साप्ताहिक संवाददाता
मलाई दु:ख लाग्छ । आफ्नो देश छाडेर जाने रहर कसैमा हुँदैन, तर हाम्रो देशको वर्तमान अवस्था देखेरै मानिसहरू बाहिर जान तम्सिएका छन् । देशले पनि मानिसहरूको इच्छाअनुरूप तालिमको अवसर जुटाएर आफ्नै देशमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्यो ।
एनी कुँवर, नायिका
अत्यन्तै दु:ख लाग्छ, देशका कर्णधारहरू यसरी आफ्नो मातृभूमि छाडेर विकसित देशलाई अझ बढी विकासतर्फ अघि बढाउन हातेमालो गरेको देख्दा । सम्भवत: त्यो परिश्रम, त्यो देन र रोजगारीको अवसर देशमै सिर्जना गर्न सके आज हाम्रो देश पनि कुनै विकसित देशहरूभन्दा कम हुने थिएन । धिक्कार छ हाम्रो खराब राजनीति, सरकार र देश हाँक्ने जिम्मेवारी बोकेका चालकहरूलाई ।
उदेश श्रेष्ठ, गायक
नेपालीहरूमा राष्ट्रप्रतिको सोचमा नकारात्मकता बढेको छ । मेरो भन्नु यति मात्र छ कि नेपाली युवाहरूमा राष्ट्रियताको भावना प्रबल होस् ताकि उनीहरूले देशलाई अझ बढी माया गरून् र मात्र विदेश जाने विचार मनमा नआओस् ।
प्रभात रिमाल, इभेन्ट व्यवस्थापक
विदेश जानेहरूको लर्को देख्दा लाग्छ— नेपालको विकास ढुंगे युगतर्फ फर्कंदैछ । जसरी परिवर्तनका हरेक कालले नेपाललाई विकासको पथबाट पछाडि धकेलेको छ, त्यसमाथि यसरी युवाहरू विदेश पलायन हुने क्रम जारी रहने हो भने नेपाल अझ पछाडि धकेलिनेछ ।
बसन्त भट्ट, अभिनेता
आफ्नो देशमा अवसर नदेख्नेहरूप्रति दया जागेर आउँछ ।
हेमन्त गौतम, टेलिभिजनकर्मी
एकदम मन दुख्छ । विदेश एउटा बन्दकोठा सरह लाग्छ जहाँ हामी जे काम गर्न पनि लाज मान्दैनौं अनि देशको खुला चौर, जहाँ काम गर्न हामी लाज मान्छौं । अवसर आफैले सिर्जना गर्नुपर्ने हो, अरूको मुख ताकेर बसे कहिल्यै अवसरको ढोका खुल्दैन । म यहाँका हरेक मुहारमा आँट र विश्वासको कमी देख्छु ।
सुरक्षा पन्त, नायिका
विदेश जानेहरूको माया लाग्छ । राजनैतिक पार्टी तथा नेताहरू देख्दा लाज लाग्छ । यसरी युवाहरू विदेश पलायन भैरहेको देख्दा केही गर्न नसकेकोमा आफैंप्रति घृणा जाग्छ ।
राजभाइ सुवाल, फोटोग्राफर
नेपाली युवाहरू यसरी विदेशी भूमिमा आफ्नो श्रम र पसिना बेच्न बाध्य भएको देख्दा दु:ख लाग्छ । धिक्कार भन्न मन लाग्छ ती देश हाँक्नेहरूलाई, जो बिदेसिएका युवाहरूले पठाएको रेमिट्यान्सबाट देश चलाउन खोज्छन् ।
उत्तम थापा युडी, गायक
देशमा रोजगारीको अभावका कारण एउटा भाइ छुट्टिएर गएको परिवार जस्तो भएको छ यो देश । युवा जनशक्ति विदेश पलायन हुँदा देशको विकास निर्माणमा समेत असर पुगेको छ ।
नरेश पाण्डे, चलचित्र निर्माता
जहाँ पसिनाको उचित मूल्य छैन, त्यहाँ को बस्न रुचाउँछ र ? देश चलाउने अधिकार पाएका नेताहरूलाई यो मेरो केवल एक प्रश्न ।
नीराजन प्रधान, मोडल
कैयौं मेहनती हात अनि कैंयन् दक्ष व्यक्तिहरूलाई देशभित्रै अवसर सिर्जना गरेर राख्न नसक्ने नीति निर्माताहरूप्रति रोष बढेर आउँछ । विदेशमा पढेर र सिकेर दक्षता हासिल गरेकाहरूलाई स्वदेश फर्काउन नसकेको देख्दा दु:ख लाग्छ ।
अर्जुन पोखरेल, संगीतकार
स्वदेशीहरूले विदेशको सहारा लिएको देख्दा दु:ख लाग्छ ।
भुवन प्यासी, गायक
विदेश जानु नराम्रो होइन, तर विदेशमा सिकेका कुरा देशमा उपयोग हुने वातावरण नहुँदा दु:ख लाग्छ ।
सुरबिना कार्की, नायिका
अवसरको खोजीमा बिदेसिनु स्वाभाविक हो, यदि देशमा अवसर पाइयो भने कोही विदेश जाँदैनन् ।
सुरेन बसेल, अभिनेता
यो त नेपालको राजनीतिक अस्थिरता अनि भ्रष्टाचारले जनतालाई दिएको उपलब्धि हो, साथसाथै हामी
नेपालीको बाध्यता । त्यस्ता दृष्य देख्दा दु:ख लाग्छ ।
डिजराज पौडेल, गायक
विदेश जानुपर्छ नि, विदेश गएर आएपछि त्यो सिप देश विकासमा प्रयोग हुन्छ । देशको मुहार फेरिन्छ । यद्यपि विदेश गएपछि फर्कन्छन् चाहिँ को ?
पवित्रा आचार्य, नायिका