रमेशले श्यामलाई च्याटमा बोलायो ।
‘हेलो श्याम, के छ हालखबर ?’
श्यामले म्यासेज देख्यो । रिप्लाई गर्न खोज्दै थियो तर प्राविधिक गडबडीले उसको नेटमा समस्या आयो । घण्टौंसम्म उसले रमेशलाई जवाफ फर्काउन सकेन ।
यता रमेशले मनमनै धारणा विकसित गरिहाल्यो, ‘श्याम ठूलो भएछ । म्यासेज सिन गरेर पनि जवाफ फर्काएन । ठीक छ । म पनि के कम?’
०००
कवीन्द्र र विकास कुनै बेलाका मिल्ने साथी । उनीहरूबीच फाटो आउला भनेर समेत कसैले सोच्नसम्म सक्दैनथे, तर मान्छेको इगो न हो ! एक दिन उनीहरूबीच फाटो आएरै छाड्यो । दुई–चार दिन त यिनीहरूलाई इगोले नै पाल्यो, पोस्यो । कुनै कार्यक्रममा कवीन्द्र जाँदैछ भन्ने थाहा पायो भने त्यो कार्यक्रममा विकास जाँदैनथ्यो । विकास हिँडेको गल्लीमा कवीन्द्रले नाकमुखै देखाउन छाड्यो । विकासले कवीन्द्रको नराम्रो सम्बन्ध कोसँग छ ? उसैसँग सम्बन्ध स्थापित गर्न थाल्यो ।
कवीन्द्रले पनि विकासका दुस्मनहरूसँग मिलेर उसको खोइरो खन्न थाल्यो ।
जसै दिनहरू बित्दै जान थाले, उनीहरूबीच त्यो इगो पनि कम हुँँदै गयो । रिस भन्ने कुराले पनि मान्छेलाई एउटा समयसम्म मात्र हो साथ दिने । संसारमा कुनै पनि कुरा सधैँ टिक्न सक्दैन । यस अर्थमा उनीहरूबीचको मनमुटावको अन्त्य भयो ।
आजभोलि कवीन्द्रका गल्लीहरूमा विकास हिँड्न थालेको छ । विकासका साथीहरू कवीन्द्रका साथी छन् । कहीँ सभा–समारोहमा यी दुई हुन्छन् । खाली एक–अर्कासँग बोल्दैनन् मात्र ।
यद्यपि दुवैको मनमा छ कि बोल्न पाए हुने थियो । सम्बन्ध पहिलेकै अवस्थामा फर्काउन पाए हुने थियो भन्ने लालच दुवैमा छ, तर अर्कोले सुरु गर्दिए हुन्थ्यो भन्ने आशामा उनीहरू नबोली बस्छन् ।
एउटा राम्रोसँग फुल्ने, फक्रने सम्भावना भएको सम्बन्ध यसै ओइलाएर गैरहेको छ ।
०००
हरिहरलाई पैसाको अति नै खाँचो पर्यो । उनले मुरारीलाई फोन गरे । मुरारी एउटा जरुरी मिटिङमा मोबाइल साइलेन्ट मोडमा राखेर बसेका थिए । हरिहरको फोन मुरारीले रिसिभ गर्न सकेनन् । हरिहरलाई सार्है खाँचो परेकाले दुई–तीन–चार पल्टसम्म फोन गरिरहे । त्यत्रोविधि फोन गर्दा पनि फोन नउठेकाले उनले मनमनै धारणा विकसित गरिहाले, ‘मुरारी ठूलो मान्छे भयो । घमन्डी भयो ।’
हरिहरले अन्तबाट पैसाको व्यवस्था गरे । जसै मुरारीले हरिहरको फोन देखेर कलब्याक गरे, हरिहरले रिसका कारण उनको फोन उठाएनन् । यसरी दुई जनाबीचको सम्बन्धमा फाटो आयो ।
०००
यी यस्तै स–साना उल्झनहरूमा हाम्रा सम्बन्धहरू अल्झिएका छन् । वर्षौं लगाएर हुर्काएको एउटा सम्बन्ध सानो असमझदारीको झोँकाले गल्र्याम्म ढल्छ । मित्रता बढाउनु, सम्बन्ध प्रगाढ बनाउनु भनेको आयुर्वेदिक औषधीजस्तै हो, जसका लागि धेरै समय लाग्छ, तर इगो भन्ने चीज विषजस्तै हो, जुन केही सेकेन्ड वा मिनेटमै हाम्रो सोचाइभरि फैलन्छ र हामी आफैँलाई हानि गर्छ ।
हामी आफ्नो अनुकूलतासँग अरूको अनुकूलता मिलाउन खोज्छौँ, त्यो मरिगए मिल्दैन । हरेक मानिसको परिवेश फरक–फरक हुन्छ । तपाईं मलामी गैरहेका बेला यो जरुरी छैन, तपाईंको साथी पनि मलामी गैरहेको होस् । ऊ सिनेमा हेरिरहेको हुन सक्छ । तपाईंको र उसको मुड फरक हुन सक्छ । घडी बाँधे पनि नबाँधे पनि समय भने सबैको फरक–फरक हुन्छ ।
म पनि के कम भन्ने धारणाका कारण मान्छेले बाटो बिराउँछ । मित्रताको हात पहिले कसले बढाउने भन्दाभन्दै समय सकिएको हामीलाई नै थाहा हुँदैन ।
मानिसले आफैँलाई इगोको एउटा उचाइमा पुर्याउँछ र त्यही उचाइले उसलाई तल ल्याएर पछार्छ । सम्बन्धहरूको उचाइ हुँदैन । सम्बन्धहरूको त केवल फैलावट हुन्छ । को कतिमाथि अथवा कति तल, सम्बन्धमा यो हेर्ने होइन । सम्बन्धमा त को कति फैलिएको छ, त्यो हेर्ने हो ।