अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुद्धीकरण अभियानसँगै दुई वर्षयता चर्किएको विवाद समाधानतर्फ अघि बढेको छ । तत्कालीन एन्फा अध्यक्ष गणेश थापामाथि आर्थिक अनियमितता र एकलौटी ढंगले संस्था चलाएको आरोप लागेको थियो । भ्रष्टाचारको अभियोगमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले थापामाथि प्रतिबन्ध लगाइसकेको छ ।
त्यतिबेला थापाले आफूविरुद्ध लागेका चार पदाधकारीलाई कार्यसमितिबाटै निलम्बन गरेका थिए । उनको उक्त निर्णय सही नभएको भन्दै ती चारै जना पदाधिकारीलाई पुनर्वहाली गर्न फिफाले निर्देशन दियो । उनीहरूलाई पुनर्वहाली गर्नकै लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले १९ जेठमा एन्फा कार्यसमिति बैठक बोलाएका छन् । यसमा विद्रोही पक्ष पनि सकारात्मक छन् र दुवै पक्ष एक भएर अघि बढ्न तयार भएका छन् । यसले एन्फा विवाद समाधानतर्फ अघि बढेको देखिन्छ ।
‘फिफाको निर्देशन नमान्ने भन्ने कुरा आउँदैन,’ एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले साप्ताहिकसँग भने, ‘त्यो काम व्यक्तिले गर्ने होइन, कार्यसमिति बैठकले गर्ने हो । कार्यसमिति बैठक १९ जेठमा बोलाएको छु । त्यही बैठकले पहिलेको निर्णयमा सुधार गर्दै उनीहरूलाई पुनर्वहाली गर्नेछ ।’
एन्फाका उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर एवं सदस्य पंकजविक्रम नेम्बाङले तत्कालीन अध्यक्ष गणेश थापाले अनियमितता गरेको तथा एकलौटी रुपमा एन्फा चलाएको भन्दै २६ जेठ, २०७१ मा संसदको सार्वजनिक लेखा समिति, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी गरेका थिए । त्यसमा अर्का उपाध्यक्ष किशोर राईले पनि साथ दिएका थिए । उनीहरूलाई ११ असोज, २०७२ मा भएको थापा अध्यक्ष भएको कार्यसमिति बैठकले लगातार तीन बैठकमा अनुपस्थित भएको कारण देखाउँदै साधारणसभासम्मका लागि निलम्बन गरेको थियो ।
यद्यपि बैठकको एजेन्डा नदिइएकाले अनुपस्थित भएको दाबी ती चारै जनाले गर्दै आएका थिए । फिफाले पनि २७ वैशाखमा एन्फाका महासचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा ‘बिना कारण अनुपस्थित नभएकाले निलम्बनको प्रक्रिया पूरा नभएको’ उल्लेख छ । त्यही पत्रमार्फत फिफाले एन्फालाई ‘निलम्बित’ चारै जना पदाधिकारीलाई १० जेठभित्र पुनर्वहाली गरेर गणेश थापा कारबाहीमा परेपछि रिक्त रहेको अध्यक्ष पदको निर्वाचन गर्न विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो । एन्फाको विधानअनुसार १४ दिनअघि सूचना दिएर कार्यसमिति बैठक बोलाउनुपर्छ । त्यसैले फिफा र एएफसी (एसियाली फुटबल महासंघ) सँग थप दुई साता समय मागेर एन्फाले १९ जेठमा कार्यसमिति बैठक बोलाएको हो ।
फिफाले एन्फाले आफ्नो निर्देशन नमाने नर्मलाइजेसन कमिटि (तदर्थ कमिटी) बनाउन सक्ने चेतावनी पनि दिएको थियो । दुवै पक्ष सकारात्मक भएकाले मिल्नेमा ढुक्क भएको कार्यवाहक अध्यक्ष श्रेष्ठले साप्ताहिकलाई बताए । निलम्बन गरिएको बैठकले नै उनलाई निधन भएका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्थानमा तथा गणेश थापाका साला मणि कुँवर, वीरबहादुर खड्का, सन्तोष बानियाँलाई उपाध्यक्ष र अरुणमान जोशीलाई सदस्यमा मनोनयन गरेको थियो । तीन उपाध्यक्ष र सदस्यको पद खाली गरेर पुनर्वहाली गरिने कुरा उल्लेख गर्दै श्रेष्ठले भने, ‘त्यसपछिको बैठकले साधारणसभासम्बन्धी निर्णय गर्नेछ ।’
एन्फाका निलम्बित उपाध्यक्ष शेर्पाले भने नेपाली फुटबलको विकासका लागि एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ‘अब विगतका कुरालाई इतिहास मानेर नयाँ बाटो कोर्नुपर्छ । पदभन्दा पनि नेपाली फुटबललाई अघि बढाउने अभियान चलाउनुपर्छ । त्यसैले अब पक्ष–विपक्ष नभनी एक भएर अघि बढ्नुको विकल्प छैन,’ शेर्पाले साप्ताहिकसँग भने, ‘सामूहिक नेतृत्व, पारदर्शिता, विकेन्द्रीकरण, ग्रासरुटका कार्यक्रम विस्तार एवं क्लबहरूलाई व्यवसायिक तथा बलियो बनाउने काम गर्नुपर्छ, जसले नेपाली फुटबलको विकास हुन्छ । क्लबहरूबीचको एकतालाई अझ बलियो बनाउनुपर्छ, जसले नेपाली फुटबलमा देखिएका विकृति–विसंगति रोक्न सकिन्छ ।’
कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित एन्फाका हाल सक्रिय पदाधिकारीहरू गणेश थापानिकट मानिन्छन् । उनीहरूमाथि अहिले पनि थापाकै निर्देशनअनुसार चलिरहेको आरोप छ । यो गुटसँग शुद्धीकरण अभियानमा लागेको समूहको सम्बन्ध राम्रो छैन । मिलेपछि कसरी काम हुन्छ त ? प्रतिउत्तरमा शेर्पाले भने, ‘व्यक्तिगत स्वार्थ नमिल्न सक्छ तर फुटबल विकासका लागि सबै मिल्नैपर्छ ।