साप्ताहिक संवाददाता
नजिकबाट प्रियंका चोपडा कस्ती छिन् ?’, ‘रणवीर कपुरसँग तपाईंको अन्तरंग कुराकानी हुन्थ्यो ?’ यस्ता अनगिन्ती प्रश्नको थाक्ने गरी जवाफ फर्काउनुपथ्र्यो, भोलाराज सापकोटाले । यो कुरा त्यतिबेलाको हो, जतिबेला उनी अनुराग वासु निर्देशित हिन्दी चलचित्र ‘बर्फी’मा अभिनय गरेर चर्चामा थिए । यही प्रसंग जोड्दै साप्ताहिकर्मीले भोलासँग सोधेको थियो– ‘बर्फी कति पटक हेर्नुभयो ?’ अलि अल्छी मानेझैं गरेर उनले भने– ‘नढाँटी भनौं ? जम्मा दुई पटक मात्र ।’ वास्तवमा उनलाई स्क्रिनमा आफ्नो अभिनय हेर्न लाज लाग्दो रहेछ । यद्यपि भोलाराजको दुनियाँ भनेकै अभिनयकर्म हो । त्यसैले त झ्याप्प दाह्री पालेका, औसतभन्दा केही होचो कदका भोलाराजलाई कहिले लाजिम्पाटको थिएटर भिलेजमा त, कहिले अनामनगरको मण्डला नाटकघरमा भेटिन्छ । किनभने, उनको दैनिकी रंगमञ्चमै वित्छ ।
नाटकको तयारी, रिहर्सल, भेटघाट आदिले दिनभर व्यस्त बनाउँछ । रात छिप्पिन नपाउँदै उनी घर पुग्छन् । घर पुगेपछि अक्सर भान्सामा प्रवेश गर्छन् । किनभने उनलाई खाना बनाउन खुब जाँगर चल्छ । सागसब्जी किन्ने, पकाउने सबै काम आफैं गर्छन् । ‘हातमा डाडु–पन्यु भएपछि आफ्नै मर्जीअनुसार खाना बनाउन पाइन्छ नि,’ भोलाराज ठट्यौली शैलीमा भन्छन् ।
खानाका सौखिन पनि हुन्, उनी । मन्द आगोमा राम्रोसँग पकाइएको कालोदाल, थोरै तरकारी, सिलाम र गोलभेंडाको तिख्खर अचार उनी आफैं तयार गर्छन् । ‘कालो दालमा थोरै पिँडालु मिसाउनुपर्छ,’ भोलाराज भन्छन्– ‘त्यसको स्वाद दोब्बर बढ्छ ।’ खानामा उनी अकबरे खुर्सानी छुटाउँदैनन् ।
अहिले उनको जिब्रो सुँगुरको मासुमा पनि लोभिएको छ । यदाकदा मदिरासँग खानचाहिँ चिकेन फ्राई स्वादिलो लाग्छ । ‘रक्सी पिउनुपरे एक पाउ चिकेन बोकेर घर जान्छु,’ भोलाराज भन्छन् । मुड चलेका बेला उनी भोड्का पिउँछन् तर नियन्त्रित मात्रामा । ‘पहिले त मज्जाले पिइन्थ्यो,’ सापकोटा भन्छन्– ‘अहिले एक–दुई प्याकमा झारेको छु ।’ दूधजन्य परिकारमा उनको स्वाद भिजेको छैन । दही, दूध, घिउ पटक्कै मन पर्दैन । आमाको निधनपछि दूधको चियासमेत पिउन छाडेका छन् । उनलाई फलफूलमा पनि कुनै रुचि छैन ।
रातको खाना खाइसकेपछि केही क्षण सामाजिक सञ्जालमा भुलिन्छन् । भर्चुअल साथीहरूसँग यसैमा भलाकुसारी हुन्छ । यही समय पुस्तक पनि पढ्छन् । बुद्धिसागरको कृति उनलाई बढी रुचिकर लाग्छ । टेलिभिजनमा खासै ध्यान जाँदैन । मनोरञ्जन गर्न मन लागेका बेला चलचित्र हेर्छन्, खासगरी आर्ट मुभी ।
घडीको काँटाले ११ बजेको जनाउ दिएपछि उनी ओछ्यानमा पस्छन् । घतलाग्दो बानीचाहिँ के छ भने ओछ्यानमा पल्टनासाथ भुसुक्कै निदाउँछन् । उनको निन्द्रा यति गहिरो हुन्छ कि कसैले बोकेर बाहिर लगेको समेत पत्तो पाउँदैनन् । ‘मैले स्लिपिङ ट्याप्लेट खानै पर्दैन,’ भोलाराज भन्छन्– ‘म निदाएपछि चोरले आफूलाई चोरेर लगेको पनि थाहा पाउँदिनँ ।’
बिहान ६ बजेपछि उनका आँखा उघ्रन्छन् । बिहानको नित्यकर्म सिध्याएर घरबाहिर निस्कन्छन् । आफू बसेको धापासी टोललाई एक चक्कर लगाएपछि घर पुग्छन् । यतिबेला उनको हातमा दैनिक अखबार पनि हुन्छ । बिहान चियाको चुस्कीसँगै सरसर्ती खबरहरूमा आँखा दौडाउँछन् । त्यसपछिको समय दाल–भात पकाउनमै खर्चन्छन् । यसरी डाडु–पन्यु चलाइरहेका बेला उनलाई गीत गुनगुनाउन मन लाग्छ । ‘ठीकठीकै गाइन्छ,’ भोलाराज भन्छन्–‘मेरो आवाज सुन्दा नाक खुम्च्याइहाल्नुपर्ने अवस्था आउँदैन ।’ त्यसो त उनी गीत, गजलसमेत लेख्छन् ।
बिहानको १०–११ बजेको समयमा खाना तयार हुन्छ । परिवारलाई आफ्नै हातले पकाएको खाना ख्वाइसकेपछि भोला साइन बाइकमा हुइँकिँदै कार्यथलोतर्फ लम्कन्छन् ।
घरबाहिर निस्कन उनले खासै तयारी गर्नु पर्दैन । एकसरो लुगा फेरे पुग्छ । पाक्कलामा निपुण भए पनि ड्रेसअपमा उनी कमजोर छन् । किनभने भोलालाई आफ्नो पहिरनप्रति अलिकति पनि चासो छैन । उनको पहिरन शैली देखेर साथीभाइले समेत सुझाव दिने गरेका छन् । त्यसो त उनी अनुहारमा क्रिम दल्ने, केसमा जेल लगाउने काम पनि गर्दैनन् । भोलाराज ठट्यौली गर्छन्– ‘गधालाई धोएर गाई हुँदैन ।’
उनलाई एकसरो लुगा लगाउन पाए पुग्छ । अक्सर फर्मल वेयर लगाउन अल्छी लाग्छ, त्यसैले जिन्स–टिर्सटमै ठाँटिन्छन् । उनलाई लुगा किन्न जाँगर नचल्ने होइन । यद्यपि उनको छनौट त्यति चित्तबुझ्दो हुँदैन ।
औंलामा औंठी तथा नाडीमा घडी बाँध्ने सौख पनि छैन । ‘चस्मा लगाउन त लाज लाग्छ,’ भोलाराज भन्छन् । उनी ग्याजेट्सका सौखिन पनि होइनन् । यद्यपि पाएसम्म राम्रै बोक्न चाहन्छन् । यतिबेला उनीसँग सामसुङको मोबाइलबाहेक अरू कुनै ग्याजेट्स छैन ।