साप्ताहिक संवाददाता
नायिका प्रियंका कार्कीले आफूले फेसबुकमा अपलोड गरेका तस्बिरमा आपत्तिजनक प्रतिक्रिया आएको दुखेसो गरेको धेरै भएको छैन । उनको गुनासो सहितको स्ट्याटसले सञ्चारमाध्यममा पनि राम्रै स्थान पायो । पहिरनका कारण विवाद तथा चर्चामा आइरहने प्रियंकाले फेसबुकमार्फत दर्शकको गुनासो गरेको केही दिनपछि नै उनी पुन: एउटा पारदर्शी पहिरनमा प्रस्तुत भएर चर्चामा आउन खोजेकी छिन् ।
कुमारी सिनेमा हलमा गत साता सम्पन्न चलचित्र ‘हाउ फन्नी’ को प्रिमियर शोमा छाला रंगको इभिनिङ गाउन लगाएकै कारण प्रियंका फोटो पत्रकारहरूद्वारा घेरिइन् । डिजाइनर युबी थापाद्वारा डिजाइन गरिएको उक्त पहिरन यति पारदर्शी थियो कि स्वयं प्रियंकालाई आफ्ना संवेदनशील अंग छोप्न धौ–धौ पर्यो । साँझ प्रियंका आफैंले तीनै पहिरनसहितको तस्बिर फेसबुकमा राखेर डिजाइनरलाई समेत धन्यवाद दिइन् । ती तस्बिरमा आएका अधिकांश प्रतिक्रियामा भने पहिरनको नकारात्मक चर्चा गरिएको पाइन्छ ।