किशोर नेपाल नामले मात्र होइन, कामले पनि किशोर नै मानिन्छन् । ६ दशक उमेर पार गरिसकेका किशोरको ‘कान्तिपुर गाथा’ विगत २२ वर्षदेखि निरन्तर पढिएको लोकप्रिय स्तम्भ हो । विभिन्न समयमा भिन्न–भिन्न सञ्चारमाध्यममा प्रकाशित यो स्तम्भमा उनी युवा रुचिहरू समेट्छन् । अखवारी लेखन र साहित्य दुवैमा एकसाथ कलम चलाउने नेपाललाई पटक–पटक राजनीतिक धार परिवर्तन गरेको आरोप लाग्ने गरेको छ, तर उनी भन्छन्— पत्रकारको काम राजनीतिको धारमा बग्ने होइन, धारलाई पछ्याउने हो । म कुनै धारमा छैन । मलाई लोकतन्त्र र स्वतन्त्रता प्यारो छ । उनको अगुवाइमा प्रारम्भ भएको ‘साप्ताहिक’ यसै सातादेखि २२ औं वर्षमा टेकेको छ । यसपटक किशोर नेपालसँग युवा पाठकहरूको चाहना र रुचिका विषयमा गरिएको कुराकानी :
तपाईंको सोचबाट प्रारम्भ भएको साप्ताहिकले २२ औं वर्ष टेकेको छ । कस्तो लाग्छ ?
डे वानदेखि यो लोकप्रिय थियो र आजसम्म उत्तिकै लोकप्रिय छ । संस्थापक सम्पादक भएका नाताले मलाई खुसी लागेन भने त्यो अस्वाभाविक हुन्छ ।
साप्ताहिक प्रारम्भ गर्दा यति लोकप्रिय होला भन्ने कल्पना गर्नुभएको थियो ?
२०४६ सालको परिवर्तनले पूरा समाज परिवर्तन गरेको थियो । पहिलेदेखि नै लाहुर जाने चलन छ हाम्रो समाजमा । अरू देश निन्द्रामै छँदा हामीले बेलायत र हङकङलाई नजिकबाट देखिसकेका थियौं । संसारको विकासक्रम र स्वतन्त्रताको स्वाद पाउनुमा हाम्रो लाहुर जाने चलन मुख्य हो । त्यसमाथि टेलिभिजनको विकासले समाजलाई घचघच्याइरहेको थियो । २०४६ सालको परिवर्तनपछि युवाहरू आफ्ना कुरा नयाँ तरिकाले भन्न र प्रयोग गर्न आतुर थिए । पत्रकारितामार्फत युवाहरूको सोचलाई पछ्याउन सकिन्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त थिएँ । कान्तिपुर पब्लिकेसन्सले त्यो मौका दियो र सफल पनि भयो ।
यो पत्रिकाको खाका दिमागमा कुन बेला आएको थियो ?
मेरो दिमागमा क्षण–क्षणमा विभिन्न सोच आइरहन्छ । पत्रकारितामा मैले अनेकन प्रयोग गरेको छु । अहिले पनि दर्जनौं आइडियाले दिमागमा कुतकुती लगाउँछन् । ठ्याक्कै कुन समयमा यसको खाका आयो भन्न सक्दिनँ । जुनबेला कान्तिपुरले रंगीन छाप्ने प्रेस नेपाल भित्र्यायो, त्यसपछि यो पत्रिका छापिएको हो ।
हिजोका युवा आज पाका भैसके । नयाँ युवाहरू जन्मिरहेका छन् । उनीहरू के चाहन्छन् भन्ने कुरा अध्ययन गर्नुभएको छ ?
मेरो शरीर केही बूढो देखिन्छ होला, तर युवा विषयबाट म कहिल्यै पर रहिनँ । ‘कान्तिपुर गाथा’ हिजो साप्ताहिकमा लेख्थेँ, अहिले अनलाइनहरूमा लेख्छु । यो लेख्नुको कारण नै युवाहरूको सोच र चाहनाबाट म पर नहूँ भन्ने हो । म गाउँ–गाउँका युवाहरूको चाहना बुझिरहेको हुन्छु । सहरका क्याफे र बारहरूमा एकसाथ कफी र ह्विस्कीको चुस्की लिइरहेका युवाहरूको भावना बुझिरहेको हुन्छु । पत्रकार भएका नाताले म कहिल्यै समाज परिवर्तनको सूचनाबाट टाढा छैन ।
आजका युवाहरू सबैभन्दा बढी के चाहन्छन् ?
स्वतन्त्रता । उनीहरूलाई व्यक्तिगत स्वतन्त्रता प्यारो छ । उनीहरू अभिभावकहरूले आफ्नो जीवनमा अनावश्यक हस्तक्षेप गरेको मन पराउँदैनन् । उनीहरू हिजोको जस्तो कर्तव्यको बोझले दबेका छैनन्, न त अरूको सहयोग लिएर बाँच्ने चाहना नै राख्छन् । बरु कतार जान्छन्, पसिना चुहाउँछन् तर अर्काको अधीनमा रहन चाहँदैनन् । सहरमा भन्दा गाउँका युवाहरूमा स्वतन्त्रता उपभोग गर्ने चाहना बढी छ ।
उनीहरूको समाज कस्तो छ ? कसरी हेर्नुभएको छ त्यसलाई ?
आजका युवा समाजबाट टाढा छैनन् । हिजोको समाजको ढंगबाट आफूलाई मुक्त राखेका छन् उनीहरूले । त्यसभित्र उनीहरूको आफ्नो चिन्तन चल्छ ।
कसरी आफू बन्ने, कसरी कमाउने र कसरी समाजलाई योगदान दिने भन्ने सोच्छन् उनीहरू । प्रचुर आत्मविश्वास छ । सानो भए पनि कफी सप खोल्छन् । कल सेन्टर चलाउँछन् । उनीहरू मार्क जुकरबर्ग वा स्टिभ जब्स जस्तो कलेज ड्रप आउट भएर पनि पैसा कमाउन सकिन्छ भन्ने विश्वास राख्छन् । समाजको ढंग र ढाँचाबाट मुक्त हुन चाहन्छन् । यसको अर्थ अभिभावकलाई मान्दैनन् भन्ने होइन । अभिभावकलाई मान्ने वा निर्वाह गर्ने कर्तव्यको ढाँचा परम्परागत छैन । यसको नियम उनीहरू आफैंले बनाएका छन् ।
अहिलेका टिनएज तथा तपाईंको समयका टिन एजको व्यवहार र शैलीका बीचमा के फरक पाउनुहुन्छ ?
‘टिन’ समूहका अहिलेका युवाहरूको व्यवहार हामीले सोचे–चाहेभन्दा निकै फरक छ । हिजो हामीलाई परिवारले यसो गर, उसो गर भनेर निर्देश गथ्र्याे । यो खाने–त्यो नखाने, यो गर्ने–त्यो नगर्ने, यो बोल्ने–यो नबोल्ने निर्देशनको लिस्ट लामै हुन्थ्यो । अलिकति बार नाघ्दा घरमा थाहा पाउने हुन् कि कसैले झोसपोल पो गर्ने हो कि भन्ने डर हुन्थ्यो । यस्ता डरहरूका बीच पनि हामीले नियम तोडेर आफ्नो थिति बसायौं । त्यतिबेला नियम तोड्नु बहादुरीको विषय हुन्थ्यो । हामी भोटो–सुरुवालबाट बेलिबटम पाइन्टसम्म आयौं । हामीले जिन्स पाइन्ट लगाउनु ठूलो कुरा हुन्थ्यो । पैसाका कारणले पनि र पारिवारिक बन्धनका कारणले पनि । हिजो पनि हामीलाई प्रेम गर्न मन लाग्थ्यो । स्कुल–कलेजका सहपाठी युवती मन पर्थे, तर उनीहरू मन परेको जानकारी दिन महिनौं लाग्थ्यो । उनीहरूको घर थाहा पाउन पिछा गर्नुपथ्र्यो । प्रेमपत्र पनि केटाकेटीहरूलाई फकाएर उनीहरूको हातमा पठाउनुपथ्र्यो । प्रेमपत्र लेख्नु ठूलै बहादुरी मानिन्थ्यो । प्रेम भए पनि एक्ला–एक्लै भेटघाट गर्न सम्भव थिएन । बोली सुन्न महिनौं कुर्नुपथ्र्याे । सेक्स त धेरै टाढाको कुरा थियो ।
अहिले कसैको पनि नाम, फोन, फेसबुक आइडी, परिवार, जीवनशैली, उसका राम्रा–नराम्रा पक्ष सबै एकै क्लिकमा थाहा हुन्छ । ऊ कसैसँग रिलेसनसिपमा छ कि छैन तुरुन्तै थाहा हुन्छ । थाहा नभए उसैसँग सोध्न सकिन्छ । आइ लभ यू भन्न साइत हेरिरहनु पर्दैन । मन पर्ने ठाउँमा बोलाऊ, एक कप कफी र एउटा चुरोट अर्डर गर । मनका कुरा राखिदेऊ । ओके भयो भने तुरुन्तै मुख जोर र जीवनको आनन्द लेऊ । ओके भएन, अर्को साथी खोज— नो टेन्सन । सुन्दा पत्यार नलाग्न सक्छ, तर यो कफी सपहरूमा, पार्कहरूमा सजिलै देखिने कुरा हो । फेसबुक स्टाटस तथा विद्यार्थीहरूबीचका कुराकानीबाट पनि यो कुरा थाहा हुन्छ । आज लभ र सेक्सका लागि बिरामी भैरहनु पर्दैन । हाम्रो समयमा अधिकांश युवाको महिना र वर्ष यही दुई कुरामा बित्थे । त्यही भएर हाम्रो पुस्ता स्लो थियो, अहिलेको पुस्ता फास्ट छ ।
गाउँको अवस्था पनि यस्तै छ ?
मैले गाउँकै कुरा गरेको हो । परिवर्तनको मामिलामा काठमाडौंभन्दा धनगढी र बेलबारी जस्ता ठाउँ अगाडि छन् । जुन दृश्य काठमाडौंको दरबारमार्गमा देखिन्छ, ती दृश्य नेपालजन्ज वा धरानमा पनि सजिलै देख्न पाइन्छ । देशका सहर–बजारमा सेल्फी खिच्नेदेखि चुम्बन खाने दृश्य फैलिएको छ । सहरमा जस्तो सुविधा नहोला, साना चियापसल वा साँघुरो ओत भएका अप्ठ्यारा ठाउँहरूमा पनि यस्ता दृश्य सजिलै देखिन्छन् ।
नेपाली समाज गरिब भए पनि यति स्वतन्त्र हुनुपछाडि के रहस्य होला ?
सबैभन्दा पहिले त नेपाली समाज गरिब छ भन्ने कुरा मान्न म तयार छैन । गाउँ–गाउँबाट वैदेशिक रोजगारीमा गएका लाखौं मानिसका कारण गाउँ सम्पन्न भएको छ । उनीहरूले पैसा खेलाउन पाएका छन् । पैसासँगै उनीहरूसँग विदेशका मानिसहरूले प्रयोग गरेका सुविधा छ । त्यो सुविधाले स्वतन्त्रताको ज्ञान दिएको छ । मानिसका हात–हातमा मोबाइल छन् । प्रेम कसरी गर्ने, यौनको सदुपयोग कसरी गर्नेदेखि कुन मोडलबाट के कुरा सिक्ने, लाउने र खाने जानकारी एउटा क्लिकको भरमा थाहा हुन्छ ।
केही मानिस नेपाली समाज अन्धाधुन्ध रूपमा पश्चिमी संस्कारमा डुबेको आरोप लगाउँछन् ।
म सहमत छैन । सुरुमा वाहिरको कुरा ह्वात्तै आउँछ तर विस्तारै केही कुरा छाँटिन्छन् पनि । यो कल्चर भन्ने कुरा ट्रान्सफर भैरहने कुरा हो । यो यताबाट उता कुद्छ, उताबाट यता आउँछ । पश्चिमी समाजमा हिन्दु धर्म दर्शनका कुरा जोडतोडका साथ प्रचार र प्रयोग गर्न थालिएको छ । यता जस्तो स्पिड छ त्यसरी हाम्रो कुरा उता गएको छैन होला, तर यताको आकर्षण उतातिर पनि छ । त्यस्तै उताका कुरा यता आकर्षणको विषय बनेको छ । कुनैदिन फेरि आफै त्यसमा परिवर्तन आउँछ ।
अहिलेको पुस्ता इन्टरनेटमा रमाइरहेको छ । साप्ताहिकजस्तो टेबलोइड पत्रिकाको भविष्य कस्तो देख्नुहुन्छ ?
प्रिन्ट र इन्टरनेट सँगसँगै जान्छ । कुनै विषय पत्रिकामा पढ्नुमा जुन मज्जा छ, त्यो इन्टरनेटमा पाइँदैन । आफूलाई मन पर्ने मोडललाई ब्लोअपमा देख्न पाउनुको स्वाद, त्यसलाई ओढेर सुत्नुको मज्जा भित्तामा टाँसेर हेरिरहनुको आनन्द इन्टरनेटले दिँदैन । इन्टरनेट इन्फर्मेसन हो, प्रिन्ट इमोसन हो । इन्टरनेटका समाचार वा रमाइला कुराहरू छोटो समयका लागि हुन्छन् । पढ्नु र अध्ययन गर्नुको आनन्द कागजले बढी दिन्छ ।
तर संसारभरि धमाधम पत्रिकाहरू बन्द भैरहेका समाचार आइरहेका छन्, किन ?
अनलाइन समाचारले पेपरलाई असर पारेको छैन भन्दिनँ म । मैले अनलाइन र पत्रिका सँगसँगै जान्छन् मात्र भनेको हो । नेपालमा ‘साप्ताहिक’ जस्ता पत्रिकाको छपाइ घट्न सक्छ, तर बन्दै हुन्छ भन्ने म मान्दिनँ । हाम्रो गाउँघरमा इन्टरनेटको पहुँच फेसबुकसम्म सीमित छ । सबै कुरा किन्न सक्ने डेबिड कार्ड, क्रेडिट कार्डजस्ता सपिङ शैली विकसित नभै अनलाइनले अरू कुरालाई विस्थापित गर्न सक्दैन । विश्वकै उदाहरण दिने हो भने पनि कागजमा छापिएका पुस्तकको माग बढिरहेको छ । किन्डलमा पढ्नु भन्दा कागजमै पढ्दा रमाइलो हुन्छ भन्ने मान्यता फर्कन थालेको छ । यसबाट पनि म प्रिन्ट मिडिया यति चाँडै हराउँछ भन्ने कुरामा विश्वास गर्दिनँ ।
कागजमा खेल्ने बानीका कारण विमति राख्नुभएको हो कि ?
जे कुरामा पनि जबरजस्ती गर्ने ? के केपी ओलीले चीनबाट रेल ल्याउँछु भन्ने बित्तिकै आजको भोलि नै काठमाडौंमा रेल आउँछ ? समयको एउटा कालखण्डमा रेल आउँछ । त्यसलाई कसैले इन्कार गर्न सक्दैन । मलाई केरुङबाट काठमाडौं आउँदा रेल चढ्न मन लागेन रे । मलाई साइकिलिङ, मोटरिङ वा बाइकिङ गरेर काठमाडौं आउन मन लाग्यो भने ‘तंैले रेल नै चढ्नुपर्छ’ भनेर जबरजस्ती गर्न सकिन्छ ? अरे भाइ, व्यक्तिगत च्वाइस सबैभन्दा ठूलो कुरा हो । मान्छेलाई तैंले सबैकुरा नेटमै पढ्नुपर्छ भनेर जबरजस्ती गर्न सकिँदैन, उसलाई पेपरमा पढ्ने सुविधा पनि दिनुपर्छ । त्यो उसको अधिकार हो । त्यसको सम्मान गर्नुपर्छ ।