साप्ताहिक संवाददाता
विगत १२ वर्षदेखि हङकङमा कार्यरत हेयर स्टाइलिस्ट सञ्जय आङबुहाङसँग देशविदेशमा चलेको हेयर स्टाइलका बारेमा राम्रो हेक्का छ । अब उनी नेपालमै आफ्नो सेवा उपलब्ध गराउने तरखरमा छन् । नेपाली युवा–युवतीहरूको हेयर स्टाइलका बारेमा आङबुहाङसँग गरिएको कुराकानी :
हेयर स्टाइलका लागि के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?
हरेक व्यक्तिले आफ्नो हेयर स्टाइल आफ्नो पेसाअनुकूल बनाउनुपर्छ । हेयर स्टाइल अनगिन्ती हुन सक्छन्, तर आफ्नो पेसा तथा दैनिकी हेरेर केश विन्यास गर्दा आफूलाई आकर्षक देखाउन सकिन्छ ।
कस्तो अनुहारका लागि कस्तो हेयर स्टाइल सुहाउँछ ?
मंगोलियन अनुहार हुनेहरूका लागि फोरलक अर्थात् कोरियन स्टाइल उपयुक्त हुन सक्छ भने आर्यन अनुहारमा निधार छोप्ने हेयर स्टाइल आकर्षक देखिन्छ ।
अहिले चलेका हेयर स्टाइल कुन–कुन हुन् ?
नेपालमा एउटा स्टाइल भित्रिँदा नभित्रिँदै अन्यत्र त्यो फेसनबाट हराइसकेको हुन्छ । हेयर स्टाइलको अवधारणा र कट दैनिकजसो परिवर्तन भैरहन्छ । अहिले चलेको हेयर स्टाइल कोरियन नै हो । यो स्टाइल जापानबाट प्रारम्भ भएको हो, तर कोरियामा यसको अत्याधिक प्रयोग हुँदा यसले कोरियन स्टाइलको नाम पायो ।
नेपालीहरू आफ्नो हेयर स्टाइलप्रति कति सचेत छन् ?
साच्चै भन्नुपर्दा कतिपय नेपालीलाई आफूलाई सुहाउँदो हेयर स्टाइलका बारेमा राम्रो जानकारी छैन । हेयर स्टाइलिस्टहरू पनि त्यति दक्ष छन् जस्तो लाग्दैन । ३ महिने प्रशिक्षणका भरमा आफूलाई हेयर स्टाइलिस्ट भन्नेहरूको जमात ठूलो छ । यो सिर्जनशील व्यवसाय हो, यसमा संलग्न हुने व्यक्ति हेयर स्टाइलका सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा निरन्तर अपडेट भैरहनुपर्छ ।
अब नेपालमै बस्ने ?
मैले अहिलेसम्म विदेशमा आर्जन गरेको अनुभव अब नेपालमा प्रयोग गर्न चाहन्छु ।