साप्ताहिक संवाददाता
जमिन्दारीप्रथाको अन्त्य भैसकेको छ, तैपनि गाउँघरमा धनीमानीहरूले गरिबमाथि गर्ने दुव्र्यवहार र भेदभाव अझै कायमै छ ।
आज शुक्रबार काठमाडौं उपत्यकामा र अर्को साता देशभर प्रदर्शनमा आउने चलचित्र ‘उहिले बाजेको पालामा’मा गाउँका ठूलाहरूले गरिबहरूमाथि गर्ने अत्याचारलाई मूल विषय बनाइएको छ । ग्रिनकार्ड लिएर अमेरिका पलायन भएका नायक दिलीप रायमाझी हाल केही समयका लागि नेपाल आएका छन् । रायमाझी यहाँ आएकै बेला दिलीपले अभिनय गरेका चलचित्र एकपछि अर्को गरी प्रदर्शनमा आउँदैछन् ।
बाटोमुनिको फूल–२ मा दिलीपको कामको प्रशंसा भैरहेका बखत धेरै समयअघि उनले अभिनय गरेको चलचित्र ‘उहिले बाजेको पालामा’ प्रदर्शनमा आउन लागेको हो । यो चलचित्रमा उनको जोडीका रूपमा नायिका खुश्बु खड्का छिन् । गाउँले युवकको भूमिकामा रहेका दिलीपको यो चलचित्रमा उहिले बाजेको पालामा भएका रीतिरिवाज र प्रचलन आधुनिक समाजमा जस्ताको तस्तै प्रयोगमा ल्याउन खोज्दा हुने नकारात्मक परिणाम देखाइएको छ । चलचित्रका छायांकार हरिनारायण चौधरी हुन् भने यसका निर्माता चेतन कोइराला हुन् ।
निर्देशक : वसन्त जिएम
संगीतकार : विपिन आचार्य
कलाकार : दिलीप रायमाझी, गणेश बेलबासे, नवीन श्रेष्ठ, खुश्बु खड्का, कमल गाउँले, माधव पण्डित आदि ।
उहिले बाजेको पालामाको ट्रेलर