नेपाल राष्ट्रको एकीकरण अभियान एउटा व्यक्तिको लहड वा रहरले भएको होइन । यसका पछाडि थुप्रै योद्धा, राजनीतिज्ञ, रणनीतिकारहरूको रगत र पसिना खर्च भएको छ । त्यस्ता व्यक्तित्वहरूका बारेमा इतिहासले पर्याप्त शब्द पनि खर्च गरेको छ । यस क्रममा कसैको बढी कसैको कम चर्चा भएको पाइन्छ । यस्तै आफ्नो योगदानको तुलनामा कमै चर्चा गरिएका पात्र हुन्– सरदार रामकृष्ण कुँवर ।
रामकृष्ण कुँवर नेपालमा १ सय ४ वर्षसम्म निरंकुशताको प्रतीक बनेका राणा शासकहरूका पूर्वज थिए । कास्कीका राजासँग आफ्नी छोरीको विषयमा मत बाझिएपछि कास्कीबाट निष्कासन गरिएका अहिराम कुँवर गोरखामा शरण लिन पुगेका थिए । तिनै अहिराम कुँवरका जेठा छोरा रामकृष्ण कुँवर पृथ्वीनारायण शाहका दौतरी थिए । उनलाई पृथ्वीनारायण शाहले जहिले पनि आफूसँगै राख्थे ।
पृथ्वीनारायण शाहको राजकीय महत्त्वाकांक्षालाई व्यवहारिक पखेटा दिने रामकृष्ण कुँवर त्यतिबेला चर्चामा आए जब वि.सं. १८२१ मा गोर्खालीहरू कीर्तिपुरको दोस्रो युद्धमा पनि पराजित भए । उक्त पराजयपछि रामकृष्ण कुँवरले नै पृथ्वीनारायण शाहलाई उपत्यका विजयका लागि सैनिक अभियानभन्दा बढी कूटनैतिक अभियान प्रभावकारी हुने सल्लाह दिए । त्यही सल्लाहलाई आत्मसात् गर्दै पृथ्वीनारायण शाहले गोर्खाली सेनामा गुप्तचरहरू भर्ना गर्न, तिनलाई संगठित गर्न, सोहीअनुरूपको रणनीति बनाउने जिम्मेवारी रामकृष्ण कुँवरलाई दिए ।
नयाँ जिम्मेवारी प्राप्त गरेपछि रामकृष्ण कुँवरले सबैभन्दा पहिले गुप्तचरी नेटवर्क निर्माण गरी काठमाडौं वरिपरिका स–साना तर वाणिज्यिक तथा रणनीतिक महत्त्वका गाउँहरू कब्जा गर्ने अभियान सञ्चालन गरी त्यसमा सफलतासमेत प्राप्त गरे । नाकाबन्दीजस्तो रणनीतिक हतियार प्रयोग गरेर उनले कीर्तिपुरवासीलाई गोर्खाली समक्ष आत्मसमर्पण गराए । उक्त सफलतापछि उनले काठमाडौं खाल्डोका तीन राज्य कब्जा गर्न भक्तपुरलाई निसाना बनाए । भक्तपुरलाई कमजोर बनाउन रामकृष्ण कुँवरले वि.सं. १७९८ मा गोरखाका तत्कालीन राजा नरभूपाल शाहले भक्तपुरसँग गाँसेको मैत्री सम्बन्धलाई प्रयोग गरे । त्यस क्रममा उनी भक्तपुरको वंशगोपालमा ५ वर्ष बसेका थिए । उक्त बसाइका क्रममा उनले भक्तपुर दरबारको कलह (राजा रणजित मल्लका वैधानिक उत्तराधिकारी वीरनरसिंह मल्ल र उनका भित्रेनी दाजुभाइहरूबीच चलेको संघर्ष) लाई प्रयोग गर्दै भक्तपुरलाई काठमाडौं र पाटनको राजकीय शक्तिको विरोधीका रुपमा उभ्याए । उनको यो सफलताले नै वि.सं. १८२५ को निर्णायक लडाइँमा काठमाडौंले भक्तपुरको साथ पाउन सकेको थिएन ।
उपत्यका विजयपछि नेपाल एकीकरण अभियानलाई पूर्वमा टिष्टासम्म विस्तार गर्न काजी अभिमान सिंह बस्नेतसँगै खटिएका रामकृष्ण कुँवरले त्यसपछि काजी अमरसिंह थापाका साथ पश्चिम विजयको जिम्मेवारी पाएका थिए । यस क्रममा उनले प्युठानमा बारुद कारखाना, हतियार कारखाना एवं सैनिक छाउनी स्थापना गरेका थिए । सोही क्रममा वि.सं. १८२८ चैत ८ गते रामकृष्ण कुँवरको निधन भएको थियो । त्यतिबेलासम्म उनको पदोन्नति हुन नसकेकोमा कतिपय इतिहासकारले गोरखा दरबारमा थापा, बस्नेत, पाँडे, भण्डारीजस्ता रैथाने भारदारहरूको दबदबा रहनु वा उनी कास्कीबाट शरणार्थीका रूपमा आउनुलाई कारण मानेका छन् । यिनै रामकृष्ण कुँवरका पनाति जंगबहादुर कुँवरले पछि कोतपर्वमार्फत सत्ता हत्याएर १ सय ४ वर्षसम्म नेपालमा पारिवारिक शासन चलाए ।