साप्ताहिक संवाददाता
इङ्ल्यान्ड
सन् २०१४ को विश्वकपमा खराब प्रदर्शनपछि इङ्ल्यान्ड युवा खेलाडीतर्फ मोडिएको छ । लामो समयदखि इङ्लिस टिम प्रशिक्षक रोय हड्सनको नेतृत्वमा छ र उनको नेतृत्वमा टिमले छनौटमा उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । इङ्ल्यान्ड छनौटको समूह ‘ई’ विजेता थियो, शतप्रतिशत नतिजासँगै । इङ्ल्यान्ड छनौटमा सबै खेल जित्ने एक्लो टिम रह्यो ।
सन् १९६८ को युरोमा तेस्रो स्थान हात पारेयता इङ्ल्यान्डले त्योभन्दा ठूलो सफलता हात पार्न सकेको छैन । पछिल्लो युरोमा टिमले राम्रो खेले पनि क्वाटरफाइनलमा इटालीसँग पेनाल्टीमा पराजित भएको थियो । इङ्ल्यान्डलाई के डर छ भने प्रत्येक प्रतियोगिता अगाडिजस्तै टिम र खेलाडीको चर्चा त व्यापक हुन्छ, तर मैदानमा सफलता भने प्राप्त हुन सक्दैन । युवा इङ्लिस खेलाडीमाथि यही धारणा फेर्नुपर्ने चुनौती हुनेछ ।
रूस
पछिल्लो विश्वकपमा रूसको प्रदर्शन निकै खराब रह्यो । लिग चरणमा टिमले कुनै पनि खेल जित्न सकेन । नतिजा प्रशिक्षक फाबियो कपेलो बर्खास्तीमा परे । त्यसयता भने टिमको प्रदर्शनमा व्यापक सुधार आएको छ । अहिले टिम प्रशिक्षणको जिम्मेवारी लियोनिड स्लट्स्कीको हातमा छ र उनले नयाँ पुस्ताका युवा खेलाडी तयार पारेका छन् । त्यसमा सीएसके मस्कोका खेलाडीको बाहुल्य छ ।
रूसले छनोटको आधा भाग कपेलोको नेतृत्वमा तय गरेको थियो । बाँकी आधा भाग भने स्लट्स्कीको नेतृत्वमा । छनौटमा स्वीडेनलाई निर्णायक सावित खेलमा हराएपछि रूस युरो २०१६ मा स्वत: छनौट भएको थियो । युरोमा रूसको सानदार प्रदर्शनको इतिहास छ । सोभियत संघका रूपमा १९६० को विजेता रूस सन् १९६४, १९७२ र १९८८ को उपविजेता हो । रूस अहिले फेरि त्यस्तै प्रदर्शनका लागि आशावादी छ ।
वेल्स
धेरै लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलको ठूलो प्रतियोगितामा फर्किएको छ— वेल्स । उसले अन्तिम पटक ६८ वर्षअघि विश्वकप खेलेको थियो, तर यसपल्टको प्रतियोगितामा वेल्सको चुनौती कम हुनेछैन, किनभने टिममा छन्, विश्व फुटबलका एक ठूलो स्टार, रियल म्याड्रिडका गेराथ बेल । छनौटमा वेल्सको प्रदर्शन अपेक्षाकृत राम्रो रह्यो ।
वेल्सले छनौट अभियानमा एउटै मात्र खेलमा हार बेहोरेको थियो । प्राविधिक रूपमा वेल्स पहिलोपल्ट युरो खेल्दैछ, किनभने उसले अन्तिम पटक सन् १९७६ मा खेल्दा सेमिफाइनलपछिका खेललाई मात्र युरोमा अन्तिम चरण मानिन्थ्यो । वेल्सको डेब्यु प्रदर्शन धेरै अर्थमा विश्व फुटबलकै सर्वाधिक महँगा खेलाडी बेलको खेलमा भर पर्नेछ र यसले उनीमाथि दबाबसमेत सिर्जना गर्ने निश्चित छ ।
स्लोभाकिया
स्लोभानिया सन् १९९३ मा मात्र स्वतन्त्र देशका रूपमा अस्तित्व आएको हो । त्यसयता उसले ११ वटा ठूला प्रतियोगिताको छनौटमा सहभागिता जनाएको छ । यसपल्टको युरो २०१६ उसको दोस्रो ठूलो प्रतियोगिता हो । यसको अर्थ स्लोभाकिया युरोमा डेब्यु गर्दैछ । यसअघि स्लोभाकियाले सन् २०१० को विश्वकप खेलेको थियो र त्यसमा अन्तिम १६ सम्मको यात्रा तय गरेर सनसनी मच्चाएको थियो ।
यसपल्टको छनौटमा पनि उसले स्पेनलाई हराएर आफ्नो टिम वास्तवमै कति मजबुत छ भनेर देखाएको थियो । स्लोभाकियाका सबैभन्दा ठूला स्टार खेलाडी मारेक हामसिक हुन् र उनी इटालीको नेपोली क्लबबाट खेल्छन् । नेपोलीले हात पारेको पछिल्ला उपलब्धिमा मारेकको ठूलो योगदान छ । स्लोभाकियाको प्रदर्शन धेरै हदसम्म यिनै मारेकको खेलमा निर्भर हुनेछ ।
प्लेयर्स टु वाच
गारेथ बेल, वेल्स
विश्व फुटबलको स्थानान्तरणका सबैभन्दा महँगा खेलाडी हुन्— बेल । स्पेनी महारथी बेलले रियल म्याड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, तर उस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा देखाउन सकेका छैनन् । २६ वर्षीय बेलले युरोको छनोटमा ७ गोल गरेका थिए । वेल्सले सन् १९५८ पछि विश्वकप खेलेको थियो तर उसले युरो कप भने पहिलोपल्ट खेल्न लागेको हो । वेल्सले नकआउट चरणमा छनौट हुने कुरा बेलको प्रदर्शनमा निर्भर हुन सक्छ । राष्ट्रिय टिमका लागि ५४ खेलमा १९ गोल गरेका बेलले यो सिजनमा रियलका लागि १८ गोल गरेका छन् ।
डेल अली, इंग्ल्यान्ड
अघिल्लो सिजनमा इंग्ल्यान्डको दोस्रो डिभिजनको क्लब एमके डोन्समा थिए, अली । त्यसको १२ महिनाभित्र उनी इंग्ल्यान्डकै मुख्य खेलाडी भएका छन् । यी २० वर्षीय मिडफिल्डर युरोमा यसपालि स्टार बन्न सक्ने खेलाडी हुन् । उनी २०१५–१६ मा टोटेनहमबाट खेलिरहेका छन् । यो सिजनको प्रिमियर लिगमा उनले १० गोल गरेर १२ गोलका लागि फाइनल पास दिएका छन् । त्यसैले डेल प्रिमियर लिगमा वर्षको उत्कृष्ट युवा खेलाडी चुनिए । अलिले इंग्ल्यान्डबाट ६ खेल खेल्दै १ गोल गरेका छन् ।