तपाईंले आफ्नो कलाकारिता कसरी प्रारम्भ गर्नुभयो ?
कमल कार्की
यसरी नै भन्ने छैन, रहरैरहरमा सन्तोष पन्त दाइको ‘हिजोआजको कुरा’ मा सानो भूमिका पाएँ । त्यही नै मेरो जीवनको टर्निङ प्वाइन्ट भयो ।
अर्को सिरियल कहिले बनाउनुहुन्छ ?
ओशन दाहाल
खोइ, देशको वातावरण नै ठीक छैन । हेरौं, अब सिरियल हुन्छ कि अन्य कुनै नयाँ कार्यक्रम लिएर आउनेछु ।
तपाईको शैक्षिक योग्यता कति हो ? कुनै क्लासमा फेल हुनुभएको छ कि ?
राजकिशोर शर्मा
होइन हौ, तपाईं त लोकसेवाको मान्छे पो हो कि क्या हो ? मेरो योग्यता भनेको तपार्इँहरूलाई हँसाउनु नै हो । म यो परीक्षामा अहिलेसम्म फेल भएको छैन ।
आफ्नो फेसबुक वालमा नेता तथा राजनीतिक पार्टीहरूलाई गाली गर्नुहुन्छ । किन होला ?
सुरजराना
गाली गरेको होइन, आफूलाई मनमा लागेको कुरा लेखेको, जसका कारणले आज देशको स्थीति यस्तो छ, लाखौं नेपालीले बिदेसिनुपरेको छ । त्यसैले कहिलेकाहीं हल्का झटारो हानेको हो ।
एक दिनका लागि प्रधानमन्त्री बन्न पाउनुभयो भने सबैभन्दा पहिले के काम गर्नुहुन्छ ?
अजय चाम्लिङ
सबैभन्दा पहिले म तपाईंलाई मन्त्री बनाउँछु ।
नेपाल गुन्डाहरूले चलाएका छन् । नेताहरूले कहिले चलाउँछन् ?
एम क्युब लामा
नेतार गुन्डामा खासै फरक छैन । दुवै मिलेर चलाइरहेका छन् ।
केटी कसरी पट्याउने ?
आयुश शाही
यो कुरा केटीसँगै नै सोधेर अघि बढ्दा बेस होला, किनभने आजभोलिका केटी कसरी पट्टिन्छन् भन्ने कुरा पट्टिने केटीलाई मात्र थाहा हुन्छ ।