पूर्वाञ्चलको भेडेटार आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । धरान, भेडेटार, नाम्जे, धनकुटा आदि ठाउँहरू सुन्दर छन् । त्यसमाथि तिनै ठाउँको अवलोकन गर्दै आकाशमा प्याराग्लाइडिङको सहयोगले उड्नुको मज्जा नै बेग्लै छ ।
प्याराग्लाइडिङ सेवा सुरु भएपछि उक्त क्षेत्रमा पर्यटकको भीडसमेत बढेको छ । यो सेवा भित्रिएपछि नेपालका आन्तरिक पर्यटक र भारतको बिहारलगायतबाट आउने पर्यटकहरूका लागि यो क्षेत्र पहिलो रोजाइ बन्न थालेको छ ।
सुनसरीको धरानस्थित ‘धरान स्काई एडभेन्चर’ कम्पनीले प्याराग्लाइडिङ सेवा उपलब्ध गराएको हो । गत असोज २२ गतेदेखि कम्पनीले यो सेवा सुरु गरेको हो । यो कम्पनीले २ जना दक्ष पाइलट भारतबाट झिकाएर मौसमको अवस्था हेरेर दैनिक रूपमा ६ वटासम्म उडान भरिरहेको छ । भेडेटारभन्दा करिब २ सय मिटर तलको डाँडाबाट धरानको विजयपुरसम्म उडान भर्ने गरिएको छ । एउटा प्याराग्लाइडिङमा एकपटकमा पाइलट सहित २ जनाले उडान भर्ने गरेका छन् ।
प्याराग्लाइडिङ ९९ प्रतिशत सुरक्षित रहेको र कम्पनीले उडान भर्ने सबैको जीवनबिमासमेत गर्ने कम्पनीका प्रमुख रोशन अधिकारीले बताएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १ सय जनाभन्दा बढीले यहाँ सफल उडान भरिसकेका छन् ।