साप्ताहिक संवाददाता
जेष्ठ ४, २०७३
नेपाली खेलकुदमा अहिलेसम्म आयोजना भैरहेका प्रतियोगितामध्ये सर्वाधिक पुरानो प्रतियोगिता हो– सहिद स्मारक लिग फुटबल । यसको पहिलो संस्करण २०११ सालमा सञ्चालन भएको थियो र त्यसयता यसका ४१ संस्करण सम्पन्न भैसकेका छन् ।
सहिद स्मारक लिग अन्तिम पटक २०७० सालमा आयोजित गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपल्ट पनि यसको आयोजना गर्ने योजना बनाएको छ । एन्फा अस्तित्वमा आउनु अघि २०३० सालसम्म यसको आयोजक नेपाल फुटबल संघ थियो । महावीरले २०११ सालमा पहिलो संस्करण जितेको थियो । मनाङ मस्र्याङ्दी क्लब यसको डिफेन्डिङ च्याम्पियन हो । मनाङले नै सर्वाधिक सात पल्ट सहिद स्मारक लिग जितेको छ । अहिलेसम्म यो प्रतियोगिता १५ फरक क्लबले जितेका छन् ।