साप्ताहिक संवाददाता
गौरिका सिंहले दुई वर्षयता एकपछि अर्को गर्दै निरन्तर राष्ट्रिय कीर्तिमान बनाइरहेकी छिन् । उनले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक एक रजत र तीन कांस्यपदक पनि जितेकी थिइन् । १३ वर्षीया सिंहले गत साता आयरल्यान्डमा सम्पन्न आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा आफ्नो राष्ट्रिय कीर्तिमानको संख्या ३० पुर्याएकी छिन् । गौरिकासँग साप्ताहिकको पाँच प्रश्न :
सानै उमेरमा निरन्तर सफल हुनुको कारण के हो ?
कोच (रिस गोर्मली) ले बनाउने तालिकाअनुसार नियमित प्रशिक्षण गर्छु र उहाँकै निर्देशनअनुसार प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छु । त्यसैले सफलता पाएकी हुँ कि !
१३ वर्षमै ३० वटा राष्ट्रिय कीर्तिमान र सागमा चार पदकलाई हेर्दा कस्तो लाग्छ ?
अमेजिङ, यस्तो सोचिएको थिएन । पहिलोपल्ट प्रतियोगितामा सहभागी भएर कीर्तिमान बनाउँदा त खेलाडी नै बन्छु भन्ने पनि थिएन । १२ औं सागपछि भने खेलाडी नै बन्ने अठोट लिएकी छु ।
दैनिक कति समय अभ्यास गर्नुहुन्छ ?
ठ्याक्क यति नै समय भन्ने हुदैन । कोचले बनाएको तालिकाअनुसार दैनिक तीनपल्टसम्म प्रशिक्षण गर्छु । त्यसमा दैनिक २ देखि ४ घण्टासम्म हुन्छ ।
अबको लक्ष्य ?
पदक, कीर्तिमान तथा प्रदर्शनका हिसाबले नेपालको सबैभन्दा अगाडि छु, तर ओलम्पिकमा छनौट हुने समय निकाल्न अहिलेलाई योग्य भैसकेकी छैन । त्यसैले वाइल्ड कार्डमार्फत रियो ओलम्पिक २०१६ मा सहभागी हुने लक्ष्य छ । यसपल्ट ओलम्पिकमा सहभागी हुन पाइयो भने अर्को ओलम्पिकमा केही गर्ने योजना बनाउन सकिन्छ ।
तपाईंलाई मन पर्ने खेलाडी को हुन् ?
माइकल फ्लेप्स (अमेरिका) ।