फर्मल र इन्फर्मल दुवै समयमा लगाइने जवाहरकोट युवाहरूमाझ निकै लोकप्रिय छ । ४० वर्षमुनिका युवाहरू कोटको विकल्पमा यसको प्रयोग गर्छन् । जिन्स र कपडा दुवै किसिमको पाइन्टमा लगाउन मिल्ने भएका कारण पनि जवाहरकोट को माग बढेको व्यवसायीहरूको धारणा छ ।
अहिलेको युवापुस्ता औपचारिकभन्दा पनि क्याजुअल पहिरन मन पराउँछ । त्यसैले पनि उनीहरूको आकर्षण यसतर्फ भएको विराटनगरमा कपडाको होलसेल पसल गर्दै आएका रमेश खरेल बताउँछन् ।
अहिले चलेको जवाहरकोट मा एउटै रंगको भन्दा पनि मिक्स–कन्ट्रयास्ट बढी रुचाइएको छ । अहिले युवाले सेतो, खैरो, रातो आदि रंगका जवाहरकोट बढी लगाएको सञ्चालक खरेलले बताए । सादा पनि चल्तीमा छ । जवाहरकोट को मूल्य त्यसको कपडाको गुणस्तरमा भर पर्छ । बजारमा उपलब्ध रेडिमेड जवाहरकोटलाई ९ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म पर्छ ।
अरूभन्दा फरक देखिन चाहने भएकाले अहिलेको स्टाइलको कपडा लगाउन मन गरेको विराटनगरका श्रीमन्त भट्टराईले बताए । अहिले गर्मी भएका कारण पनि जवाहरकोट लगाउन मन लागेको भट्टराईको तर्क छ । भित्र पूरा सर्ट र बाहिर जवाहरकोट लगाउँदा आकर्षक देखिने भएकाले जवाहरकोट लगाएको उनको भनाइ छ । विराटनगरका पवन घिमिरे पनि जवाहरकोट मा सजिएर हिँड्ने गरेका छन् । जवाहरकोट मा आकर्षक देखिने भएकाले यो आफनो रोजाइमा परेको उनी बताउँछन् ।
पाका उमेर समूहले मात्र लगाउँदै आएको जवाहरकोट अहिले युवाहरूमाझ निकै लोकप्रिय हुँदै गएको छ । पछिल्लो समयमा विभिन्न राजनीतिक दलका नेताहरूको समेत जवाहरकोटमा आकर्षित हुँदैं गएका छन् ।