साप्ताहिक संवाददाता
विजय आवाज
करिब १० वर्षअघि चितवनबाट काठमाडौं प्रवेश गर्दा विजय सुवेदीलाई चलचित्र पत्रकार बन्छु भन्ने लागेको थिएन । एक दशकअघि जब उनले रेडियो उपत्यकामा रेडियोसम्बन्धी तालिम लिएर, आवाजको माध्यमबाट रेडियो पत्रकारिता सुरु गरे, त्यसपछि उनको करियर यही क्षेत्रमा दौडिरहेको छ । १ दशकको अवधिमा उनले विभिन्न सञ्चारमाध्यममा चलचित्रसम्बन्धी रिपोर्टिङ गर्न भ्याएका छन् । रेडियो उपत्यकामा करिब १७ महिना काम गरेपछि उनी रेडियो कान्तिपुरमा प्रवेश गरे । रेडियो कान्तिपुरमा उनको समाचार संकलनको दायरा पनि फराकिलो भयो । रेडियो कान्तिपुरमा कार्यक्रम सञ्चालन गर्दागर्दै उनले दृष्टि शीर्षकको टेलिश्रृंखलामा काम गर्न पनि भ्याए । एनटिभी प्लसबाट प्रसारण हुने यो सिरियलमा उनले विभिन्न भूमिका निर्वाह गरे । विजय भन्छन्– ‘त्यसपछि मलाई मोडलिङ र अभिनयमा पनि सौख बढेको हो ।’ तराई टेलिभिजनमा मनोरञ्जन रिपोर्टरका रूपमा काम गरेका विजय त्यसपछि अनलाइनखबर डटकमसँग आबद्ध भए । कुनै बेला विजयले रेडियो, टिभी तथा अनलाइन पत्रकारिता एकसाथ गरे । रेडियो कान्तिपुरमा ६ वर्ष एवं तराई टीभीमा ३ वर्ष चलचित्र पत्रकारिता गरेका विजय विगत ६ वर्षदेखि अनलाइनखबरसँग आबद्ध छन् । सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार–बार’ गीतमा मोडलिङ गरेपछि उनले मोडलिङ यात्रा पनि प्रारम्भ गरेका छन् । अहिले उनी थप म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गर्न लागेको बताउँछन् ।
हाल के गर्दै हुनुहुन्छ ?
अहिले म अनलाइन मिडियाका माध्यमबाट चलचित्र पत्रकारिता गरिरहेको छु । अनलाइन प्रिन्टका साथमा भिज्युअल सामग्री निर्माणमा सक्रिय छु । फुर्सदमा म्युजिक भिडियो र मोडलिङलाई समय दिन्छु ।
रेडियो, टिभी तथा अनलाइन पत्रकारितामध्ये कुनमा रमाइलो लाग्छ ?
मलाई तिनैवटा मिडियामा काम गर्न रमाइलो लाग्यो । रेडियो कान्तिपुरमा काम गर्दा देशभरका श्रोताले चिन्ने र मेरो कामलाई मूल्यांकन गर्ने मौका पाएका थिए । टिभी दृश्यमा हुने भएकाले दर्शकलाई यही मान्छे हो भनेर चिनाउन सजिलो हुन्छ । अनलाइनमा लेखिने समाचारको प्रतिक्रिया एकदमै चाँडै पाइने भएकाले यसमा पनि छुट्टै आनन्द छ ।
मोडलिङ पनि गर्नुहुन्छ, यो रहर हो कि भविष्य नै हो ?
मैले अहिले नै मोडलिङलाई भविष्य मानेको छैन । पत्रकारिताबाट समय मिलाएर यतातर्फ पनि हात हालेको हुँ । मोडलिङमा पनि एउटा रस छ, जसलाई पिएपछि छाड्न मन लाग्दैन । म पत्रकारितालाई नै भविष्य बनाएर अघि बढिरहेको छु । राम्रा गीतबाट अफर आउँदा मोडलिङ लाई पनि निरन्तरता दिने सोचमा छु भने टेलिभिजन कार्यक्रममा पनि देखिनेछु ।