साप्ताहिक संवाददाता
वैशाख ३१ गते शुक्रबार राति करिब साढे नौ बजे पूर्वअभिनेत्री तथा वर्तमान सञ्चारकर्मी कृति भट्टराईले फेसबुकमा एउटा स्ट्याटस सेयर गरिन् । नीलो रंगको मुटुको आकृतिसहित उनले सेयर गरेको स्ट्याटसमा लेखिएको छ, ‘इन अ रिलेसनसिप’ अर्थात् कृतिले आफू कसैसँगको सम्बन्धमा रहेको घोषणा गरिन् ।
यो सामग्री तयार पारुन्जेलसम्म कृतिको उक्त स्ट्याटसमा १ सय ३१ वटा बधाई आएका छन् भने ३ सय ४३ भन्दा बढी लाइक । बधाईका प्रतिक्रियासँगै धेरैले उनको प्रेमीको नाम जान्न चाहेका छन् तर कृतिले त्यसको जवाफ दिएकी छैनन् । आफू प्रेममा रहेको घोषणा गरेको दुई दिनपछि गत जेठ २ गते कृतिले अर्को एउटा प्रेमिल स्ट्याटस सेयर गरिन् ।
हिन्दी भाषामा कृतिले लेखिन्— ‘खुदको तुमसे जोडलिया, बाँकी प्यारपे छोडदिया...।’ बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भनेझैं यो स्ट्यासपछि कृति शतप्रतिशत प्रेममा छिन् भन्ने पुष्टि भएको छ तर कोसँग र कहिलेदेखि उनी प्रेममा छिन् भन्ने कुरालाई चाहिँ उनले गोप्य नै राखेकी छिन् ।