साप्ताहिक संवाददाता
अन्तत: चार बर्षपछि निर्देशक निश्चल बस्नेत उनको पहिलो सुपरहिट चलचित्र ‘लुट’को सिक्वेल बनाउन जुर्मुराए ।
नेपाली चलचित्रको निर्माणमा आधुनिकता भित्राएको चलचित्र ‘लुट’को सिक्वेल ‘लुट टु’ मा अघिल्लो ‘लुट’कै कलाकार तथा निर्माताहरु छन् र अधिकांश प्राविधिकहरु पनि दोहोरिएका छन् । चलचित्रको स्क्रिप्टको पहिलो ड्राफ्ट आउँदा खेरी निर्माणपक्षले मंगलबार दिउँसो चलचित्र ‘लुट टु’को टिजर सार्वजनिक गरेर ‘लुट’को सिक्वेल बनाइन लागिएको जानकारी दिइयो ।
चलचित्रको छायांकन नहुँदै टिजर सार्वजनिक गरिएको नेपालमा संभवत: यो पहिलो हो । ‘लुट’कै निर्माताहरु माधव वाग्ले र नरेन्द्र महर्जन यो अन्तराल भएको वैमनस्यता बिर्सेर ‘लुट टु’को निर्माणकार्यमा जुटेका छन् । कथा, पटकथा, संबादका साथै निर्देशनको बागडोर सम्हालेका निश्चल बस्नेतले घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा ‘लुट’ जहाँ सकिएको थियो, ‘लुट टु’ त्यहीँबाट शुरु हुने बताए । चलचित्रमा सौगात मल्ल हाकुकालेकै भूमिकामा देखिदैंछन् भने दयाहाङ राई गोफ्ले नै बनेका छन् । यसबाहेक अघिल्लो लुटका कलाकारहरु कर्म, ऋचा शर्मा, प्रविण खतिवडा, सुशिलराज पाण्डेहरु पनि यसमा छन् । कथाको परिवेश चाँही भुकम्प र नाकाबन्दीपछिको काठमाडौं रहने निश्चलले बताए । कालिप्रसाद बासकोटाको संगीत रहने ‘लुट टु’को छायांकन पुरुषोत्तम प्रधान र सम्पादन सुरेन्द्र पौडेलले गर्ने भएका छन् । चलचित्रको निर्माण कार्य सकेर यही बर्षको फागुन १३ गतेका दिन प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षले बुनेको छ ।
लुट टुको टिजर