेश पाण्डेको लेखन एवं निर्देशनको ‘भाग्यले बाँचेकाहरू’ ले वर्षभर नै राष्ट्रिय–अन्तर्राष्ट्रिय एवार्ड जितेर सबैलाई आश्चर्यचकित तुल्याइदियो ।
गएको साता बेलायतको स्कटल्यान्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा भाग्यले बाँचेकाहरूले उत्कृष्ट डकुमेन्ट्री एवार्ड जित्यो । नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा स्कटल्यान्डमा सम्पन्न चलचित्र महोत्सवमा भाग्यमा बाँचेकाहरूले उक्त एवार्ड जितेको हो । नेपालका तर्फबाट प्रतिस्पर्धी अन्य डकुमेन्ट्रीमा सबिन बास्तोला निर्देशित ‘सुनपानी’ले ‘उत्कृष्ट फिचर फिल्म’, कमल भट्ट निर्देशित ‘चोख्यानी’ले ‘उत्कृष्ट सर्ट मुभि एवार्ड’ जितेका थिए ।
‘भाग्यले बाँचेकाहरू’ ले यसअघि काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री तथा पब्लिक च्वाइस एवार्ड गरी एकसाथ दुईवटा एवार्ड जितेको थियो । त्यसैगरी भारतको राजधानी नयाँ दिल्लीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सव र मुम्बइको नासिकमा भएको नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि यसले उत्कृष्ट एवार्ड जितेको थियो ।
सन् २०१६ मा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामध्ये यसले ३२ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भैसकेको छ । नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीको प्रतिनिधिमुलक घटनालाई समेटेर यो डकुमेन्ट्री तयार पारिएको थियो, जसको लम्बाइ ४५ मिनेट छ ।
भाग्यले बाँचेकाहरू को ट्रेलर