नेपाली फेसन डिजाइनकी स्थापित व्यक्तित्व हुन्– शैलजा अधिकारी । नेपालमा फेसनसम्बन्धी शिक्षा तथा फेसन उद्योगलाई फराकिलो बनाउन शैलजाको ठूलो योगदान छ ।
उनी फेसन डिजाइनका सम्बन्धमा जति पोख्त छिन्, व्यक्तित्व निर्माणमा पनि उत्तिकै सजग छिन् । शैलजा गर्मी मौसममा हाफ पाइन्ट र टिसर्टमा रमाउँछिन् । प्राय: वानपिसमा ठाँटिएर हिँड्न रुचाउने शैलजा आफ्ना लागि आवश्यक पहिरन प्राय: विदेशमै खरिद गर्छिन् । ब्रान्डेड नै खरिद गर्नुपर्छ भन्ने मान्यता नराख्ने शैलजा आफूलाई म्याच हुने र मन परेको पहिरन तत्कालै खरिद गर्छिन् । मेकअपको हकमा म्याक ब्रान्डका उत्पादन प्रयोग गर्ने शैलजा आँखाको मेकअपमा बढी ध्यान दिन्छिन् । आई स्याडो, सन्क्रिम, कम्प्याक्ट, ब्रसर उनी दैनिकजसो प्रयोग गर्छिन । अधिकारीको हेयर स्टाइल परिवर्तन भैरहन्छ ।
व्यस्त दैनिकीका कारण शैलजा सुनका गहनाप्रति खासै चासो राख्दिनन् । औंलामा हीराको औंठी र हातमा चुरा लगाउने शैलजा फेसन ज्वेलरीहरूप्रति भने आशक्त छिन् । राडो घडी लगाउने शैलजासँग स्विस घडीको राम्रै संकलन छ । कुन पहिरनमा कस्तो ब्याग सुहाउँछ भन्ने कुरामा ध्यान दिने शैलजा जुत्ताको हकमा पनि चुजी छिन् । व्यक्तित्वका सम्बन्धमा शैलजाको तर्क छ— हामी जब आफ्नो बाहिरी र भित्री दुवै आवरण सन्तुलित ढंगले व्यवस्थापन गर्न सक्छौं तब मात्र व्यक्तित्वमा निखार आउँछ । सकारात्मक सोच, सहयोग, सद्भाव एवं मेहनतले मानिसको व्यक्तित्व निर्माण हुने शैलजाको विश्वास छ ।