साप्ताहिक संवाददाता
नेपालमा सुरक्षा खतरा बढाउन कसैले ड्रोन प्रयोग गरेको छ भने त्यसमा नियन्त्रण हुनैपर्छ (प्रतिबन्ध फुकुवाको प्रतीक्षामा ड्रोन), तर राम्रो कामका लागि कसैले प्रयोग गर्न खोज्दा भने अनुमति दिनुपर्छ ।
सूर्यमान लिम्बू
यो त खुसीको कुरा हो (टुँडिखेलमा सोनाक्षी र मलाइका) । भूकम्पपीडितहरूलाई धेरैजसोले बिर्सिसकेको अवस्थामा सोनाक्षी र मलाइकाजस्ता विदेशी सेलिब्रिटीहरू नेपाल आएर सहयोग गर्नु उदाहरणीय काम हो ।
निशा देवान
स्वर्गजस्तो आफ्नै देश नेपाल छाडेर मानिसहरू किन ग्रिनकार्डका लागि मरिहत्ते गर्छन् ? (गजुरियल विश्लेषण : ग्रिनकार्ड सम्बन्धी भविष्यवाणी) अचम्म लाग्छ । गर्नेहरूलाई नेपालमै अवसर छ नि ।
शीतल खड्का
रेडलाइट एरियाको अन्तरकथा पढेपछि आङ सिरिङ्ग भयो । बरु सरकारले महिलाहरूका लागि सीपमूलक तालिम र शिक्षामा जोड दिए हुन्थ्यो (रेडलाइट एरियाको अन्तरकथा) । यस क्षेत्रमा काम गर्ने संघ–संस्थाहरूले पनि महिलाहरूका लागि पर्याप्त मात्रामा काम गरेको पाइँदैन ।
रवीन्द्र चौधरी
बधाई छ विपासालाई । (विपासाको विवाह) उनको वैवाहिक जीवन दिगो होस् । पहिलेको जस्तो कमजोर नबनोस् ।
बाबु शिल्पकार
फुर्बा शेर्पा त पर्दापछाडिका हिरो रहेछन् (जीवनशैली : हिमाली कठोरतासँगै जुध्दै फुर्बा) । धेरैलाई सगरमाथा चढाउन उनकै हात रहेछ । उनको संघर्षको कथाले मन छोयो ।
सन्तोष भट्टराई
नेपालमा इन्टरनेटको राम्रो सुविधा छैन । सबैका लागि वाईफाइ सहज पनि छैन (अन्तर्वार्ता : धेरैलाई प्रविधि प्रयोग गर्न आउँदैन) । मोबाइल र ग्याजेट्सको बिक्री बढ्दैमा सूचना तथा सञ्चार प्रविधि उकालो लाग्ने होइन ।
विनोद भुसाल
फेसबुकको दुरुपयोग रोक्न यस्तो प्रकारको सुरक्षा विधि ल्याउनु जरुरी थियो (रोचक जानकारी : फेसबुकको दुरुपयोग रोक्न) । यो विधि धेरैभन्दा धेरैले प्रयोग गरुन् र दुरुपयोग हुनबाट जोगिउन् ।
सम्यक कार्की