साप्ताहिक संवाददाता
स्मृति पोखरेल, गायिका/मोडल
गीत : जुन फूल मैले चाहेको...
म प्राय: सेन्टिमेन्टल गीत सुन्न मन पराउँछु । स्वरसम्राट् स्व.नारायणगोपालको यो गीत जति पटक सुने पनि धीत मर्दैन ।
गायक : नारायण गोपाल
नेपाली गायकहरूमध्ये स्व. नारायणगोपालको स्वर मनपर्छ । नेपाली सांगीतिक क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ । उहाँका गीत जति सुन्दै जान्छु, उहाँप्रतिको श्रद्धा अझ बढ्दै जान्छ ।
गायिका : तारादेवी
गायिका स्व.तारा देवीको मौलिक स्वरले जो कसैको मुटु छुन सक्छ । उहाँको स्वरको गहिराईमै एक प्रकारको विशेषता छ ।
अभिनेता :राजेश हमाल
हमाल नेपालका त्यस्ता अभिनेता हुन् जसले नेपाली चलचित्र उद्योगमा एउटा आशा जगाए । चलचित्र क्षेत्रलाई उद्योग बनाउन उनको ठूलो योगदान छ । अभिनयमा समेत उनी अब्बल छन् ।
अभिनेत्री : करिश्मा मानन्धर
नेपालकै सबैभन्दा सुन्दर अभिनेत्री हुन्– करिश्मा मानन्धर । उनको नृत्य तथा अभिनय क्षमता उत्कृष्ट छ । उनले अभिनय गरेका चलचित्रमध्ये ‘साथी’ मलाई सबैभन्दा मन पर्ने चलचित्र हो ।
मन्दिर : पशुपतिनाथ
पशुपतिनाथको मन्दिर ऐतिहासिक तथा पवित्र लाग्छ । आफ्नै महत्व तथा विशेषता बोकेको यो मन्दिरमा पाइने कलाले हरकसैको मन लोभ्याउँछ ।
स्थान : पोखरा
मेरा लागि नेपालको सबैभन्दा सुन्दर ठाउँ नै पोखरा हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा तालका कारण पनि आकर्षक छ । खोजेजस्तै शान्त वातावरण पाइने यो सहर वरिपरीको दृश्यले सबैको मोहित हुन्छ ।
सवारीसाधन : कार
मलाई जिप स्टाइलको कार मनपर्छ । काठमाडौं सहरभित्र मात्र होइन लङ ड्राइभका लागि समेत त्यस्तो कार उपयुक्त हुन्छ ।
पहिरन : जिन्स
मलाई आफूलाई सहज हुने पहिरन मनपर्छ । म प्राय: जिन्समा सहज महसुस गर्छु । त्यसैले म हरेक मौसम तथा समयमा जिन्समै हुन्छु ।
खाना : नेपाली खाना
धेरै मसाला हालेको खाना खान सक्दिन, साधारण नेपाली खाना नै मनपर्छ ।
रंग : गाढा नीलो
मलाई गाढा नीलोरंग मनपर्छ । मलाई योरंगका हरेक पहिरन सुहाउँछन् पनि ।
पुस्तक : सिरानीमा जून
यो विजयराज ज्ञवालीद्वारा लिखित कविता संग्रह हो । यो संग्रहका कवितामा प्रयोग गरिएका शब्द मन छुने प्रकृतिका छन् ।