विश्व खड्का, निर्देशक माइती नेपाल
पब्लिक युथ क्याम्पसबाट व्यवस्थापनमा स्नातक गर्दा उनी एकसाथ विद्युत् प्राधिकरणको जागिरे र हस्तकलाका व्यवसायी थिए । एक दिन अचानक उनको भेट अनुराधा कोइरालासँग भयो । त्यतिबेला अनुराधा कोइराला पशुपति क्षेत्रमा अलपत्र परेका बालबालिकाको हेरचाह गर्ने र जोखिममा रहेका महिलालाई नाङ्लो पसलका लागि ऋण दिने काम गरिरहेकी थिइन् । जीवनमा आदर्श व्यक्ति कस्ता हुन्छन्, उनले पढेका मात्र थिए, देखेका थिएनन् । उनले तुरुन्तै विद्युत् प्राधिकरणको जागिर छाडे र व्यवसायको व्यस्तता घटाए । त्यसयता माइती नेपालसँग गाँसिएका खड्का चेलीबेटी बेचबिखनविरुद्ध लगातार २२ वर्षदेखि कार्यरत छन् ।
माइती नेपालको काममा तपाईंको महत्वपूर्ण योगदान छ, तैपनि तपाईंको चर्चा हुँदैन, किन ?
माइती नेपालको सोच अनुराधा कोइरालाको हो । मैले जुन दिन उहाँसँग भेटेँ, मलाई लाग्यो, यस्तो व्यक्तिलाई साथ नदिने हो भने जीवनको अर्थ रहँदैन । उहाँ नेपालबाट पूर्ण रूपमा चेलीबेटी बेचबिखनको अन्त्य गर्न चाहनुहुन्थ्यो । यसमा मैले साथ नदिए कसले दिन्छ भन्ने लाग्यो । त्यही दिनदेखि आजपर्यन्त म उहाँको सोचलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर लागिपरेको छु ।
आफ्नो चर्चा भएन, अनुराधा कोइरालाको मात्र नाम आयो भन्ने लाग्दैन ?
जसको सोच हो, उसको नाम आउनु स्वभाविक हो । अनुराधा दिदी पनि नाम कमाउन यता लाग्नुभएको होइन र मैले पनि नाम कमाउने उद्देश्य लिएको थिइनँ । चेलीबेटी बेचबिखन महिलाको मात्र मुद्दा होइन । चेलीबेटी बेच्ने अधिकांश मानिस पुरुष हुन्छन् । उनीहरूका ग्राहक पुरुष नै हुन् । त्यसो भए यसलाई चेलीबेटीको मात्र समस्या कसरी मान्न सकिन्छ ? अनुराधा दिदी बेलाबेलामा यस्तो बेचबिखनमा तिम्री बहिनी छोरी परेको भए तिमी के गथ्र्यौ ? तिम्रो कर्तव्य के हुन्थ्यो भन्ने प्रश्न गर्नुहुन्छ । म सुरुदेखि नै यो प्रश्नको हल गर्न लागिपरेको छु ।
कसरी सुरुवात गर्नुभयो ?
पशुपति क्षेत्रमा धेरै अनाथ बालिकाको उमेर बढ्दै थियो । उमेर बढ्दै जाँदा उनीहरूमाथि यौन हिंसा पनि बढ्दै थियो । दिदी त्यही क्षेत्रमा बस्ने भएकाले उनीहरूलाई सुरक्षा दिन आफ्नो घरमा राख्न थाल्नुभयो । एक–दुई होइन, यस्ता बालबालिकाको संख्या १५ पुग्यो । ५ जना उमेर पुगेका महिला पनि थपिए । उनीहरूलाई शिक्षा र सुरक्षा दिन ठूलो खर्च चाहिन्थ्यो । उहाँ एउटा निजी स्कुलको सामान्य शिक्षक । सबैलाई व्यवस्थापन गर्न समस्या भयो । यहीँबाट म जोडिएको हुँ । हाम्रो लगातारको प्रयासपछि युनिसेफले ४० जना बालबालिकाका लागि खाने–बस्ने व्यवस्था गरिदियो । त्यसपछि हामी महिला बेचबिखनमा काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ फिल्डमा खटियौं ।
माइती नेपालको पहिलो सफलता के थियो ?
हामीले लगातार कुन–कुन जिल्लाबाट चेलीहरू बेचिइरहेका छन् भनेर अध्ययन गरेका थियौं । मुख्यत: १० जिल्लाबाट चेलीबेटीहरू बाहिरिएको पत्ता लाग्यो । हामीले काठमाडौं वरपरका ८ र कास्की तथा नवलपरासी जिल्लामा नेपाल प्रहरी एवं पद्मकन्या क्याम्पसका विद्यार्थीहरूलाई प्रयोग गरेर जनचेतना जगाउने काम सुरु गर्यौं । दिनभरि गाउँ–गाउँमा क्याम्पेन चलाउने र साँझ सांस्कृतिक कार्यक्रमसँगै विभिन्न किसिमका जनचेतना जगाउने काम गर्यौं ।
यस्तो कार्यक्रम गर्दै जाँदा बेचबिखन हुनुपछाडिका कुरा पनि थाहा हुँदै गयो । वास्तवमा त्यो क्षेत्रका महिलाहरू यौन व्यवसायलाई गलत मान्दैनथे । उनीहरू आफू शोषणमा परेको कुरा, झुक्याएर बेचिएको कुरा गर्दैनथे । जब उनीहरूले यसभित्रको कालो पक्ष थाहा पाए, उनीहरूले रोजगारी र सीपमूलक शिक्षाको माग गर्न थाले । आफू असुरक्षित भएको महसुस पनि हुन थाल्यो । त्यसपछि हामीले जोखिममा परेका युवती एवं महिलाहरूलाई सीपमूलक तालिम दिने, सेल्टर दिने काम गर्न थाल्यौं । यसरी हामीले ३ हजार युवतीलाई तालिम दिएपछि उनीहरूलाई नै माइती नेपालको स्वयंसेवक बनायौं ।
उद्धार कार्यको सुरुवातचाहिँ कसरी गर्नुभयो ?
हामीसँग चेलीबेटी बेचबिखनसम्बन्धी दुईवटा चुनौती थिए । पहिलो, चेलीबेटी बेचिनै नदिनु, अर्को बेचिएका चेलीलाई नेपाल फर्काउनु । किनभने जुन–जुन घरबाट चेलीबेटी बेचिएका थिए, उहाँहरूले सत्य कुरा थाहा पाउन थाल्नुभएको थियो । यसले उहाँहरूको मानसिक अवस्था चिन्ताजनक हुन थाल्यो । यसबीच सन् १९९८ मा भारतीय प्रहरीले मुम्बईका कोठीहरूमा छापा मार्यो । प्रहरीले त्यहाँ बेचिएका ५ सय १२ यौनकर्मीको उद्धार गर्यो जसमध्ये २ सय १८ जना नेपाली चेली थिए । तीमध्ये धेरै हाम्रो शरणमा आइपुग्नुभयो । उहाँहरूबाटै भारतका विभिन्न कोठीमा लाखौं महिला भएको थाहा भयो । उनीहरूको उद्धार गर्न भारतमा बस्ने नेपाली मूलका बालकृष्ण आचार्यसँग मिलेर हामीले माइती नेपाल मुम्बई शाखा खोल्यौं । नेपालको संस्थाले मुम्बईमा काम गर्न थालेपछि कानुनी समस्या आइलाग्यो ।
त्यसलाई अहिले रेस्क्यु फाउन्डेसन नाम दिइएको छ । उक्त संस्थालाई बालकृष्ण आचार्यकी श्रीमती त्रिवेणी आचार्यले चलाइरहनुभएको छ । उक्त संस्था अहिले दिल्ली, पुना र कोलकातासम्म फैलिएको छ । त्यसबाहेक हामीले माइती इन्डिया नामक अर्को संस्था पनि खोलेका छौं, जसले नेपालको दूतावास, प्रहरी एवं अन्य गैरसरकारी संस्थाहरूसँग मिलेर काम गर्छ । नेपाल फर्किएका चेलीहरूमध्ये धेरैलाई हामीले बेचबिखन रोक्न सहयोग गर्न सीमा सुरक्षाको जिम्मा दिएका छौं । अहिले भारत छिर्ने १० वटा नाकामा चेलीबेटीहरूको निरीक्षण हुन्छ र दलाल पक्रने काम पनि गरिन्छ । त्यसबाहेक बेचबिखन हुने जिल्लाका सीमा नाकामा पनि हाम्रो फोर्स खडा भएको छ ।
२२ वर्षको सक्रियतामा चेलीबेटी बेचबिखनमा कति कमी आयो ?
जुन गतिमा भारतमा बेचिने क्रम थियो, त्यो स्वाट्टै घटेको देखिन्छ । ६ सय महिला बेच्ने १ हजार २ सय दलालमाथि मुद्दा चलाइएपछि दलालहरू निकै घटेको अनुभव गरेका छौं । मुद्दा चलाइएकामध्ये सबैले सजाय पाएका छन् । अहिले ५ सय जना महिला तथा बालबालिका हाम्रो संरक्षणमा छन् । कुल २५ हजारले विभिन्न किसिमको तालिम लिएर बाहिर काम गर्न थालेका छन् । धेरै त विवाह गरेर सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् ।
तर चेलीबेटी बेचबिखनको स्वरूप परिवर्तन भएको कुरा बाहिर आएको छ, के भन्नुहुन्छ ?
त्यो सत्य हो । पहिले भारतका कोठीहरूमा झुक्याएर बेचिन्थ्यो । अहिले कोठीमा होइन, भारतका विभिन्न सहरमा अपार्टमेन्टमा यौन व्यवसाय चलाउने र नेपालजस्ता मुलुकबाट पनि चेलीबेटी लाने गरिएको कुरा बाहिर आएको छ । विशेष गरी वैदेशिक रोजगारीको नाममा खाडी मुलुकदेखि अफ्रिकासम्म पुर्याउने चलन सुरु भएको छ । यस्ता केही व्यक्ति पक्राउ पनि पर्न थालेका छन् ।
नयाँ चुनौतीहरूसँग जुध्न के गरिरहनुभएको छ ?
वैदेशिक रोजगारीको नाममा चेलीबेटी बेचबिखन हुन्छ भन्ने थाहा पाउनेबित्तिकै हामीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल तथा परराष्ट्र मन्त्रालयको राहदानी शाखामा आफ्नो डेस्क खडा गरेका छौं । यसले पनि सीमा नाकाजस्तै राहदानी लिन आउने र वैदेशिक रोजगारीमा जाने महिलाहरूको सूक्ष्म निगरानी राख्न थालेको छ । यसमा पनि हामीले सफलता पाउन थालेका छौं ।
सरकारको ठूलो संयन्त्र र तपाईंहरूको जस्तो गैरसरकारी निकायले चेलीबेटी बेचबिखनका विषयमा यति धेरै काम गर्दा पनि यो कुकृत्य भने रोकिएको छैन, किन होला ?
नेपाली समाज जसरी पनि छिटो पैसा कमाउन चाहन्छ । कसले कसरी पैसा कमाएको छ, त्यो हेर्दैन । जसरी पनि फलानोजस्तो पैसा कमाउनुपर्छ भन्ने सोच देखिन्छ । यसको फाइदा दलालहरूले लिएका हुन् । अर्को कुरा, आफ्नो मात्र भलाइ सोच्ने अरूको वास्ता नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ । आफ्नो घर सफा भयो भने टोल जस्तोसुकै होस्, वास्ता नगर्ने प्रवृत्ति बढेर गएको छ । हरेक सचेत व्यक्तिले आफ्नो गाउँ र टोलको चिन्ता गर्ने हो भने यस्तो समस्या उहिल्यै निमिट्यान्न भैसक्थ्यो । सरकारले पनि वैदेशिक रोजगारीलाई महत्व दिइरहेको छ । यसको अर्थ कुनै न कुनै रूपमा विदेश गएर जसरी पनि पैसा कमाओ भन्ने लाग्छ ।
शिक्षित व्यक्तिहरू पनि सिद्धान्तका ठूला–ठूला कुरा गर्छन् तर आफू परिवर्तन हुन चाहँदैनन् । आफू परिवर्तन नभै अरू कुरा परिवर्तन होस् भन्ने अपेक्षा गर्छन् । यसले पनि समाजलाई बिगारिरहेको छ ।