सिंगल ट्रयाकमार्फत श्रोतामाझ आउनेछु

- साप्ताहिक संवाददाता

वैशाख १६, २०७३

 परशुराम रिजाल, गायक/संगीतकार

सांगीतिक व्यस्तता कस्तो छ ? 

पहिलो एकल एल्बम ‘काव्य’ बजारमा आएपछि सांगीतिक व्यस्तता बढेको छ । स्वदेशका सांगीतिक कार्यक्रमसहित विदेशमा पुगेर समेत आफ्ना गीत–संगीत प्रस्तुत गरिरहेको छु । यसबाहेक भरखरै मात्र ‘काठै खायो धमिराले..’ गीत सिंगल ट्रयाकका रूपमा सार्वजनिक गरेको छु । 

‘काव्य’का गीत कत्तिको लोकप्रिय भए ? 

एल्बमका पाँचवटै गीतमा उत्तिकै मेहनत गरेको छु । श्रोताले दुईवटा गीत अत्यन्त मन पराउनुभयो । ‘बरु मैं मरौँला प्रिय...’ तथा ‘आगो सल्काई...’ गीतले मलाई गायकका रूपमा स्थापित नै गरायो भन्दा फरक पर्दैन । 

बरु मैं मरौंलाको म्युजिक भिडियो कत्तिको रुचाइयो ? 

अर्जुन अधिकारीको निर्देशनको यो भिडियो युट्युबमा मात्र डेढ लाखभन्दा बढी पटक हेरिएको छ । इमेज एवार्डका लागि मनोनीतसमेत भएको यो भिडियोमा शिल्पा पोखरेल तथा जीवन भट्टराईले अभिनय गरेका छन् । 

सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ? 

२०५६ सालमा संगीतकार भानुभक्त ढकालसंग संगीतको औपचारिक प्रशिक्षण थालेदेखि नै संगीतमा सक्रिय हुन थालेको हुँ । त्यसपछि संगीतकार चण्डीप्रसाद काफ्लेसँग पनि संगीतको प्रशिक्षण लिएँ । २०६० सालदेखि भाइब्स क्रिएसनका रूपमा संगीत कम्पनी स्थापित गरेपछि यो क्षेत्रबाट टाढा जान सकिनँ । 

गायनमा राम्रो प्रतिभा हुँदा–हुँदै बीचमा केही वर्ष गीत गाउनुभएन नि ? 

संगीत कम्पनीलाई स्थापित गर्ने क्रममा केही वर्ष गायनबाट टाढा भएको थिएँ । गत वर्षदेखि पुन: गायनमा सक्रिय भएको छु । अब दुबै विधामा उत्तिकै सक्रिय रहनेछु । 

अबको योजना के छ ? 

वर्षमा दुई–तीनवटा सिंगल ट्रयाकमार्फत श्रोतामाझ आइरहनेछु । 

एल्बमको बिक्री घटे पनि एल्बमहरू सार्वजनिक भैरहनुको कारण के हो ? 

एल्बम बिक्री नहुँदाको पीडा संगीत व्यवसायीको नाताले मलाई भन्दा बढी कसलाई थाहा होला ? यति हुँदा–हुँदै पनि एल्बमलाई कृतिका रूपमा सार्वजनिक गर्ने क्रम बढ्दो छ । त्यसबाहेक वैदेशिक रोजगारीमा गएका स्रष्टाहरूका कारण पनि एल्बम आउने क्रम नरोकिएको हो । संगीतको बजार जोगाइराख्न समेत गीति एल्बम सार्वजनिक भैरहनुपर्छ । 

प्रकाशित :वैशाख १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्