खेलाडीहरूको सहरका रूपमा परिचित नेपालगन्जमा राष्ट्रिय स्तरका खेल स्पर्धा भने कमै हुने गरेका छन् तर बितेका ६ महिनामा भएका तीन ठूला प्रतियोगिताले पुरानो सहर नेपालगन्जलाई खेल गतिविधिको पुरानै लयमा फर्काउने आशा जगाएको छ ।
झन्डै ४२ डिग्री सेल्सियस तापक्रम भए पनि बाँके जिल्ला फुटबल संघले वैशाखको तेस्रो साता नेपालगन्ज गोल्डकप सम्पन्न गर्यो । चैत ३० देखि वैशाख ४ गतेसम्म प्रधानमन्त्री कप इन्डो नेपाल भलिबल प्रतियोगिताको तेस्रो संस्करण पूरा नहँुदै फुटबल प्रतियोगिता आयोजित गरिएको थियो । त्यसअघि विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै मंसिर ५ गते नेपालगन्ज पिस म्याराथन सञ्चालन गरियो । ‘वर्षौंदेखिको तयारी भए पनि ६ महिनाकै अवधिमा तीन ठूला स्पर्धा हुनुलाई उपलब्धि मानेका छौं,’ मध्यपश्चिम क्षेत्रीय खेलकुद् विकास समितिका अध्यक्ष भीम ओलीले भने– यी प्रतियोगिताको निरन्तताले खेलकुद् विकासमा सघाउ पुर्याउनेछ ।
पश्चिम तराईको पुरानो सहर नेपालगन्ज त्यसै पनि खेलकुदको उर्वर भूमि मानिन्छ । बाँकेमा राष्ट्रिय स्तरका सयौं खेलाडी जन्मिएका छन् तर ठूला प्रतियोगिताको अभावले सहरको खेल पहिचान बन्न नसकेको महसुस गरेर क्षेत्रीय खेलकुद समितिले स्तरीय स्पर्धालाई प्रोत्साहित गर्न समन्वयकारी भूमिका निर्वाह गरेको अध्यक्ष ओलीले बताए ।
यसपटक बाँके जिल्ला फुटबल संघले झन्डै ३५ वर्षपछि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । नेपालगन्ज गोल्डकपमा ए डिभिजन खेलेका तीन क्लब र एक भारतीय टिमसहित ८ टिम सहभागी थिए । आयोजक संघका अध्यक्ष भोजराज शाहीले प्रथम गोल्डकप सफल भएकोमा खुसी व्यक्त गर्दै आउँदो वर्ष गर्मी नलाग्दै प्रतियोगिता सञ्चालन गर्ने बताएका छन् । ‘तयारी त फागुनकै लागि गरिएको हो । प्रायोजक फेला पार्न, व्यवस्थापन मिलाउन तथा क्लबहरू पक्का गर्न समय लागेर मध्य गर्मीमा परियो,’ शाही भन्छन्– यो सिजनमै प्रतियोगिता सञ्चालन गर्ने अठोटले वैशाखमै भए पनि प्रतियोगिता सञ्चालन गरेका हौं ।
नेपालमा शान्ति प्रक्रियाको थालनी गर्ने बृहत् शान्ति सम्झौताको स्मरणमा मंसिर ५ गते नेपालगन्ज पिस म्याराथन सम्पन्न गरिएको थियो । जहॉ परम्परागत विजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तथा सशस्त्र प्रहरीको एपीएफका खेलाडीको वर्चस्व रह्यो ।
नेपालगन्ज रंगशालाबाट प्रारम्भ भएको म्याराथन कोहलपुर चौराहादेखि ८ सय मिटर उत्तर पुगेर फेरि त्यही रुट भै फर्किएको थियो । ‘पश्चिममा पहिलोपल्ट म्याराथनमा उत्साह देखिएको छ । आउँदो वर्ष रेकर्ड तोड्न सक्ने खेलाडी आउनेछन्’ वरिष्ठ एथलेटिक्स प्रशिक्षक विक्रम थापाले भने– विभागीय क्लबका खेलाडी मात्र होइन, दुर्गमबाट समेत खेलाडी आउनु खुसीको कुरा हो ।
पहिलोपल्ट आयोजित म्याराथनमा धावकहरू मत्र होइन, सर्वसाधारण पनि उत्साहित थिए । हौसला बढाउन नेपालगन्ज–कोहलपुर सडक खण्डमा ठाउँ–ठाउँमा स्कुले विद्यार्थी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । कोहलपुरमा धावकहरूको स्वागत बाजागाजासहित गरिएको थियो ।
यो वर्ष नेपालगन्जमा प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबलको तेस्रो संस्करण पनि सम्पन्न भयो । अघिल्ला वर्षभन्दा राम्रा टिम सहभागी भएकाले स्पर्धा रोमान्चक एवं स्तरीय भएको थियो । यसपटकको उपाधि भारतको रेल्वे टिम कोलकाताले जित्यो । यो प्रतियोगिताका क्रममा नेपालगन्ज रंगशालाको कबर्ड हल भरिभराउ हुन्थ्यो । प्रतियोगितामा अघिल्लो वर्षको विजेता एपीएफ क्लब उपविजेता भयो भने भारतको उत्तरप्रदेश टिम तेस्रो भयो ।
रेल्वे टिमकी प्रशिक्षक दिप्ती घोषले नेपलागन्जमा भलिबलप्रति देखिएको क्रेजले आफू दंग परेको बताइन् । ‘खेल हार जित मात्र होइन । दर्शक पनि चाहिन्छ । त्यो नेपालगन्जमा देखे’ उनले भनेकी थिइन् । आयोजक भलिबल संघले मोफसलमा उत्कृष्ट खेल प्रदर्शनको सपना पूरा भएको कुरा बताउँदै आउँदो वर्ष अझ स्तरीय बनाउने जनाएको छ ।