साप्ताहिक संवाददाता
फुर्बा तेन्जिङ शेर्पाले कसम खाएका थिए— ‘अब कहिल्यै हिमाल चढ्ने छैन ।’ तर, हिमाल नचढेर के गर्ने ? पढाइ–लेखाइ छैन । कुनै प्रशिक्षण लिएको छैन । प्रमाणपत्र छैन । हिउँमाथि हुर्किएका फुर्बाका अगाडि हिमालसँग भागेर जाने अर्को ठाउँ थिएन । आखिर उनले हिमाली कठोरतासँग जुध्नु नै थियो ।
किशोरवयमै फुर्बा हिमालसँग पौंठेजोरी खेल्न तम्सिए । १७ वर्षको उमेरमा उनी दुई पटक सगरमाथाको टाकुरामा पुगे, त्यो पनि तीन दिनको अन्तरमा । त्यसपछि उनले केही यस्ता आरोहणको कप्तानी सम्हाले, जसले विश्व कीर्तिमान कायम गर्यो । नेपाली ‘समावेशी महिला आरोहण दल’ होस् वा सबैभन्दा पाको उमेरका मीनबहादुर शेरचन नै, उनीहरूले सफलतापूर्वक सगरमाथा आरोहण गर्दा त्यसको ‘क्लाइम्बिङ लिडर’ थिए, फुर्बा तेन्जिङ शेर्पा । अचम्म त के भने, दुवै हात नभएका आरोही सुदर्शन गौतमलाई सगरमाथाको चुचुरोमा टेकाउनमा पनि उनको ठोस भूमिका थियो ।
दुई पटक उनी बिनाअक्सिजन सगरमाथाको चुचुरोमा पुगे । ‘कीर्तिमान राख्न’ होइन, अक्सिजन माक्सको खराबीले गर्दा । ‘अब त मैले हिमाललाई जितिसेकें,’ दसौं पटक सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि फुर्बाले भने– ‘त्यसले मलाई पछार्न सकेको छैन ।’ यसपटक उनले सगरमाथाको चुचुरोमा ‘हामी उठ्नेछौ’ अंकित झन्डा पनि ठड्याउनेछन् ।
९ वर्ष अघिको कुरा । दाइ फुर्बा ठुन्डुसँगै एक अस्ट्ेरेलियन आरोहीलाई लिएर उनी पुमोरी हिमालको आधार शिविर पुगेका थिए । दाइ फुर्बा ठुन्डुसहित चार जना शेर्पा डोरी टाँग्न क्याम्प–टु उक्लिए । ठीक त्यही बेला उनको कानमा भीषण आवाज ठोक्कियो । हत्तपत्त टेन्टबाट बाहिर आएर हेरे, बेपत्तासँग हिउँको पहिरो झरिरहेको छ । त्यही पहिरोमा आफ्नो दाई फुर्बा ठुन्डु उछिट्टिरहेको बीभत्स दृश्य देखियो ।
एउटै कोखबाट जन्मिएको दाइले आँखै अगाडि मृत्युवरण गरेको दृश्य भन्दा पनि दाइको लासलाई परिवारको सामुन्ने साक्षात्कार गराउँदाको ह्दयविदारक क्षणले उनलाई निकै दुखी तुल्याउँछ । त्यही दिन उनले ‘हिमाल नचढ्ने’ कसम खाए ।
‘कसम त खाएँ तर अरू के गर्ने ?’ फुर्बाले आफ्नै लवजमा भने– ‘पढेको भए पो काम पाइन्छ ।’ दोलखा जिल्लाको गौरीशंकर गाविसस्थित रोल्वालिङ गाउँमा पढ्ने वातावरण थिएन, जहाँ उनी जन्मिए । घर–आँगनमै प्राथमिक विद्यालय नभएको होइन तर पढाइ हुँदैनथ्यो । ४ हजार २ सय मिटरको उचाइमा अवस्थित उक्त विद्यालय यदाकदा मात्र खुल्थ्यो । ‘पढाउने सरहरू पनि थिएनन्,’ फुर्बाले भने– ‘त्यसैले पढ्ने–लेख्ने कुरै भएन । बरु, पोर्टर बनेर भारी बोकियो ।’
काठमाडौंका भरियाहरू रोल्वालिङभन्दा माथि जान सक्दैनथे । त्यसैले उनीहरूले त्यहाँसम्म ल्याएको भारी बोकेर टासी लाप्चा पाससम्म पुर्याउने लर्कोमा फुर्बा पनि सामेल भए । हिउँको चट्टान भएको अप्ठ्यारो बाटोमा ४० केजीसम्मको भारी बोकेर उनी कैयौं पटक टासी लाप्चा पास पुगे ।
भारी मात्र बोकेर जिन्दगी नचल्ने । काम खोज्दै उनी काठमाडौं आए । काठमाडौमा दाइ र दिदीहरू ट्रेकिङ व्यवसायमा आबद्ध थिए । ट्रेकिङ टोलीमा काम पाउन आफन्त नै हुनुपर्ने । अझ एकाध पटक हिमाल उक्लिएको भए राम्रो । यद्यपि यी दुवै अनुभव थिएन, उनीसँग । त्यसैले साहिँला दाइले उनलाई लाङटाङ हिमाल लगे, शेर्पा बनाएर ।
त्यसपछि अर्का दाई फुबा ठुन्डुसँग उनले दोस्रो हिमाली यात्रा गरे, तर त्यही बेला पहिरोमा परेर दाइको ज्यान गयो । हिउँमा खेल्दै हुर्किएका फुर्बालाई हिमाल आरोहण ‘बच्चाको खेल होइन’ भन्ने कुरा त्यही बेला बोध भयो । उनलाई हिमाल साह्रै कठोर र निष्ठुरी लाग्यो ।
कालान्तरमा फुर्बा हिमालबाट विमुख हुन सकेनन् । डेढ बित्ताको पेट भर्नका लागि पनि उनले हिमालसँग साक्षात्कार गर्नैपर्ने भयो । अन्तत: विगतको कसम तोडेर उनले आरोहीहरूलाई हिमचुचुरोमा पुर्याउने जोखिमपूर्ण काम थाले ।
यही क्रममा विदेशी आरोहीहरूलाई डोहोर्याउँदै चीनको तिब्बतबाट साउथ पोल पुगे, क्लाइम्बिङ लिडर भएर । त्यहाँबाट उनले पहिलो पटक साहिँला दाइसँग सगरमाथाको आरोहण गरे । ‘सगरमाथामा मूर्ति राख्ने दाइको भाकल रहेछ,’ फुर्बाले भने– ‘त्यही भएर विदेशी आरोहीलाई साउथ पोलमै छाडेर दाइ र म सगरमाथा चढ्यौं ।’ त्यहाँबाट फर्किएलगत्तै विदेशी आरोहीलाई लिएर फेरि सगरमाथा आरोहण गरे । यसरी एक साताभित्रै उनले दुई पटक सगरमाथा आरोहण गरे । त्यतिबेला फुर्बाको उमेर १७ वर्ष थियो ।