साप्ताहिक संवाददाता
आफूले लगाएको चस्मा जस्तो छ,संसार त्यस्तै देखिन्छ । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ, तर प्रविधिले यसलाई प्रमाणित गरेको छ । प्रविधिले चस्माको कार्यलाई नै परिवर्तन गरिदिएको छ । त्यस्तो चस्मालाई ‘भर्चुअल रियालिटी हेडसेट’ अर्थात् छोटकरीमा भीआर हेडसेट भनिन्छ । घरमै बसेर संसारको भ्रमण गराउने रोमान्चक हेडसेट अहिले धेरै कम्पनीले निर्माण गरेका छन् ।
के हो भर्चुअल रियालिटी ?
कुनै प्रविधि प्रयोग गरेर वास्तविक संसारमा पुगेको अनुभव गरिन्छ, तर वास्तवमा आफू त्यहाँ पुगिएको वा कुनै कार्य गरिएको हुँदैन भने त्यसलाई भर्चुअल रियालिटी भनिन्छ । टेलिभिजन वा तस्बिरमा कुनै स्थानको तस्बिर वा दृश्य हेर्न सकिन्छ तर भीआर हेडसेट प्रयोग गरेर ती स्थान हेर्दा भने हामी ती स्थानमा पुगेको आभास पनि हुन्छ । हामी जतातिर टाउको घुमाउँछौं, त्यतैतिरको दृश्य देखिन्छ । राम्रो खालको भीआर हेडसेटमा त्यसैअनुरूपको आवाज र गतिका आधारमा मोसन सेटिङ समेत मिलाउन सकिन्छ ।
बजारमा विभिन्न प्रकारका भीआर हेडसेट उपलब्ध छन् । सामान्य तरिकाले मोबाइलमा प्रयोग गरेर पनि भीआर हेडसेट प्रयोग गर्न सकिन्छ । कार्डबोर्ड भीआर डिभाइस, प्लास्टिक हेडसेट, गियर भीआर आदि किनेर प्रयोग गर्न पनि सकिन्छ ।
माइक्रोसफ्टले निर्माण गरेको होलोलेन्स र फेसबुकको ओक्युलस रिफ्टजस्ता भीआर हेडसेटको चर्चा भने निकै चुलिएको छ ।
माइक्रोसफ्टको होलोलेन्स
माइक्रोसफ्टले केही समयअघि अमेरिकाको सन्फ्रान्सिस्कोमा आयोजित कार्यक्रम ‘माइक्रोसफ्ट बिल्ड’ मा होलोलेन्सको झलक प्रस्तुत गरेको थियो । यसको प्रयोग गर्ने धेरैले आश्चर्य प्रकट गरे । यसको प्रयोग गर्दा आँखा अगाडि भर्चुअल तस्बिर आउँछ । आफ्नै आँखाअगाडिका वस्तुहरू हेर्दा पनि फरक अनुभव हुन्छ । यसमा थ्रीडीको अनुभव हुन्छ । यसको प्रयोगबाट बनेको भिडियोलाई सहज तरिकाले सेयर गर्न सकिन्छ । वास्तवमा होलोलेन्सले भविष्यको तस्बिर देखाउँछ । हाम्रो जिन्दगीमा थ्रीडीको प्रयोग बढ्दै छ । हामी सबै वस्तुमा थ्रीडी भ्यु हेर्न चाहन्छौं । होलोलेन्सले यही थ्रीडी भ्युको प्रयोगलाई बढाउनेछ ।
होलोलेन्सलाई अन्य तरिकाले पनि प्रयोग गर्न सकिन्छ । यसबाटै फ्रयागमेन्ट्स, योङ कन्कर तथा रोबोऱ्याडजस्ता गेम खेल्न सकिन्छ । यसमा ‘होलोटुर’ नामक एप पनि छ । उक्त एप प्रयोग गर्दा कुनै पनि स्थानको प्यानोरामिक डिस्प्ले देखिन्छ भने आफू त्यही स्थानमा पुगेको जस्तो अनुभव हुन्छ । यसमा भएको स्काइप इन्ह्यान्स्ड भर्सनको प्रयोग गरी काल्पनिक संसारमा पुग्न सकिन्छ । त्यहाँ पुगेर पनि साथीहरूसँग सम्पर्कमा रहन सकिन्छ । त्यस्तो होलोलेन्सको मूल्य ३ हजार डलर पर्छ ।
ओक्युलस रिफ्ट
ओक्युलस रिफ्ट पनि भीआर हेडसेटका लागि प्रसिद्ध छ । सन् २०१४ को मार्चमा फेसबुकले यसलाई २ खर्ब डलरमा किनेको थियो । यसमा वरिपरिको आवाजका साथ गुणस्तरीय सेन्सरको प्रयोग गरिएको छ । त्यसैले यो प्रसिद्ध बन्दै गएको छ । त्यसैगरी यसमा पनि थ्रीडी भिडियो प्रयोग गर्न सकिन्छ । यसको मूल्य ६ सय डलर छ ।