साप्ताहिक संवाददाता
पविधन खालिङ, गायक/संगीतकार
बजारमा प्राय: नचल्ने बाल–गीति एल्बम सिर्जना गर्ने सोच कसरी आयो ?
नेपालमा कुनै बेला बालगीतको राम्रो क्रेज थियो । हामी आफैं पनि बालगीत सुन्दै हुर्किएका हौं । बालगीतले बालबालिकालाई मात्र होइन ठूला मानिसलाई पनि मनोरञ्जनसहितको शिक्षा दिन्छ । मैले भर्खरै सार्वजनिक गरेको ‘मेले वनैमा’ एल्बममा भएका गीतले पनि मनोरञ्जनसहितको शिक्षा दिन्छन् ।
मेले वनैमा शीर्षक कसरी रोज्नुभयो ?
म सोलुखुम्बुमा जन्मिएको स्रष्टा हुँ । सोलुमा मेले वनको आफ्नै महत्व छ । हामीले घाँस–दाउरा गरेको उक्त वनलाई मैले एल्बममा विम्बका रूपमा प्रयोग गरेको छु । एल्बमका आधादर्जन गीतमा सुरिलो स्वर भएका बालबालिकाको स्वर समेटेको छु ।
सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको कति भयो ?
सानैदेखि गीत गाउँथे । खासगरी विद्यालयका कार्यक्रममा म गायककै रूपमा चिनिन्थें । २०४९ सालमा काठमाडौं आएपछि मेरो संगीतको औपचारिक यात्रा प्रारम्भ भएको हो ।
प्रशिक्षणपछि औपचारिक गायन कसरी प्रारम्भ भयो ?
२०५३ सालमा आफ्नै संगीतमा ‘सुनेको छ तिमी कतै’ शीर्षकको आधुनिक गीत रेकर्ड गरेपछि मेरो व्यवसायिक सांगीतिक यात्रा प्रारम्भ भयो । त्यसपछि मैले लगातार केही दर्जन गीत रेकर्ड गराएँ । संगीत पनि आफैंले भर्ने भएकाले मेरो संगीतमा गायक रामकृष्ण ढकालले गाएको ‘मान्छे कति स्वार्थी हुन्छ’ गीत लोकप्रिय भएपछि म यो क्षेत्रमा स्थापित भएँ ।
हालसम्म के–कस्ता गीत संगीत तयार पार्नुभएको छ ?
गायक तथा संगीतकारका रूपमा सयौं गीत तयार पारेको छु भने संगीत संयोजकका रूपमा झन्डै २ हजारवटा गीतमा काम गरेको छु । आधादर्जन एकल एल्बम बजारमा आएका छन् । वास्तवमा म संगीतका चारवटा विधामा समानान्तर रूपमा अघि बढेको स्रष्टा भए पनि पछिल्लो समय संगीतकारमा सीमित छु ।
अबको योजना के छ ?
पछिल्ला केही वर्षयता अमेरिका–काठमाडौं गर्ने क्रम बढेको छ । अमेरिकाकै विभिन्न सहरमा नेपाली समुदायबीच गीत–संगीत प्रस्तुत गरिरहेको छु । काठमाडौं आएर आफूले सिर्जना गरेका गीत–संगीत रेकर्ड गराएर श्रोतामाझ पुर्याइरहेको छु ।