साप्ताहिक संवाददाता
गौरिका सिंह मात्र ११ वर्षकी छँदा नेपालमा पहिलोपल्ट प्रतियोगितामा सहभागी भएकी थिइन् । बाल्यकालको त्यही पहिलो सहभागितामै उनले आठवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यसले उनलाई ह्वात्तै चर्चामा ल्यायो, तर त्यतिबेला उनलाई पनि अरू खेलाडीजस्तै मानिएको थियो, किनभने धेरै नेपाली पौडी खेलाडी राष्ट्रिय कीर्तिमान बनाउने तर अन्तर्राष्ट्रिय प्रतियोगितामा भने पदक जित्न नसक्ने र सधैं पुछारतिर रहने परम्पराजस्तै भएको थियो ।
ती सबै नेपाली पौडीको इतिहासलाई तिलान्जली दिँदै गौरिकाले फेब्रुअरी, २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक १ रजत र ३ कांस्य पदक जितेकी थिइन् । त्यसले उनलाई नेपाली खेलकुदको उच्चकोटीमा पुर्यायो । गौरिका सन् १९८४ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपाललाई पौडीको व्यक्तिगत स्पर्धामा पदक दिलाउने पहिलो र एक्ली खेलाडी हुन् ।
१२ औं सागमा पौडदा उनी मात्र १३ वर्षकी थिइन् र अहिले पनि १३ वर्ष पार गरेकी छैनन् । गौरिकाको उमेरले छिटोछिटो पाइला नचाले पनि स्वीमिङ पुलमा भने उनले आफ्नो रफ्तार कायमै राखेकी छिन् । अझ उनको गति थप बढिरहेको मान्न सकिन्छ । त्यसले आयरल्यान्डको राजधानी डब्लिनमा शनिबार सम्पन्न भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा पनि निरन्तरता पायो, जहाँ उनले दुई राष्ट्रिय कीर्तिमान बनाइन् ।
गौरिकाले डब्लिनस्थित नेसनल अक्वाटिक्स सेन्टरमा २ सय मिटर ब्याकस्ट्रोक तथा १ सय मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । उनले शुक्रबार १ मिनेट १ दशमलव ७८ सेकेन्डसहित १ सय मिटर फि–स्टाइलको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाइन्, जुन यसअघि सोफिया शाहको नाममा थियो । उनले २ मिनेट २५ दशमलव ९९ सेकेन्डमा २ सय मिटर पूरा गर्दै शनिबार २ सय मिटर ब्याकस्ट्रोकमा आफ्नो कीर्तिमान सुधार गरेकी थिइन् । यो स्पर्धामा यसअघि उनले १२ औं सागमा २ मिनेट २६ दशमलव ९३ सेकेन्डको कीर्तिमानी समय निकालेकी थिइन् र त्यसैलाई डब्लिनमा सुधार गरेकी हुन् ।
आइरिस ओपन च्याम्पियनसिप अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) को मान्यता प्राप्त प्रतियोगिता हो । त्यसैले यसमा विश्वका नाम चलेका खेलाडीहरू पनि सहभागी हुन्छन् । यस्तो प्रतिस्पर्धामा पनि गौरिकाले २ सय मिटरको ब्याकस्ट्रोकमा समूह ‘बी’तर्फ फाइनल चरणको यात्रा तय गरेकी थिइन् । डब्लिनमा उनको प्रदर्शन हेर्न लन्डनस्थित कोप्टहल स्वीमिङ क्लबका प्रशिक्षक रिस गोर्मली पनि पुगेका थिए ।
आइरिस ओपनको दुईसहित उनको राष्ट्रिय कीर्तिमान संख्या ३० पुगेको छ । यसमा व्यक्तिगत स्पर्धाका २७ र टिम स्पर्धा (रिले) का तीन कीर्तिमान छन् । गौरिकाले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा दुई वर्षअघि सम्पन्न १९ औं राष्ट्रिय पौडी प्रतियोगितामा ८ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो स्वीमिङ करियर थालेकी थिइन् । गौरिकाले २० औं राष्ट्रिय पौडीमा सहभागि सबै अर्थात् ६ कीर्तिमान बनाएकी थिइन् । जुलाई–अगस्ट २०१५ मा कजान (रूस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिपमा २, नोभेम्बर २०१५ मा दुबईमा सम्पन्न फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा २ कीर्तिमान बनाएकी थिइन् ।
बार्नेट कोप्टहल स्वीमिङ क्लबमा चार वर्षयता नियमित प्रशिक्षण गरिरहेकी सिंहले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत तथा २ सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा कांस्यपदक जितेकी थिइन् । त्यस क्रममा उनले व्यक्तिगत स्पर्धामा ७ र टिमसँग रिलेमा ३ सहित १० राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपाली पौडीकी यी सर्वोत्कृष्ट खेलाडी आइरिस ओपनपछि रियो ओलम्पिक–२०१६ मा ‘वाइल्ड कार्ड’मार्फत् सहभागि हुन पाउने आशामा आवश्यक तयारीमा जुटिसकेकी छिन् ।